कस्तो छ युरोपमा नेपालीको अवस्था ?
लेख तयार पर्दासम्म युरोप क्षेत्रमा (बेलायतसमेत गरी) पाँच् लाख ५६ हजार चार सय ४३ जना कोरोना भाइरस संक्रमित छन् भने युरोप क्षेत्रमा ४४ हजार नाै सय ५५ ले उक्त भाइरसको रोग 'कोभिड– १९' बाट ज्यान गुमाइसकेका छन् । तथ्यांकमा नयाँ संक्रमित तथा मृत्यु हुनेको संख्या पनि दिनहुँ बढ्दो छ ।
करिब तीन सातादेखि युरोपका अधिकांश देश 'लकडाउन'को अवस्थामा छन् भने युरोपेली युनियनआबद्ध सबै देशले आफ्ना सीमानाकाहरू पनि बन्द गरेका छन् । प्रत्येक सेकेन्डमा जहाज देखिने युरोपको आकाशमा अहिले कुनै जहाज देखिँदैनन् । युरोपको बजेट एयरलाइन्सको रूपमा मानिने 'इजी जेट'का सम्पूर्ण जहाजहरू तीन दिनदेखि ग्राउन्डेड छन् ।
स्वीडेन मात्र त्यो देश हो जहाँ लकडाउन गरिएको छैन र त्यहाँ स्कुल, कलेज, कार्यालयलगायत सम्पूर्ण पसल, रेस्टुरेन्ट, बार सबै खुला छन् । त्यहाँ धेरै मान्छे जम्मा हुन नपाउने नियमसमेत सरकारले लगाएको छैन । जब कि स्वीडेन पनि कोरोन भाइरसबाट अछुतो भने छैन । स्वीडेनमा हालसम्म ६ हजार आठ सयभन्दा बढी संक्रमित छन् भने चार सय एकजनाको यही रोगका कारण मृत्यु भइसकेको छ ।
पछिल्लो समय इटालीको अवस्था संसारलाई जगजाहेर नै छ । इटालीमा दिनको सरदर आठ सयले ज्यान गुमाएका छन् भने स्पेन र फ्रान्स पनि त्यसको मारमा छन् । स्पेन र फ्रान्समा प्रत्येक दिन सरदर पाँच सयले कोरोना भाइरसको कारण ज्यान गुमाइरहेका छन् ।
देशमा कोरोना फैलिए पनि अनुपातमा कम क्षति हुने देश नर्वे हो । करिब ५७ सय संक्रमित हुँदा नर्वेमा जम्मा ७१ जनाको यो रोगका कारण ज्यान गएको छ । कम क्षति हुने देशमा जर्मनी पनि परेको छ । जर्मनीको स्वास्थ्य प्रणाली संसारको उत्कृष्टमध्येमा पर्ने भएकाले कम क्षति भएको मानिएको छ । जर्मनीमा हालसम्म एक लाख एक हजार संक्रमित हुँदा १५ सय ८४ ले ज्यान गुमाएका छन् ।
डेनमार्कले आफ्नो देशमा कोरोन संक्रमित बढ्नेबित्तिकै देशलाई 'लकडाउन' गरेको थियो । कोरोन भाइरसको कारण युरोपमा देशलाई लकडाउन गर्नेमा डेनमार्क पहिलो पंक्तिमा पर्दछ । डेनमार्कमा इटाली घुमेर आएका यहीँका स्थानीयमा पहिलोपटक कोरोन भाइरस देखिएको थियो ।
डेनमार्कमा स्कुल, कलेजदेखि होटेल, रेस्टुरेन्ट, बार तथा सयजनाभन्दा बढी जम्मा हुने कार्यालय बन्द गरिएको छ भने सार्वजनिक स्थलहरूमा १० जनाभन्दा बढी जम्मा हुन नपाइने नियम छ । डेनमार्कमा चार हजार ६ सय संक्रमित हुँदा एक सय ७९ ले ज्यान गुमाएका छन् ।
स्वास्थ्यविज्ञहरूले बताएअनुसार युरोप क्षेत्रमा यो कहिले र कसरी नियन्त्रण हुनेछ भन्न नसकिने अवस्था छ । युरोप क्षेत्रमा नयाँ संक्रमित र मृत्यु हुनेको 'ग्राफ' अझै माथिल्लाे बिन्दुमा नपुगेको हुँदा कहिले नियन्त्रण हुने भन्न नसकिएको उनीहरूले बताउँदै आएका छन् ।
किन नियन्त्रण हुन सकेन युरोपमा ?
