मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २४ सोमबार १३:४१:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउन अटेर गर्ने ३० जना पक्राउ    

Read Time : < 1 मिनेट
२०७६ चैत २४ सोमबार १३:४१:००

बाग्लुङमा दुईजनामा कोरोना संक्रमण देखिएपछि सदरमुकामलगायतका आसपासका क्षेत्रमा लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले थप कडाइ गरेको छ । 

देशभर जारी लकडाउन कार्यान्वयनमा अटेर गरेपछि सोमबार बिहानै सदरमुकाम बाग्लुङ बजारबाट ३० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार ४० जनालाई पक्राउ गरी सम्झाइबुझाई गरेर छोडे पनि सोमबार बिहान अनेक बहनामा लकडाउन उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरेको हो । 

सोमबार बिहानै लकडाउन उल्लंघन गरी सडकमा हिँडिरहेका २२ पुरुष र आठजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेम केसीले बताए । अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन स्थानीय प्रहरी–प्रशासनले पटकपटक आग्रह गरे पनि अटेर गरेकाले पक्राउ गरेर क्याम्पस चौरमा राखिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रहरीले आफ्नो सुरक्षाका लागि घरबाहिर ननिस्कन, फलफूल तथा तरकारीसमेत फोनबाट घरमै मगाउन आग्रह गरेको थियो । ‘पटकपटक अनुरोध गर्दासमेत मर्निङवार्क हिँड्नेदेखि बजारमा विनाकाम लखरलखर हिँडिरहेका छन्, जति भने पनि लागेको छैन,’ प्रहरी प्रमुख भट्टले भने, ‘उनीहरूलाई सम्झाइबुझाई घरभित्रै सुरक्षित बसिदिनुस् भनेका छौँ, तर राम्रोसँग टेरेका छैनन् अब कफ्र्युमा जस्तो कोर्रा लगाउन पर्ने स्थिति आउन सक्छ ।’ 

नेपालमा नाैजनामा कोरोना संक्रमण देखिएकोमा बाग्लुङका मात्रै दुईजना छन् । उनीहरू दुवैको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शनिबार कोरोना संक्रमित पहिचान भएका कैलालीका युवासँगै भारतको गौरीफन्टाबाट सातजना आएकोमा चारजना बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा छन् भने बाँकी तीनजना गुमनाम भएपछि बाग्लुङ थप तरंगित छ । उनीहरूको जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर खोजी तथा पहिचान सुरु गरिएको प्रहरीले जनाएको छ ।