१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत २४ सोमबार १२:१७:००
Read Time : < 1 मिनेट
विश्व

बेलायती महारानीको सम्बोधन– भाइरसविरुद्धको लडाइँमा हामी सफल हुन्छौँ

Read Time : < 1 मिनेट
२०७६ चैत २४ सोमबार १२:१७:००

बेलायती महारानी एलिजाबेथले राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसविरुद्धको लडाइँमा सफल हुने बताएकी छिन् । उनले भाइरसविरुद्धको लडाइँमा सबैभन्दा अगाडि रहेर लडिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद पनि दिएकी छिन् । 

महारानीको सम्बोधन दुर्लभ मानिन्छ । उनकाे ६८ वर्षको शासनकालमा यो पाँचौँ सम्बोधन हो ।

विन्जर क्यासलबाट सम्बोधन गर्दै महारानीले भनिन्, ‘हामीले विगतमा धेरै चुनौती भोगेको भए पनि यो तीभन्दा धेरै फरक छ । यसपटक विज्ञानको बृहत् विकास र हाम्रो करुणाभावसहित साझा प्रयत्नका लागि विश्वभरका देशसँग हामी मिलेका छौँ । हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ । हामी सबै मिलेर यस रोगको सामना गरिरहेका छौँ । म तपाईंलाई आश्वासन दिन चाहन्छु, यदि हामी एकजुट भएर दृढ रह्यौँ भने यसलाई जित्न सक्छाैँ ।’

महारानीको सन्देशको केही समयपछि डाउनिङ स्ट्रिटले प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल लगिएको घोषणा गरेको थियो । एक साताअगाडि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि जोनसन आइसोलेसनमा थिए । 

राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । स्वास्थ्य उपचारपछि आइसोलेसनबाट बाहिर निस्केका छन् । बेलायतमा भाइरसको संक्रमणबाट अहिलेसम्म चार हजार नाै सयभन्दा बढीको मृत्यु भएको छ । 

युरोपका धेरै देशजस्तै बेलायत पनि भर्चुअल लकडाउनको स्थितिमा छ र मानिसलाई घरबाहिर नजान भनिएको छ। स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले  भाइरसको फैलावट रोक्न अहिले लागू गरिएका नियमह पर्याप्त नभए अरू कडा नियम पनि लागू गरिने बताएका छन्।