Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फोटो क्याप्सन : राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’
२०७६ चैत २४ सोमबार १६:३१:००
Read Time : > 1 मिनेट
समाचार

तत्कालका लागि रोकियो राजा वीरेन्द्रको निजी निवास खुला गर्ने योजना

Read Time : > 1 मिनेट
२०७६ चैत २४ सोमबार १६:३१:००

दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ सर्वसाधारणलाई अवलोकनका लागि खुला गर्ने योजना कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै नेपालले पनि लकडाउन गरेपछि तत्कालका लागि स्थगित भएको छ । 

यसअघि ‘श्री सदन’ नयाँ वर्षको अवसर पारेर १ वैशाख ०७७ मा खुला गर्ने योजना नारायणहिटी दरबार संग्रहालयले बनाएको थियो । यसका लागि आवश्यक निर्माण कार्य तीव्र रूपमा भइरहेको पनि थियो ।  

कोरोना भाइरसको प्रभाव 
तर, कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण श्रीसदन सार्वजनिक गर्ने योजना अनिश्चित समयका लागि स्थगित गरिएको दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । 

‘लकडाउनपछि कामदारहरू केही घर गएका छन्, निर्माणको काम पनि सकिएको छैन,’ दाहालले नयाँ पत्रिकासँग भने, ‘स्थिति  सहज भएपछि फेरि आवश्यक निर्माणका कार्यहरू सुरु हुनेछन् । त्यसपछि श्रीसदन अवलोकनका लागि कहिले खुला गर्ने भन्ने मिति तय गर्नेछौँ ।’  

मूल भागको रूपमा रहेको नारायणहिटी राजदरबारलाई संग्रहालयको रूप दिई १५ फागुन ०६५ देखि सर्वसाधारणका निम्ति खुला गरिएको थियो । तर, नारायणहिटी दरबारबाट उत्तरी कुनामा रहेको टुकुचा खोलाछेउको राजा वीरेन्द्रको निजी निवास भने अवलोकनका लागि खुला गरिएको थिएन । 

नारायणहिटीभित्रको त्रिभुवन सदनमा १९ जेठ ०५८ मा दरबार हत्याकाण्ड भएको थियो । त्रिभुवन सदन तत्कालीन युवराज दीपेन्द्रको निवासको रूपमा रहेको थियो । ०४९ जेठसम्म युवराज दीपेन्द्र पनि श्री सदनमै बसोवास गर्थे । तर, ०४९ असारमा २१ वर्ष पुगेपछि दरबारको चलनअनुसार उनी त्रिभुवन सदनमा बसोवास गर्न थालेका थिए । 

राजा वीरेन्द्रको निजी निवासको रूपमा रहेको श्रीसदनमा भने उनका अलावा बडामहारानी ऐश्वर्य, छोरी अधिराजकुमारी श्रुति र छोरा अधिराजकुमार नीराजन रहने गरेका थिए । बिहे भएपछि अधिराजकुमारी श्रुती केशरमहलनजिकै रहेको पति गोरखशमशेरको निवासमा बसोवास गर्न थाले पनि श्रीसदनमा उनको कोठा भने जस्ताको तस्तै छँदै थियो । 

गणतन्त्र स्मारक खुला गर्ने योजना पनि स्थगित 
दाहालका अनुसार दरबार हत्याकाण्डका सम्पूर्ण विवरणलाई समेत सर्वसाधारणले हेर्न पाउने गरी अन्य तयारीसमेत गरिँदै थियो । 

संस्कृति मन्त्रालयमातहत रहेको संग्रहालय सञ्चालनका लागि सरकारले दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेसँगै संग्रहालयका थप भाग र सामग्री प्रदर्शनीमा राख्न लागिएको  थियो ।

गणतन्त्र स्थापनाका लागि भएका संघर्षमा ज्यान गुमाएकाहरूको सम्झनामा नारायणहिटी परिसरकै पूर्वतिरको भागमा गणतन्त्र पार्कसमेत निर्माण भएको छ । ‘श्रीसदन’  खुला गर्ने तत्काल योजना रोकिएपछि  गणतन्त्र पार्कसमेत खुला गर्ने योजना लम्बिएको छ ।

‘श्रीसदन’ सर्वसाधारणका लागि खुला गरिएकै दिन सोही पार्कसमेत अवलोकनका लागि खुला गरिनेछ । सो पार्कमा विभिन्न समयमा सहिद भएकाहरूको तस्बिरलगायतका सामग्री प्रदर्शनीमा राखिनेछन् ।