मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २४ सोमबार १९:४३:००
Read Time : < 1 मिनेट
समाचार

बागमती प्रदेशमा चार सय २२ जनाको स्वाब संकलन

Read Time : < 1 मिनेट
२०७६ चैत २४ सोमबार १९:४३:००

बागमती प्रदेशमा हालसम्म कोरोना परीक्षणका लागि चार सय २२ जनाको स्वाब संकलन गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइसियू, आइसाेलेसन र क्वारेन्टाइनमा राखिएका शंकास्पद बिरामीको स्वाब संकलन गरिएको हो । संकलन गरिएको चार सय २२ जनाको स्वाबमध्ये हालसम्म दुई सय १४ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएका सबैको नतिजा नेगेटिभ रहेको मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए । प्रदेशभर उपचारका क्रममा रहेकामध्ये सोमबारसम्म १९ जनालाई घर फर्काइएको छ । 

रिपोर्ट आउन बाँकी दुई सय १४ जना रहेको र परीक्षणलाई तीव्रता दिइएको प्रवक्ता सुवेदीले बताए । प्रदेशको ४ स्थानबाट परीक्षण भइरहेको छ । सुरुवातदेखि काठमाडौं, चार दिन अघिबाट हेटौँडा, सोमबारबाट चितवनमा र आइतबारबाट धुलिखेलमा स्वाब परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा एक सय ३४, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा १५, धुलिखेल अस्पताल काभ्रेमा ११ र भरतपुर अस्पताल चितवनमा १० जनाको स्वाब परीक्षणका लागि पठाइएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म बागमती प्रदेशभर अइसियूमा ११, आइसाेलेसनमा तीन सय ३५ र क्वारेन्टाइनमा सात सय १४ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको छ । मन्त्रालयमातहतको निकायले हालसम्म प्रदेशभर तीन हजार दुई सय २६ तयारी र नाै सय ३७ बेडको क्वारेन्टाइन तयार गर्ने क्रममा छ ।

त्यसैगरी सात सय ६७ तयारी र तीन सय बेडको आइसाेलेसन बेड तयार गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । चार सय ४६ तयारी र ५७ बेडको आइसियू तयार गर्ने क्रममा छ । हाल प्रदेशमा आठ हजार एक सय ९८ जना स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको मन्त्रालयको दाबी छ ।