मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २३ आइतबार २०:१२:००
Read Time : > 7 मिनेट
ब्लग

कोरोनाविरुद्धको लडाइँ, हरुवा मनस्थितिमा सरकार 

Read Time : > 7 मिनेट
२०७६ चैत २३ आइतबार २०:१२:००

नेपालमा शनिबार (२२ चैत) सम्म नाैजनामा कोरोना भाइरस पोजेटिभ देखियो, तीमध्ये चारजना सुदूरपश्चिमका थिए । 

कोरोना संक्रमित व्यक्तिमा उच्च ज्वरो, खोकी लाग्ने र श्वास–प्रश्वासमा निकै समस्या हुन्छ । विशेषज्ञहरूले अहिलेसम्म यस्तै कुरा बताएका छन् । त्यसो भएमा भेन्टिलेटरमा राख्नुपर्ने प्रबल सम्भावना बढ्छ । 

तर, यस्तो वेला सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा एक/–एकवटा मात्रै भेन्टिलेटर छन् । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा हामी प्रवेश त गर्यौं । तर, सिंगो सुदूरपश्चिमभरि आजसम्म चारवटा भेन्टिलेटरलाई बढाएर पाँच बनाउने इच्छाशक्ति प्रदेश सरकारले देखाउन सकेन । 

‘गाउँगाउँमै सिंहदरबार’, ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा फलाकेको संघीय सरकार, स्मार्ट सिटी बनाउने नारा बुलन्द पारेका स्थानीय सरकारहरूको आफ्नै हविगत र हैसियतले यतिवेला उनीहरूलाई नै गिज्याइरहेको हुनुपर्छ । 

यी विषय र प्रसंगको सम्बन्ध यहाँ जोड्न खोजिएको विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सन्त्राससँग हो । प्रदेशको मुख्यमन्त्रीमा शपथ लिँदै गर्दा मुख्यमन्त्री त्रिलोचन भट्टले ‘सुदूरपश्चिमेलीले अब भारतमा चौकीदारी गर्ने दिनको अन्त्य गर्छु’ आसयको अभिव्यक्ति दिएका थिए । 

तर, विडम्बना ! साँधसीमा जोडिएको छिमेकी मुलुक भारत कोरोनाको सन्त्रासमा गाँजिएपछि ज्यान जोगाउन वा आफ्नै मुलुक टेक्ने अभिलाषा लिएर ओइरिएका तिनै ‘चौकीदार’हरूलाई क्वारेन्टाइनमा राख्नेसम्मको जोहो उनी र उनको सरकारले गर्न आवश्यक देखेन ।

चीनको वुहानबाट अन्तिम डिसेम्बरमा कोरोना संक्रमण फैलिएको खबर सुनेदेखियता हामीसँग ९० भन्दा बढी दिन रोकथामको उपाय अपनाउने, संक्रमण भइहालेमा उपचारका लागि तयारी गर्ने पर्याप्त समय थियो । सम्भवतः संघीय सरकार नै ‘पशुपतिनाथले रक्षा गर्नेछन्’को मनोदशामा बसिरह्यो । 

चीनको विपत्तिले हामीलाई त्यति धेरै अत्याउन सकेन । सायद सरकारले चीनको भाषा बुझेन । तर, जब स्वास्थ्यमा संसारकै सबल र सक्षम इटाली कोरोनाको युद्धमा हारेको सिपाहीजस्तै हुँदै थियो, स्पेन हारथाक भइरहेको थियो, जर्मनीमा कोरोनाको भयावहलाई आकलन गरेर प्रदेशका अर्थमन्त्रीले आत्महत्याकै बाटो रोजे । यी  भाषा त नेपाल सरकारको समझमा आउनुपर्ने थियो । 

नेपाल सरकारले बुझ पचायो वा सम्भावित विनाशको आकलन गर्ने ल्याकत संघीय सरकारले नै राख्न सकेन । र त, जोखिम फैलिरहेका मुलुकहरूमा समेत निरन्तर अन्तर्राष्ट्रिय उडानहरू भइरहे । जब भारत कोरोनाको कहरमा गाँजिन थाल्यो र उसले स्थितिलाई सम्हाल्न केही कदम चाल्यो, हाम्रो सरकारले त्यो भाषालाई बुझेर वा नबुझेर बल्ल ‘अनुसरण’को व्यहोरा प्रस्तुत गऱ्यो । 

