१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अजित अधिकारी काठमाडौं
२०७६ चैत २४ सोमबार १२:४७:००
Read Time : > 1 मिनेट
अर्थ

सगरको सिलिन्डरमा लोकप्रिय ग्यास भरियो, आयल निगमको मध्यस्थतामा विवाद टुंगियो

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७६ चैत २४ सोमबार १२:४७:००

काभ्रेको बनेपामा रहेका दुई ग्यास उद्योगमा विवाद देखिएको छ । लोकप्रिय ब्रान्डमा ग्यास वितरण गर्दै आएको उग्रचण्डी ग्यास उद्योगले बजारबाट सगर ग्यासको सिलिन्डर उठाई भरेर पठाएको पाएपछि विवाद सतहमा आएको हो ।

आयल निगमको एलपी ग्याससम्बन्धी विनियमावलीले एउटा उद्योगको सिलिन्डर अर्को उद्योगको सहमतिविना बजारबाट उठाएर लैजान र ग्यास भर्न बन्देज लगाएको छ । तर, उग्रचण्डीले सगर ग्यासको सिलिन्डर भरेको पाएपछि सोमबार बिहानदेखि ग्यास उद्योगी तनावमा थिए । सगरका सिलिन्डरमा ग्यास भरेर लोकप्रियले आफ्नो ब्राण्डको सिल र क्याप लगाएको अवस्थामा फेला परेको छ ।  

स्रोतका अनुसार सगर ग्यासका सञ्चालक सावरमल अग्रवालले आफ्नो सिलिन्डरमा लोकप्रियको सिल र क्याप रहेको एक थान सिलिन्डरसहित बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालयमा जानकारी दिन पुगेका थिए । सुरुमा उनी लोकप्रिय ग्यासबाट अन्याय भएका भन्दै उजुरी दिने मनस्थितिमा पुगे पनि एलपी ग्यास उद्योग संघ र निगम पदाधिकारीको छलफलपछि नरम भएका छन् ।

उनले आफ्नै सहमतिमा लोकप्रिय ग्यास उद्योगमा सिलिन्डर लगेर भरेको नयाँ पत्रिकालाई बताए । ‘त्यस्तो ठूलो विषय केही होइन, मेरै सहमतिमा सगरका ग्यास सिलिन्डर लोकप्रियमा लगेर भर्ने कुरा भएको हो,’ उनले भने । तर, लोकप्रिय ग्यास उत्पादन गर्दै आएको उग्रचण्डी ग्यास उद्योगका सञ्चालक कृष्णभक्त श्रेष्ठको तर्क भने फरक छ ।

उनले कर्मचारीबाट त्रुटि हुँदा सगरका सिलिन्डरमा ग्यास भर्न पुगेको बताए । ‘अहिले उद्योगमा दुई–तीनजना ज्यालादारीका नयाँ कर्मचारी राखिएको छ । उनीहरूले सगर र लोकप्रियको सिलिन्डर छुट्याउन नसक्दा समस्या भएको हो,’ उनले भने । सगर र लोकप्रियका फरक–फरक डिलर छन् । यस्तोमा सगरका सिलिन्डर तपाईंको उद्योगमा कसरी आइपुगे भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘अहिले हामीले एउटै गाडी लगेर विभिन्न ब्राण्डका सिलिन्डर उठाइरहेका छौँ । र, पछि खाली सिलिन्डरहरू कुन उद्योगका हुन् भनेर पहिचान गरी त्यही उद्योगमा छाडिदिने गरेका छौँ । यसैक्रममा मेरो उद्योगमा सगरका केही सिलिन्डर बाँकी रहेछन् र नयाँ कर्मचारीले भूलवश ग्यास भरेको भेटिएको हो ।’

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सम्बन्धित उद्योगको स्वीकृतिविना अर्को उद्योगले ग्यास भर्न नपाउने व्यवस्था रहेको बताए । ‘सगर र लोकप्रियको विषयमा ठ्याक्कै के भएको हो भन्ने विषय बुझेर समस्या हल गर्छौं, तर कानुनी रूपमा कसैले पनि स्वीकृतिविना अर्काको खाली सिलिन्डर लगेर ग्यास भर्न पाउँदैनन् । काम गर्ने सवालमा त्रुटि भएको भए अलग विषय हो ।’

आयल निगमको विनियमावलीले फरक ब्राण्डको सिलिन्डरमा ग्यास भर्ने कार्यलाई अपराध मानेको छ । यद्यपि, निगमले केही समयअघि सूचना प्रकाशित गरी एउटा उद्योगले अर्को उद्योगको सिलिन्डर भरेर ग्यास बजारमा पठाउन सक्ने व्यवस्था केही दिनका लागि खुला गरिदिएको जनाएको थियो । यो व्यवस्थाको सबै उद्योगीले विरोध गरेका थिए ।