१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७६ चैत २४ सोमबार ०९:५१:००
Read Time : > 2 मिनेट
अर्थ

सुनको कोटा र पाँच वस्तुको प्रतिबन्धले ३० अर्ब आयात घट्ने

कोरोनाका कारण रेमिट्यान्स घट्ने भएपछि सवा एक खर्बको चालू खाता थप नबिग्रियोस भनेर आयातमा प्रतिबन्ध, साढे ८ अर्ब राजस्व गुम्ने

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७६ चैत २४ सोमबार ०९:५१:००

सरकारले पाँच वस्तुको आयात प्रतिबन्ध र सुनको कोटा आधा घटाउँदा ३० अर्ब रुपैयाँ आयात कम हुने भएको छ । सरकारले हालै केराउ, मरिच, छोकडा, मदिरा र ५० हजार डलरभन्दा बढी मूल्य पर्ने गाडीको आयातमा प्रतिबन्ध लगाएको छ । त्यस्तै, सुन दैनिक २० किलो आयात हुँदै आएकोमा त्यसको कोटा घटाएर दैनिक १० किलो बनाइएको छ । सरकारले गरेको यो व्यवस्थाबाट वर्षमा ३० अर्ब रुपैयाँभन्दा बढी रुपैयाँ बिदेसिबाट जोगिनेछ ।

मन्त्रिपरिषद्को १६ चैतको बैठकले केराउ, छोकडा, मरिच, मदिरा र ५० हजार डलरभन्दा बढी मूल्यको सवारीको आयात तत्काललाई रोक्ने निर्णय गरेको थियो । निकासी–पैठारी नियन्त्रण ऐन २०१३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सरकारले आयात प्रतिबन्ध गरेको हो । तर, १६ चैत ०७६ भन्दा अगाडि नै प्रतीतपत्र खोलिसकेको हकमा भने आयात रोकिनेछैन । यसबाट मुलुकको व्यापार घाटा न्यूनीकरण र समग्र शोधनान्तर अवस्थालाई सन्तुलित बनाउन महŒवपूर्ण योगदान मिल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।

बढ्दो चालू खाता घाटालाई न्यूनीकरण गर्न सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । चालू आर्थिक वर्षको सात महिनामा नेपालको चालू खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपैयाँ रहेको छ । सुनसहित हाल प्रतिबन्ध लगाइएका ती वस्तुको आयातमा गत वर्ष नेपालबाट ४७ अर्ब ३२ करोड ९० लाख रुपैयाँ बिदेसिएको थियो । गत वर्र्ष सुन मात्रै ३४ अर्ब ६१ करोडको आयात भएको थियो । कोटा आधा घटाउदा सुन आयात सवा १७ अर्बमा खुम्चनेछ । आयात प्रतिबन्ध भएपछि विदेशी विनिमय सञ्चिति घट्न नदिन सहयोग पुग्ने सरकारको विश्वास छ ।  

कोरोना भाइरस महामारीका कारण रेमिट्यान्स आय उच्चदरमा घट्न थालेको छ । पर्यटक आवागमन ठप्प नै छ । रेमिट्यान्स, पर्यटन र सेवा आयमा उच्च गिरावट आएपछि मुलुकको बाह्य क्षेत्र कमजोर हुने निश्चित छ । यसबाट चालू खाता उच्चदरमा बढ्ने निश्चितप्रायः छ । यही अवस्थालाई रोक्न सरकारले पाँच वस्तुको आयातलाई रोक्ने निर्णय लिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

‘राजस्वमा केही क्षति पुगे पनि यसले समग्रमा मुलुककै हित गर्नेछ,’ उनले भने । गत आवमा हाल प्रतिबन्धित वस्तुको आयातबाट सरकारले ८ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