जब कि भारतमा कोरोना भित्रिनुअघि नै कोरोनाको चपेटामा परिसकेका मुलुकहरूमा निर्वाध आवागमन जारी राखेर वर्तमान सरकारले कोरोनाको बिउ नेपालमा रोपिसकेको संक्रमणका सुरुवाती बिरामीहरूको तथ्यांकले पुष्टि गर्छ । 
‘जनता रहे पो देश रहन्छ, देश रहे पो सरकार !’ भन्ने बुद्धिमत्तासम्म यो सरकारमा पलाउन सकेन । बरु ठूलै उपलब्धि हात परेझैँ निर्लज्जताका साथ शनिबार (२२ चैत)   भनियो, ‘नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ ।’  

फेरि पनि पशुपतिनाथले रक्षा गरून् कोरोनाका कारण कसैको मृत्यु नहोस्, यदि भएछ भने मरेको शव उठाउन पनि कोही आइदिने छैनन् र घर नै चिहानघाट हुनेछ । जुन आशंका गर्ने सुविधा बुटवलमा शंका मात्रै गरिएका बाबुरामको मृत्युले दिइसकेको छ 


 मानौँ, यो सरकार यही दिन र दशाको व्यग्र प्रतीक्षामा थियो । 

‘कोरोना संक्रमण हुनेबित्तिकै मान्छे मर्दैन’ यो भनाइ हुने, खाने र सक्षम देशका लागि पनि अब फिक्का साबित हुँदै गएको छ । ‘सपनाको देश’ मानिएको सुविधासम्पन्न अमेरिकामा समेत आज संक्रमण परालको आगोझैँ फैलिरहेको छ । बेलुकी हेरेको मर्नेको संख्या बिहान उठेर हेर्दा आङै सिरिंग हुने अवस्था छ । 

इटालीमा प्रधानमन्त्री धुरुधुरु रोइरहेका छन् ।  स्पेन कोरोनाको कहरसँग पानीपानी भएको देखिन्छ । टाढा नजाउँ, हामीभन्दा निकै शक्तिशाली भारत कहिले थाल ठटाएर त कहिले बत्ती निभाएर कोरोनासँग जुधिरहेको छ । तर, हामीसँग के छ ? सिंगो प्रदेशमा चारवटा र देशभर पाँच सयको हाराहारीमा भेन्टिलेटर ।
ती पनि कोरोना विशेष अस्पतालमा होइन । देशभर रहेका सम्पूर्ण सरकारी र निजी अस्पतालसमेतमा रहेका भेन्टिलेटरको संख्या जोड्दा पाँच सय हाराहारी पुग्छ ।  

कोरोनाको आशंका मात्रै गरियो भने पनि कस्तो हविगत हुन्छ भन्ने दृष्टान्त हामीले कोरोनाको आशंकामा बुटवलको घागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचार गर्न आएका बाबुराम थापाको मृत्यु प्रकरणबाट देखिसक्यौँ । धागो कारखानामा उपचारका लागि राखिएका रुपन्देही सैनामैनाका बाबुराम थापाको उच्च ज्वरोकै कारण मृत्यु भयो । परिवारले दाबी गर्दै छ, कोरोना आशंकामा उपचारमा ध्यान नदिँदा बाबुरामको मृत्यु भयो । 

मृत्यु भइसक्दा पनि राज्यले उनको रिपोर्ट दिन सकेन । परिणाम, छरछिमेक त के परिवारले पनि उनको शव छुनसम्म पाएनन् । जब रिपोर्ट आयो, परिवार भन्दैछन्, कोरोना होइन भने उनको मृत्यु लापरबाहीले भएको हो । 

यसले सरकारतिर दोहोरो प्रश्न खडा गरिदियो, ‘कोरोना होइन भने कोरोना विशेष अस्पताल भनेर बनाइएका अस्पतालमा सामान्य ज्वरोको पनि उपचार सम्भव नहुने अवस्था हो त ? अनि, कोरोनाका बिरामी कसरी निको होलान् ?’