युरोप क्षेत्रमा कोरोना भाइरस नियन्त्रण हुन नसक्नुमा यहाँका मानिसको घुमफिरको शैली प्रमुख कारण हो । युरोपका अधिकांश देश 'लकडाउन'को अवस्थामा छन्, तर पनि यहाँका मानिस घुमफिर गर्ने तथा बाहिर घुम्न निस्कने, पार्कमा जम्मा हुने आदि भने गरिरहेका छन् ।
युरोपमा 'लकडाउन'को अवस्था भए पनि मानिसलाई बाहिर निस्कन बन्देज भने लगाइएको छैन । दैनिक उपभोग्य सामग्री किनमेल गर्न पसलमा भिड पनि उत्तिकै देखिन्छ । इटाली, स्पेन र फ्रान्समा भने त्यहाँका केही क्षेत्रमा निश्चित अवधिमा बाहिर निस्कन बन्देज लगाइएको छ ।
नियन्त्रण हुन नसक्नुकाे दोस्रो कारण स्वास्थ्य क्षेत्रमा यी देशले भैपरी आउन सक्ने महामारी रोगको पूर्वतयारी नगर्नु नै हो । इतिहासमा उल्लेख भएअनुसार आजभन्दा सय वर्षअगाडि स्पेनमा एक महामारी फैलिएको थियो जसलाई 'स्पेनिस फ्लु'को नामले पनि चिनिन्छ ।
त्यसयता युरोपमा रोगको महामारी फैलिएको इतिहास छैन । यिनीहरूले स्वास्थ्य क्षेत्रमा विकास गरेको आधुनिक प्रविधिले केवल मानिसलाई लाग्दै आएको रोगको उपचार गर्न सक्थ्यो, तर यो 'कोभिड– १९' बिल्कुलै नयाँ रोग भएकाले यिनीहरूको पर्याप्त तयारी नपुगेको कारण यो नियन्त्रण हुन नसकेको देखिन्छ।
युरोपमा जनसंख्या पनि स्थिर र बढे पनि एकदम थोरै दरमा बढिरहेको तथ्यांकले बताउँछ । मृत्युदर पनि कम हुने युरोपमा मानिसको जीवन स्वस्थ मानिन्छ । मानिसमा लाग्ने रोगमा यी देशले प्रविधि, औषधि, जाँच आदिको विकास गरी अस्पताललाई सुविधासम्पन्न बनाएका छन् ।
व्यक्तिलाई सकेसम्म रोग लग्न नदिनु प्रमुख कुरा भएको र व्यक्तिलाई रोग नलागे अस्पताल पनि धेरै बनाउनुपर्दैन भन्ने मान्यता सबै युरोपेली देशको रहेको छ । जनता स्वस्थ रहे देश पनि स्वस्थ रहन्छ भन्ने मान्यताअनुरूप सानैदेखि बच्चालाई स्कुले शिक्षामा स्वस्थ खाना, स्वस्थ रहनसहन, सरसफाइ, आफ्नो ख्याल राख्नुपर्ने आदि कुरामा जोड दिइन्छ ।
यही कुरा सानैदेखि सबैले व्यवहारमा उतार्ने भएकोले रोग नलाग्नु स्वाभाविक पनि हो ।
यही कारण थोरै बिरामी हुने भएपछि अस्पताल, डाक्टर, नर्स, प्राविधिक र प्रविधि पनि स्वाभाविक थोरै हुने नै भयो । यही थोरै साधन, स्रोत अनि जनशक्तिजस्ता कुराले वर्षौंदेखि यिनीहरूलाई चाहिने मात्रामा पुग्दै आयो अनि यसैमा यिनीहरू अभ्यस्त बन्दै आए ।
स्वाभाविक हो– आफूलाई चाहिनेभन्दा बढी वस्तु कसैले पनि राख्दैन । अस्पतालमा बिरामीको चाप पनि त्यति नहुने भएपछि जनशक्ति तथा साधनस्रोत पनि त्यहीअनुसार हुने नै भयो ।