तीन कृषि वस्तुको आयात रोक्दा सवा ११ अर्ब जोगिने

सरकारले आयात प्रतिबन्ध लगाएका तीन वस्तुहरू केराउ, मरिच र छोकडा उच्च मूल्य भएका उपभोग्य वस्तु हुन् । हाल नेपालमा वार्षिक ११ अर्ब रुपैयाँभन्दा बढी मूल्यबराबरको केराउ, मरिच र छोकडा आयात हुने गरेको छ । चालू आवको ८ महिनामै नेपालमा ११ अर्ब ११ करोड रुपैयाँबराबरका यी कृषि वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा नेपालमा यी तीन वस्तुको आयात मूल्य ११ अर्ब २३ करोड रुपैयाँबराबर रहेको थियो ।
 
महँगा सवारी थोरै आउँछन्, मदिरा रोकिँदा डेढ अर्ब जोगिन्छ

प्रतिबन्ध लगाइएको ५० हजार अमेरिकी डलर मूल्यबराबरका गाडीहरू थोरै मात्रामा आउने गरेको भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् । ‘५० हजार डलर रुपैयाँ रकम पर्ने गाडी भन्सार, अन्तःशुल्क, भ्याटलगायत कर तथा महसुल जोड्दा २ करोड रुपैयाँभन्दा बढी पर्ने विभागका महानिर्देशक दाहाल बताउँछन् । 

यस्ता गाडी नगण्य मात्रामा आउने गरेको उनले जानकारी दिए । ‘५० हजार डलर मूल्यका धेरै आउँदैनन्, त्यसैले यसको आयातमा धेरै पैसा बाहिरिँदैन, यसको आयात प्रतिबन्धले धेरै विदेशी मुद्रा जोगिनेछैन भने राजस्व पनि धेरै गुम्नेछैन,’ उनले भने, ‘तर, मदिराको आयात प्रतिबन्धले भने ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिन्छ भने उल्लेखनीय रूपमा राजस्व पनि घट्छ ।’ 

सुन रोक्दा १७ अर्ब जोगिने, राजस्व साढे एक अर्ब गुम्ने 

सरकारले सुनको आयात कोटालाई प्रतिदिन २० किलोग्रामबाट १० किलोग्राममा झारेको छ । अर्थात्, अब बैंकहरूले प्रतिदिन १० किलोग्राम मात्रै सुन आयात गर्न पाउनेछन् । गत वर्ष नेपालमा ३४ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भएको थियो, जसबाट सरकारले ३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अब सुन आयातको कोटा आधा गरेसँग सुनमा बिदेसिने आधा रकम जोगिनेछ भने राजस्व पनि आधाले घट्नेछ । अर्थात्, सुन आयात कटौती गर्दा करिब १७ अर्ब रुपैयाँ बिदेसिनबाट जोगिनेछ भने साढे १ अर्ब रुपैयाँ राजस्व गुम्ने भन्सारको तथ्यांकले देखाउँछ । 

महामारी नियन्त्रणमा नआए गाडी र सुन आयात पूर्ण रूपमा रोक्नुपर्ने अवस्था आउन सक्छ : डा. पोषराज पाण्डे, अर्थविद्

हाम्रो विदेशी विनिमयको मुख्य स्रोत रेमिट्यान्स, पर्यटन र निर्यात हो । अहिले तीनै स्रोत सुकेको अवस्था छ । यस्तो वेलामा हामीले विलासिताका वस्तुको आयात कटौती गर्दै अत्यावश्यक वस्तुको आयातका लागि विदेशी मुद्राको जोहो गर्नुपर्छ । सुनको कोटा घटाउने र ५० हजार डलरभन्दा बढी मूल्यको गाडीको आयात रोक्दा विदेशी विनियम सञ्चितिमा सहयोग मिल्छ ।

मरिच, छोकडा, केराउजस्ता वस्तुको आयातचाहिँ अस्वाभाविक थियो, तस्कर भइरहेको शंका पनि थियो, त्यही भएर रोकिएको हुन सक्छ । केही वस्तुको आयात रोक्ने तथा कोटा घटाउने सरकारी निर्णय अहिलेको अवस्थामा एकदम उचित हो । अवस्था अझ नसुध्रिए र झन् बिगिँ्रदै गएमा सुन र गाडीको आयात पूर्ण रूपमा रोक्ने अवस्था पनि आउन सक्छ ।