मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ चैत २४ सोमबार १७:५२:००
Read Time : < 1 मिनेट
समाचार

कोरोनाविरुद्धको अभियानमा खटिने कर्मचारीको १० लाखको बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ चैत २४ सोमबार १७:५२:००

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोनाविरुद्ध खटिने कर्मचारीको १० लाख रूपैयाँको बिमा गर्ने भएको छ । नगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना संक्रमणविरुद्धको व्यवस्थापनमा खट्ने पदाधिकारीको बिमा गरिदिने निर्णय गरेको हो । 

नगर कार्यपालिकाले कोरोना संक्रमण भएमा निःशुल्क उपचारको व्यवस्था गर्ने र कुनै कर्मचारीले ज्यान गुमाउनुपरेमा आश्रित परिवारलाई १० लाख रुपैयाँ नगरपालिकाले राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले संक्रमण रोकथाम तथा उपचार कोषको स्थापना गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गर्ने निर्णय गरेको हो । नगरपालिकाले प्रकोप व्यवस्थापन कोषको खातामा दुई करोड जम्मा गरेको छ । नगरस्तरीय ठूला चारवटा आयोजनाबाट प्रतियोजना ५० लाख रकमान्तर गरेर कोष स्थापना गरेको छ ।

त्यस्तै, राहत खाद्यान्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ (वा अधिकृत विक्रेता) र अन्य पसलहरूमा समेत गरी ९३ लाख २५ हजार खर्च भइसकेको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

नगरपालिकाले नगर क्षेत्रभित्र अत्यावश्यक खाद्य वस्तुबाहेक तरकारी र दूधजन्य पदार्थहरू अन्य पालिकाबाट आयातमा रोक लगाएको छ । वडा कार्यालयले व्यवस्थापन गर्ने गरी क्रमशः वडाहरू र टोलहरू लकडाउन गर्न सकिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।