मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत २४ सोमबार १९:४९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

धनगढीमा कोरोना परीक्षण सुस्त, चार दिनमा १८ जनाको मात्रै परीक्षण

Read Time : > 1 मिनेट
२०७६ चैत २४ सोमबार १९:४९:००

कोरोना परीक्षणका लागि धनगढीमा स्थापना गरिएको प्रयोगशालाबाट साढे चार दिनको अवधिमा १८ वटा नमुना मात्रै परीक्षण गरिएको छ । कोरोनाको नमुना परीक्षणलाई बढाउ स्थापना गरिएको प्रयोगशालामा जाँच सुस्त भएपछि संकलित नमुनाहरू अहिले पनि काठमाडौं पठाइन्छन् । 

सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा गत बिहीबार बेलुकीबाट नमुना जाँच सुरु गरिएको थियो । सोमबार बेलुकीसम्म १८ जनाको नमुना जाँच गरिएको सेती प्रादेशिक अस्पतालका ल्याब प्रमुख रमेश शाहीले जानकारी दिए । सोमबार ६ वटा नमुना जाँच गरिएको छ । एउटा नमुनाको रिपोर्ट आउन एक घन्टा १० मिनेट लाग्ने गरेको शाहीले बताए ।

नमुना परीक्षण लागि चारजनाको टोली परिचालन गरिएको छ । प्रयोगशालामा जडान गरिएको उपकरणमा एकपटकमा एउटा मात्रै नमुना परीक्षण हुने गरेको छ । प्रयोगशालाको क्षमता न्यून भएपछि संकलित नमुनाहरू काठमाडौं पठाउने गरेको प्रदेशको सामाजिक विकास मन्त्रालयको कोरोना फोकल पर्सन नरेन्द्र कार्कीले बताए । एक दिनमा धेरै नमुनाहरू परीक्षण गर्ने उपकरण ल्याउनका लागि पहल भइरहेको उनले बताए ।

सोमबार मात्र ५६ वटा नमुना परीक्षणका लागि काठमाडौं पठाइएको मन्त्रालयले जनाएको छ । यीमध्ये १७ वटा कञ्चनपुर र बाँकी कैलालीमा शंकास्पद बिरामीबाट संकलन गरिएको हो । हालसम्म सुदूरपश्चिमबाट दुई सय २३ वटा नमुना संकलन गरी परीक्षणका लागि पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख अस्मिता सापकोटाले जानकारी दिइन् । यीमध्ये चारजना संक्रमित देखिएका छन् भने एक सय ६७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

९२ वटा नमुनामध्ये ८८ वटाको रिपोर्ट नेगेटिभ 
नेपाली सेनाको स्काई ट्रकबाट चार दिनअघि काठमाडौं पठाइएका ९२ वटा नमुनामध्ये ८८ वटाको रिपोर्ट नेगेटिभ आएको छ । चारजनाको भने रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । देशभर देखिएका नौजना कोरोना संक्रमितमध्ये चारजना सुदूरपश्चिममा छन् । 

भारतबाट आउनेको संख्या धेरै रहेकाले सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । तर, शंकास्पद नमुनाको परीक्षण भने निकै सुस्त रहेको छ । सुदूरपश्चिम उच्च जोखिममा रहेकाले एकपटकमा धेरै नमुना परीक्षण गर्ने उपकरण ल्याउनुपर्ने माग स्थानीयले गरेका छन् ।

यस्तै कैलाली, कञ्चनपुरमा कोरोना भाइरसको द्रुत परीक्षणका लागि संघीय सरकारले खटाएको टोली धनगढी आइपुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यहीँका स्वास्थ्यकर्मीसमेत परिचालन गरेर टोलीले मंगलबारबाट काम थाल्ने बताइएको छ । 

५६ बालबालिका र एक सय ६३ महिलासहित प्रदेशभर अहिले दुई हजार ३६१ जनालाई विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।