सायद यही 'फ्याक्टर'को कारण अहिले कोरोन भाइरसको महामारी युरोपलाई थेग्न गाह्राे भएको हो । एक्कासि कोरोना भाइरस संक्रमित बिरामी बढेपछि देशसँग भएको साधनस्रोत अनि जनशक्तिले नपुगेको कारण नियन्त्रण हुन नसकेको हो । महामारीको आपतकालीन अवस्थामा देशमा साधनस्रोतसहितको 'मेडिकल रेस्पोन्स टिम' नभएकोले पनि युरोपले अहिले मार खाएको हो ।
विश्व स्वास्थ्य संगठनले बढीभन्दा बढी व्यक्तिलाई जाँच गर्नमा जोड दिए पनि युरोपका देशले अहिले पनि चाहेजति जाँच गर्न सकेका छैनन् । माथि नै उल्लेख भइसक्यो देशलाई चाहिनेजति साधन, स्रोत अनि जनशक्तिमा वर्षौंदेखि अभ्यस्त हुँदै आएका देशहरू एक्कासि कोरोना भाइरसका संक्रमित बिरामी बढेपछि त्यसको चेकजाँच अनि व्यवस्थापन गर्न गाह्राे हुनु स्वभाविक हो ।
अहिले युरोपमा भएको यही हो । जस्तै, डेनमार्कले एक हप्ताअगाडि जम्मा हप्ताको दुई हजार मानिसलाई जाँच गर्दै आएकोमा अब यो हप्तादेखि पाँच हजारजनालाई जाँच गर्ने जनाएको छ । डेनमार्कको क्षमता नै यही हो, यहाँभन्दा बढी जाँच गर्न यो देशको हालको साधनस्रोत अनि जनशक्तिले पुग्दैन पनि । जर्मनी भने जाँचमा अगाडि देखिएको छ ।
हाल जर्मनीले प्रत्येक दिन १० हजार व्यक्तिलाई जाँच गर्दै आएको छ । उसले यो अप्रिल महिनाको अन्तसम्म दिनको एक लाख व्यक्तिलाई जाँच गर्ने क्षमता बढाउने लक्ष्य लिएको छ ।
युरोपमा नेपालीको अवस्था
कोरोना भाइरस फैलिएपछि युरोपभर बसोवास गर्ने नेपालीमा असर गर्नु स्वाभाविक हो । युरोपमा रहने नेपाली पनि संक्रमित रहेको खबर आइरहेका छन् । युरोपमा सबैभन्दा बढी नेपाली पोर्चुगलमा रहेका छन् ।
पोर्चुगलबाट पत्रकार गणेश पाण्डेले बताएअनुसार त्यहाँ रहेका २२ नेपाली संक्रमित छन् । उनले यो संख्या बढ्न सक्ने बताए । व्यक्तिले परिचय लुकाउने भएकाले तथ्यांक संकलनमा समस्या रहेको पनि उनले बताए ।
स्पेनमा सातजना संक्रमित रहेको स्पेनबाट पत्रकार वसन्त रानाभाटले जनाएका छन् भने एकजना बिरामी दुई हप्ता अस्पताल बसेर निको भई घर फर्केका छन् ।
यसैगरी डेनमार्कमा दुई नेपाली संक्रमित छन् । अस्पतालले व्यक्तिको चाहनाअनुसार परिचय गोप्य राख्ने गरेको कारण संक्रमित सार्वजनिक रूपमा खुल्न नसकेको हो । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले बेल्जियमबाट बताएअनुसार त्यहाँ एकजना नेपाली निको भई घर फर्केका छन् भने अरू तीनजना संक्रमित छन् ।
कोभिड– १९ ले युरोपमा बस्ने नेपालीलाई समस्या परेको पनि देखिएको छ । अधिकांश कम्पनी, होटेल, रेस्टुरेन्ट बन्द भएकोले धेरैको रोजगार गुमेको छ भने विद्यार्थी भिसामा भर्खर आएकाहरू बढी मारमा परेका छन् ।
भर्खर विद्यार्थी भिसामा आएका नयाँ विद्यार्थीलाई सम्बन्धित देशमा एनआरएनका समितिहरूले केहि खाद्यान्नलगायतका राहत वितरण गरिरहेका पनि छन् ।
नियन्त्रण कहिलेसम्म ?
