मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २४ सोमबार ०८:४०:००
Read Time : > 1 मिनेट
सम्पादकीय

राज्यविहीनताको अवस्था

Read Time : > 1 मिनेट
२०७६ चैत २४ सोमबार ०८:४०:००

लकडाउन नेपालमा मात्र होइन, विश्वभर कोरोनाविरुद्ध एउटा सशक्त हतियार बनेको समय हो । पछिल्ला ४० वर्षमा तीव्र रूपमा विस्तारित विश्वव्यापीकरणले उद्योग, व्यापार र सांस्कृतिक क्षेत्रमा जे–जति अन्तर्घुलन भएको छ, मानवसमाजको बसाइँसराइ पनि यो समयको एउटा ऐतिहासिक प्रवृत्ति हो । गाउँबाट सहरतिर, पहाडबाट तराईतिर, साना बजारबाट महानगरतिर र साना र कम विकसित देशबाट विश्वका उद्योग तथा व्यापारका नयाँ, पुराना केन्द्रतिर मानिसको बसाइँ–सराइ यसअघिको भन्दा बढेको छ । चीनको आन्तरिक बसाइँ–सराइमा गाउँबाट सहर झर्नेको प्रभाव छ । यही अवधिमा त्यहाँ कम्तीमा ३० करोड मानिस यसरी सरेका छन्, स्थायी या अस्थायी रूपमा । यस्तो प्रवृत्ति भारत या ब्राजिलजस्ता उदाउँदा पुँजीवादी देशमा पनि उस्तै छ । इन्डोनेसिया या बंगलादेशमा पनि उस्तै छ । अफ्रिका र मध्यपूर्वबाट अनेक हन्डर खाएर युरोप पुग्नेहरू या सम्पूर्ण मध्यअमेरिकी देशबाट हुल बाँधेर मेक्सिकोको सीमा हुँदै अमेरिका छिर्न हिँडेकाहरू यसका उदाहरण हुन् । नेपालबाट पनि यतिवेलै कम्तीमा ३५ लाख मानिस नेपालबाहिर छन्, जो भारत र खाडीका देशसहित विश्वका अनेक कुनामा पुगेका छन् ।

लकडाउनका कारण आफ्ना नागरिकलाई देशभित्र छिर्न नदिई सिमानामै शरणार्थी बनाइनु उनीहरूका लागि राज्यविहीनताको अवस्था हो

यो आमप्रवृत्तिलाई यतिवेला धक्का दिएको छ, कोरोना संक्रमणले । कोरोनाको महामारीसँगै सबैजसो देशमा उद्योगधन्दा बन्द हुँदा बेरोजगार भएका लाखौँ मानिस नेपाल फर्कन चाहेका थिए । अन्तर्राष्ट्रिय हवाई यातायातमा रोक लगाउने सरकारहरूको निर्णयले तिनलाई धोका दिएको छ । यता भारतीय सहरमा अचानक बेरोजगार भएका लाखौँ नेपाली नेपाल आउन चाहेका थिए । तीमध्ये कतिपय आइसकेका छन् र कतिपय भारतीय लकडाउनको प्रभावले आउन सकेका छैनन् । यतिवेला भारतका विभिन्न सहरबाट अनेक हन्डर खाँदै नेपालको सीमासम्म आइपुगेका नेपाली यस्तो बसाइँ–सराइ र त्यसका मनै कटक्क खाने दृश्यका उदाहरण बनेका छन् । जसरी केही दिनअघि भारतको राजधानी दिल्लीको आनन्द विहार बसपार्कमा देखिएको मानवसागरले एउटा वियोगान्त चित्र विश्वसामु देखाएको थियो ।

नेपाल लकडाउनमा छ । कोरोना महामारी फैलन सक्ने मुख्य बाटो भनेको मानिस–मानिसबीचको निकट सम्पर्क नै हो । विभिन्न देश र सहरबाट भित्रिनेहरूले यस्तो रोग लिएर आएको हुन सक्ने र तिनीहरू यताका बस्तीमा प्रवेश गरे भने यता पनि महामारी फैलिने भएकाले सबै सीमानाका बन्द गर्नुपरेको सरकारको दाबी छ । यो चासो स्वाभाविक र अनिवार्यजस्तो पनि छ । तर, जब देशका नागरिकको सुरक्षाको प्रश्न आउँछ, अनि यस्ता नीति कुनै वेदका ऋचाजस्तो अपरिवर्तनीय हुन सक्दैनन् । सीमासम्म आइपुगेका नेपाली नेपालभित्र प्रवेश गरी क्वारेन्टाइनमा बस्न र रोग नफैलाउन प्रतिबद्ध छन् भने तिनलाई वारि ल्याएर सुरक्षित ढंगले क्वारेन्टाइनमा राख्ने, तिनको स्वास्थ्य परीक्षण गर्ने र समय पुगेपछि यदि परीक्षणको नतिजाले संक्रमित देखाएन भने घर जान दिने व्यवस्था गर्नु सरकारको मानवीय तथा राजनीतिक जिम्मेवारी दुवै हो ।

तर, कहिले बाँकेका सिमानामा २३ जिल्लाका नागरिक पाँच दिनसम्म दसगजाका अनागरिक बनाइन्छन् । कहिले दार्चुलाबाट ढोका नखोलिएर भारतीय सीमाबस्ती धार्चुलामा शरणार्थी बनाइन्छन् । ती नागरिकका लागि यो अवस्था राज्यविहीनताको अवस्था हो । नेपाल सरकारसँग आफ्ना ती नागरिकलाई देशभित्र ल्याउने र आवश्यक बन्दोबस्त गर्न पुग्ने पर्याप्त साधन–स्रोत छ । यस्तो अवस्थामा तिनलाई भेडाबाख्रासरह सरहदको पारिपट्टि अपमानित र अपहेलित जीवन जिउन बाध्य पार्ने सरकारको निर्णय र दृष्टिकोण आपत्तिजनक छ, राज्यका सर्वमान्य सिद्धान्तको पनि विरुद्ध छ । जो–जो सिमानापारि आइपुगेका छन्, तिनलाई बोलाऊ र देशभित्र बस्ने अधिकार देऊ । इतिहासले सराप्ने काम नगर ।