Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २४ सोमबार २०:१२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कांग्रेसले ल्यायो कोरोना परीक्षण गर्ने एप

Read Time : > 1 मिनेट
२०७६ चैत २४ सोमबार २०:१२:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाको ‘स्व–परीक्षण वेब एप’ सार्वजनिक गरेको छ । विशेषज्ञ चिकित्सकहरूको परामर्शमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले सोमबार वेब एप जारी गरेको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए । 

वेब एपका दुई विशेषता रहेको शर्माको भनाइ छ । घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण जो–कसैले गर्न सक्ने छन् ।   कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने  र नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने शर्मा बताउँछन् । यसका लागि ‘डब्ल्युडब्ल्युडब्ल्युडट नेपालीकांग्रेस डट ओआरजी स्ल्यास कोभिड– १९’ लगइन गर्नुपर्नेछ । यो लगइन गरेपछि आउने कमाण्डमा आफ्नो परिचय, कुनै रोगको लक्षण देखिएको वा नदेखिएको, उमेर, ट्राफल हिस्ट्री, संक्रमितसँगको सामिप्यतासहितका विवरण भर्दै गएपछि यसै आधारमा कोरोनाको जोखिम छ वा छैन भन्ने नतिजा एपले दिनेछ । 

नागरिक पंक्तिमा कोरोना जोखिमबारेको सचेतना थप अभिवृद्धि गराउन,     भौतिक रूपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रूपले ठूलो पंक्तिलाई स्वपरीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउन र  संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुऱ्याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउन उद्देश्यले यस्तो एप सार्वजनिक गरेको शर्माले बताए ।
 
नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष डा. अञ्जनी झा,  सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डे र नेपाल मेडिकल एसोसिएसनका उपाध्यक्ष डा. अनिलविक्रम कार्की तथा  फोक्सो रोग विशेषज्ञ डा अशेष ढुंगानाको चिकित्सकीय परामर्श रहेको शर्माले बताए । विश्व स्वास्थ्य संगठन र सिडिसीको मापदण्डअनुसार एपको तयार गरिएको कांग्रेसले जनाएको छ ।

एपमा कोरोनाको विश्वव्यापी प्रकोपको अपडेट, नेपालको अवस्था, सतर्कताका लागि सामाजिक दूरी, सरसफाइसहितका सुझाब पनि समावेश छन् । रोग लागेका जानकारी प्राप्त गर्ने र उनीहरूको पहिचान गरी अस्पतालसम्म पुग्न सहज होस् भनेर यस्तो अभ्यास गर्न खोजेको शर्माले नयाँ पत्रिकासँग बताए । यसलाई अझै परिमार्जन गरी जिपिएसमार्फत लिंक गरेर बिरामी पत्ता लगाउन सकिने गरी काम गर्न सकिने उनी बताउँछन् ।