१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तिवारी यादव वीरगन्ज
२०७६ चैत २४ सोमबार २०:०७:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनका कारण बजारसम्म तरकारी पुर्‍याउन नपाउँदा किसान मारमा

Read Time : < 1 मिनेट
२०७६ चैत २४ सोमबार २०:०७:००

सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलन नदिन गरेको लकडाउनका कारण पर्साका तरकारी किसान समस्यामा परेका छन् ।

जिल्लाको विभिन्न स्थानमा सयौँ बिघामा लगाइएको तरकारी लकडाउनका कारण बजारमा पुर्‍याउन नसक्दा किसान समस्यामा परेका हुन् । परबल, बोडी, हरियो खुर्सानी, लौका, घिरौँला, भिन्डी, काँक्रो र काउली बेच्नका लागि तयार भए पनि लकडाउनका कारण बिक्री गर्न नपाउँदा बारीमै खेर जाने अवस्था आएको जगरनाथपुरका किसुन राउत गदीले बताए ।

पर्सामा सबैभन्दा बढी तरकारी खेती बहुदरमाई नगरपालिका र जगरनाथपुर गाउँपालिकामा हुने गरेको छ । सरकारले लकडाउनलाई थप कडा बनाउँदै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्न पनि रोक लगाएपछि झनै समस्यामा परेको अर्का किसान रामबाबु साहले बताए ।

वीरगन्जस्थित जिल्लाकै सबैभन्दा ठूलो तरकारी बजार १८ चैतदेखि आंक्षिक बन्द छ । लकडाउनका सुरुवाती दिनहरूमा वीरगन्जको तरकारी बजार खोलिए पनि पछि स्थानीय प्रशासनले बन्द गराउन निर्देशन दिएको थियो । अहिले बिहान पाँचदेखि नौ बजेसम्म तरकारी बेच्न खुला गरिए पनि बजारसम्म तरकारी पुर्‍याउन नै समस्या भएको किसानले बताएका छन् । बहुदरमाई नगरपालिका पटनीका शिवनाथ साह वर्णवालले ऋण लिएर तरकारी खेती गरिएको भन्दै तरकारी बिक्री गर्न नपाउँदा थप समस्यामा परेको बताए ।

उपभोक्ता चर्को मूल्यमा तरकारी किन्न बाध्य
लकडाउनका कारण बजारमा सहज रूपमा हरियो तरकारी उपलब्ध भएको छैन । जसका कारण उपभोक्ताहरू चर्को मूल्यमा हरियो तरकारी किन्न बाध्य छन् ।

स्थानीय तहहरूले अत्यावश्यक खाद्यान्न तथा तरकारी सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउने भने पनि व्यवस्थित हुन सकेको छैन ।