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालमा भेन्टिलेटर र आइसियूको अपर्झट व्यवस्था गर्न नसक्नु सरकारबाट कमजोरी भएको स्विकारिसकेका छन् । यसले के दृष्टान्त पेस गर्छ ? अब पनि काेरोनाको आशंकामा मानिस बिरामी हुनेछन् । कुनै स्थानमा तोकिएको ‘विशेष अस्पताल’को बेडमा बिरामी लम्पसार पर्नेछन् । अनि, विशेष सुविधाको अभावमा उनीहरूले पशुपतिनाथको नाम जपेर जीवनको भीख माग्नुपर्ने हो ?  

चीनमा २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोना सन्त्रास युरोप, अमेरिका र भारत हुँदै नेपाल आइपुग्दासम्म हामीसँग तयारीको यथेष्ट मौका थियो । बचाउका अनेक उपाय थिए । अन्तर्राष्ट्रिय आवागमन नरोकेरै पनि राज्यले चाहेको भए करिब २०-२२ लाख पर्ने पिसिआर मेसिन ल्याएर ठाउँ–ठाउँमा परीक्षणको सुलभ व्यवस्था गर्न सक्थ्यो । संक्रमण रोक्ने अनेक अवसरको सदुपयोग गर्ने मौका पर्याप्त थियो । 

विडम्बना ! हामीले यी कदमहरू त के, कोरोना प्रभावित मुलुकबाट आएका नागरिक र पाहुनालाई पनि खुलेआम प्रवेश दियौँ । निर्वाध घुम्न दियौँ । राज्यले नै यसमा चिन्ता लिएन भने व्यक्तिले पनि सजगता अपनाउने बुद्धिमता देखाएनन् । यसैको परिणाम अहिले काठमाडौं, बाग्लुङ, कैलाली र कञ्चनपुरसम्म देखिँदै छ । 

आज रुपन्देहीका बाबुरामजस्तै कोरोना भाइरसबाट संक्रमणको आशंकामा उपचाररत कोरोना अस्पताल चितवनमा एकजना, वीर अस्पतालमा दुईजना, पाटन अस्पतालमा एकजना र धनगढीको माया मेट्रोमा एकजना गरी आशंकित बिरामीको मृत्यु भएको छ । यी आशंकितको रिपोर्ट उपचारका क्रममा नआएपछि त्रासको मानसिकताबीच स्वास्थ्यकर्मीले उपचार गर्नुपऱ्यो । आफन्तहरूले त्रासकैबीच आफ्नो प्रियजनलाई गुमाए । मृत्यु भएपछि पनि रिपोर्ट नआउँदासम्म शव पनि कसरी उठाउने ? दोधारमा रहे ।  शोकमा पनि आफन्तले सकस व्यहोर्नुपऱ्यो। 

तर राज्य ?

राज्य विवादको बखेडामा फसिरह्यो । प्रतिपक्षी दल नेपाली कांग्रेसको भाषा सापटी लिने हो भने विपतमा अभिभावक बनेर उभिनुपर्ने सरकार ‘कात्रोमा पनि कमिसन’को विवादमा रुमल्लियो । सिंगो संसार कोरोनाको डढेलोमा रापिएको देख्दादेख्दै ‘चैतमास खडेरीमा फुसको घरमा आगो लाग्न सक्छ’ भनेर ‘पानी’को जोहो गर्नुपर्ने सरकार घरमा आगो सल्किएपछि बल्ल पानीको खोजीमा भौँतारियो । 

महामारीसँग युद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारजगत्, एम्बुलेन्सचालक, राहतकर्मीलगायतका ‘योद्धा’हरू विनामास्क, विनापिपिई, विनाग्लोब कोरोनाको कहरसँग भिड्नुपर्ने अवस्था आजपर्यन्त छ । सरकारको अकर्मन्यता, बेवास्ता र अप्ठ्यारोमा फाइदा उठाउने केही मनोवृत्ति देखेर होला, निजी क्षेत्रको चौधरी फाउन्डेसनले आफ्नै लगानी र पहलमा विदेशबाट केही थान पिपिई, मास्क र अन्य स्वास्थ्य सामग्री ल्याएर देशका विभिन्न अस्पतालमा बाँड्यो । पीडाको यो घडीका कतिपयले भने, राज्यभन्दा विनोद चौधरी जनताप्रति संवेदनशील रहेछन् । 

