मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी सिड्नी
२०७६ चैत २५ मंगलबार ०६:५८:००
Read Time : > 1 मिनेट
खेलकुद

अस्ट्रेलिया र न्युजिल्यान्डबीचको खेलका 'एक्ला दर्शक'

Read Time : > 1 मिनेट
एजेन्सी सिड्नी
२०७६ चैत २५ मंगलबार ०६:५८:००

गत १३ मार्चमा घरेलु टोली अस्ट्रेलियाले सिड्नी क्रिकेट मैदानमा न्युजिल्यान्डसँग एकदिवसीय खेल खेल्यो । कोरोना भाइरस संक्रमण त्रासबीच सुरु भएको तीन खेलको शृंखलाको त्यो पहिलो खेल थियो । त्यस वेला कोरोना भाइरस चीनबाट युरोप र अन्य क्षेत्रमा फैलँदै थियो । भाइरस संक्रमणबाट आफ्ना नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले विभिन्न देशले लकडाउनको घोषणा गर्दै थिए ।
 
न्युजिल्यान्डले समेत आफ्नो देश प्रवेश गर्न चाहनेका लागि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी नियम घोषणा गरेपछि न्युजिल्यान्ड टोली बाँकी दुई खेल नखेली घर फर्कियो ।

न्युजिल्यान्डको टोली फर्कनुअघि भएको पहिलो खेलमा अस्ट्रेलिया ७१ रनले विजयी भएको थियो जुन खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको थियो । खेलाडी, प्रशिक्षक, खेल सञ्चालन गर्ने प्राविधिक, क्रिकेट संघका पदाधिकारी, मैदानमा काम गर्ने क्युरेटरलगायत कर्मचारी र सीमित सुरक्षाकर्मीबाहेक मैदानमा कसैलाई प्रवेश दिइएको थिएन । खेल सञ्चालन गर्न नभई नहुने व्यक्तिबाहेक अरूलाई प्रवेश निषेध गरिएको त्यो खेलका एक मात्र दर्शक रहे, याब्बा । खाली स्टेडियममा याब्बा एक्लैले खेल हेरे ।

याब्बा अस्टे«लियन क्रिकेटका एक मिथक पात्रजस्तै हुन् । उनको खास नाम स्टेफेन हारोल्ड गास्कोइग्ने हो । उनको स्वर एकदमै पृथक् थियो । उनी सिड्नीका डाँडा–डाँडाबाट कराएर आफूसँग भएको खरायो बेच्थे । फुर्सदमा क्रिकेट हेर्न सिड्नी क्रिकेट मैदान पुग्थे । मैदानमा उनी आफ्नो टोली अस्ट्रेलियाको समर्थनमा निकै हुटिङ गर्थे । 

त्यसैले क्रिकेटप्रेमीले उनलाई याब्बा उपनाम दिएका हुन् । उनको त्यही समर्थन र आफ्नो टोलीप्रति देखाएको मायाको सम्मानस्वरूप सिड्नी क्रिकेट मैदानमा सन् २००८ मा उनको सालिक स्थापना गरिएको थियो । कोरोना भाइरस संक्रमण त्रासका कारण मैदानमा कुनै पनि दर्शकलाई मैदानमा प्रवेश निषेध गर्दा याब्बाले भने एक्लै मैदानमा रहेर क्रिकेट खेल हेरे ।