युरोपमा कोभिड– १९ नियन्त्रणमा तत्काल सफलता प्राप्त गर्न गाह्राे देखिने विज्ञहरूले बताउँदै आएका छन् ।
नियन्त्रण हुन संक्रमित संख्या घट्दै जानुपर्छ, तर दिनदिनै संक्रमित संख्याको 'ग्राफ' माथि बढ्दै गएकाले 'पिकप्वाइन्ट' कहाँसम्म पुग्ने हो यकिन भन्न सकिने स्थिति छैन । सबै युरोपेली देशले यसको नियन्त्रणमा महिनौँ लाग्न सक्ने भनेकाले जनतालाई धैर्य रहन आग्रह गहेका छन् ।
समग्रमा हेर्दा कोभिड– १९ रोग र यसको नियन्त्रणका लागि युरोपेली देशलाई चार पक्षमा रहेर काम गर्न बाध्य पारिदिएको छ ।
पहिलो पक्ष बढीभन्दा बढी व्यक्तिको जाँच, दोस्रो पक्ष संक्रमित भएको पत्ता लगाउने, तेस्रो पक्ष संक्रमित व्यक्तिको उपचार र व्यवस्थापन तथा चौथो पक्ष मृतकको लासको व्यवस्थापन । 'कोभिड– १९' रोग नै यस्तो पऱ्यो कि जति धेरै शंका लागेका व्यक्तिलाई जाँच गर्न सक्यो त्यति संक्रमित पत्ता लगाउन सकिने अनि पत्ता लागिसकेपछि उपचार र व्यवस्थापन गर्न अर्को रणनीति आवश्यक पर्ने ।
अस्पताल अनि बेडसंख्या पनि कम भएकोले संक्रमितलाई आइसोलेसन बेडमा राखेर उपचार गर्न सबै देशलाई प्रमुख चुनौती देखिएको हो । युरोपमा सबैभन्दा बढी मार इटालीले व्यहोरेको छ । त्यहाँ त कोभिड– १९ रोगबाट मर्नेको लाससमेत व्यवस्थापन गर्न समस्या देखियो ।
क्रिस्चियन धर्ममा पनि व्यक्तिको मृत्युपश्चात् केही धार्मिक क्रियाकर्म हुन्छन् । जस्तो मृत शरीरलाई अनिवार्य बाकसमा राख्नुपर्छ अनि उचित स्थानमा गाड्नुपर्छ । यस्ता प्रक्रिया पूरा गर्दा पनि इटालीमा लासको व्यवस्थापनमा निकै कठिनाइ भएको हृदयविदारक दृश्य हामी सबैले देख्नुपऱ्यो ।
युरोप अहिले जसोतसो कोभिड– १९ सँग जुधिरहे पनि अब भविष्यका लागि भने यी देश तयारी अवस्थामा रहने देखिन्छ । देशमा यस्तैखालको रोगको कारण महामारीको आपतकालीन अवस्था आइपरेको खण्डमा छुट्टै अस्पतालसहितको 'आपतकालीन मेडिकल रेस्पोन्स टिम' तयारी अवस्थामा राख्न यो कोभिड– १९ ले सम्पूर्ण देशलाई पाठ सिकाएको छ ।