Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी क्यान्बेरा
२०७६ चैत २५ मंगलबार ०७:०७:००
Read Time : > 2 मिनेट
खेलकुद

रोकियो आधा दर्जन अस्ट्रेलियन क्रिकेटरको विवाह !

काेराेना प्रभाव

Read Time : > 2 मिनेट
एजेन्सी क्यान्बेरा
२०७६ चैत २५ मंगलबार ०७:०७:००

अप्रिल महिना अस्ट्रेलियन क्रिकेटरका लागि बिहेको ‘सिजन’ हो । घरेलु प्रतियोगिता र राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय भ्रमण पनि टुंगिने भएका कारण प्रायः अस्ट्रेलियन क्रिकेटरले अप्रिलमै आफ्नो बिहेको मिति तय गर्ने गर्छन् । यो वर्ष भने कोरोना भाइरस संक्रमण त्रासका कारण आधा दर्जन बढी अस्ट्रेलियन क्रिकेटरको आफ्नो विवाहको कार्यक्रम अर्काे मितिलाई सार्नुपरेको छ । यो अप्रिलमा राष्ट्रिय टोली र अन्य विभिन्न स्तरमा क्रिकेट संघसँगको सम्झौतामा रहेका आठ अस्ट्रेलियन क्रिकेटरले बिहेको मिति तय गरेका थिए ।
 
राष्ट्रिय टोलीका नियमित सदस्य एडम जम्पा र महिला राष्ट्रिय टोलीका बलर जेस जोनासेनले यही अप्रिलमा आफ्नो बिहेको मिति तय गरेका थिए । अन्य खेलाडीहरू ज्याक्सन बर्ड, मिचेल स्वेपसन, एन्ड्रयू ताई, डी आरे सर्ट, केटलिन फ्रेट र एलिस्टर म्याक्डर्माेट पनि यही अप्रिलमा वैवाहिक जीवनमा बाँधिदै थिए । यद्यपि, कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण उनीहरूको जीवनको दोस्रो इनिङ्सको सुरुवातमा ढिलाइ हुने भएको हो ।

भाइरस फैलिएसँगै आफ्ना नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले अस्ट्रेलियाली सरकारले धेरै कुरामा सतर्कता अपनाइरहेको छ । त्यसमध्ये विवाहलगायत धेरै मानिस जमघट हुने कार्यक्रममा बढी निग्रानी गर्ने गरेको छ । सरकारले आफ्ना नागरिक कसैलाई विवाह गर्नबाट त रोक लगाएको छैन । तर, बिहेमा सहभागी हुनेको संख्यामा भने सीमितता गरिदिएको छ ।

बिहे गर्दा पाँचजना भन्दा बढी उपस्थित हुन नपाउने अस्ट्रेलियन सरकारले निर्णय गरेको छ । त्यसमा बेहुला र बेहुली, बिहे गराउने पास्टर र उनीहरूको साक्षीका रूपमा दुईजना मात्रै सहभागी हुन पाउने सरकारको निर्णय छ । 

सरकारको यही निर्णयका कारण खेलाडीहरूले आफ्नो बिहेको कार्यक्रमलाई पछि सारेका छन् । उनीहरूसँगै यसअघि नै ‘इंगेजमेन्ट’ गरिसकेका केही क्रिकेटरका लागि पनि यो अप्रिलमा बिहे सम्भव नहुने भएको छ । अस्ट्रेलियन टोलीका अलराउन्डर ग्लेन म्याक्सवेल र प्याट क्युमिन्सले हालै आफ्ना प्रेमिकासँग इंगेजमेन्ट गरेका थिए ।

उनीहरूकै बिहेमा पनि कोरोना भाइरस बाधक बनेको छ । ‘अब बिहे योजनाका लागि फेरि समय कुर्नुपर्ने भएको छ । यसपछि निरन्तर प्रतियोगिता हुनेछन्, त्यसैले ती प्रतियोगिताअनुसार मिल्ने समय हेर्नुपरेको छ,’ क्युमिन्स भन्छन्, ‘एक अर्थमा हामी भाग्यमानी पनि रहेछौँ कि कम्तीमा हामीले इंगेजमेन्टसम्म भए पनि गर्न पायौँ । यो संकट चाँडै हटेर जाने विश्वास मैले गरेको छु ।’ क्युमिन्स र जम्पा अस्ट्रेलियन टोलीबाट सँगै क्रिकेट खेल्छन् । क्युमिन्सले आफ्ना सहकर्मी जम्पालगायत अन्य खेलाडीको पनि बिहे रोकिँदा आफूलाई दुःख लागेको बताए । ‘जम्पाका लागि पनि यो कठिन समय हो । 

उनको पनि बिहे रोकिएको छ,’ क्युमिन्स भन्छन्, ‘उनका लागि पनि यो कठिन समयको चाँडै अन्य हुनेछ भन्ने विश्वास लिएको छु ।’ उनले कोरोना भाइरसका कारण इटाली र स्पेनले बेहोरिरहेको अवस्थाले थप केही समय धेरैका लागि कठिन हुने संकेत गरेको बताए । ‘इटाली र स्पेनले अहिले भयावह स्थितिको सामना गरिरहेका छन् । 

अमेरिका र बेलायतको अवस्था पनि त्यसतर्फ अग्रसर देखिन्छ । ती क्षेत्रमा भाइरसको संक्रमण नाटकीय रूपमा बढिरहेको छ,’ क्युमिन्स भन्छन्, ‘बेलायतमा पनि आफन्तहरूसँग नियमित रूपमा कुरा गरिरहेको छु । उनीहरूलाई घरभित्रै बस्न अनुरोध गरिरहेको छु । अवस्था थप चिन्ताजनक बन्दै गइरहेको छ ।’

क्युमिन्सले बेलायतमा आफ्नी प्रेमीका र उनको परिवारसँग कुरा गरेको जनाएका हुन् । क्युमिन्सले बेलायती बेक्की बोस्टोनसँग विवाह गर्न लागेका हुन् । उनले अब बिहेका लागि आगामी तीन महिनापछि बेलायत जाने योजना बनाएको सुनाएका छन् । उनी भन्छन्, ‘समय अझै बाँकी छ । आशा गरौँ, त्यस वेलासम्म सबै ठीक हुनेछ ।’ उनले कोरोना भाइरस महामारीले निम्त्याएको यो संकटबाट सुरक्षित रहन सबैलाई घरभित्रै बस्न अनुरोधसमेत गरेका छन् ।