जनतालाई लकडाउनमा बस्न लगाएर स्वास्थ्य सामग्री आयातका नाममा विवादमा मुछिएको सरकार र ल्याइएका सामग्री पनि नक्कली भएको हल्ला चौतर्फी फैलिएपछि पीडामा परेको जनताले सरकारभन्दा विनोद चौधरीलाई ‘महान्’ देख्नु कुनै दृष्टि भ्रम होइन होला । 
र, पनि जनताको घर राज्य हो भने अभिभावक सरकार हो । सामान्य अवस्थामा त्यही घर र अभिभावकलाई सघाउन (रेमिट्यान्स) देश, विदेशमा पुगेको नागरिक विपत् पर्दा देशको माटो टेक्न चाहन्छ । त्यसरी घर फर्केको सन्तानलाई दुधेबालकसहित सीमामै भोकै थुन्नु वा सीमा नाघेर माटो टेक्न आएको आफ्नो नागरिकलाई नांगेझार पार्नु भनेको राज्यको हरुवा मनस्थितिको प्रतिबिम्ब हो । 

यिनै दृश्यले प्रमाणित गरिसकेको थियो- यो सरकारसँग नागरिकलाई लकडाउनको नाममा भोकै घरमा थुन्नुबाहेक कुनै योजना छैन, कुनै तयारी छैन, कुनै दूरगामी दृष्टि छैन । 

यदि त्यो तयारी हुन्थ्यो भने ती आफ्ना नागरिकलाई स–सम्मान स्वदेशमा स्वागत गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्थ्याे । आशंकितको स्वास्थ्य परीक्षण गरेर बचाउको उपाय अवलम्बन गर्थ्याे । तर, त्यो गरिएन । बरु भारतको धार्चुलास्थित महाकाली किनारमा आज पनि हजारभन्दा बढी नागरिक भेडाबाख्राझैँ थुनेर राखिएको दृश्य नजिकबाट प्रदेश सरकार र टाढा बाट शक्तिशाली संघीय सरकारले निसंकोच हेरिरहेछ । र, तिनै जनताका नाममा गरिने अनेक बैठक र दृश्य देख्दा लाग्छ, ‘देश जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’ ।  

आज पनि भारतीय सीमामा बिचल्लीमा परेकाबाहेक पनि सुदूरपश्चिम प्रदेशमा मात्रै एकै दिन ९५ हजार भित्रिएका थिए । यो क्रम निकै दिन चल्यो । यसरी हेर्दा सुदूर र कर्णाली प्रदेशमा ढेड, दुई लाख जनता भित्रिएका छन् । कम्तीमा त्यहाँका प्रदेश सरकारहरूले यी नागरिकको आँकडा संकलन गर्ने व्यवस्था गर्न सक्थे । र, आज बचाउ र सजगताको विधि अपनाउन सक्थे । तर, त्यो गरिएन । रमिते बनिरह्यो सरकार ।  
सुदूरपश्चिममा शनिबार (२२ चैत) आएको पछिल्लो रिपोर्टले दुईजना भारतबाट भित्रिएका नागरिकमै कोरोना भएको पुष्टि भएको छ । भारतबाट भित्रिएकाहरू प्रदेशको दूरदराजसम्म पुगेका छन् । गाउँगाउँमा छिरिसकेका छन् । 

कामना गरौँ, त्यसो नहोस् ! तर, हाम्रो कामना पूरा नहुन सक्छ । गाउँगाउँमा फर्किएकाहरू अधिकांश सामान्य जीवनशैलीमा छन् । परदेशबाट आएकाहरू भेटघाटमा छन् । आफ्ना आफन्तको लोकाचारमा पक्कै छन् । 
संघ र प्रदेशमा सरकारविहीनताको अवस्था छ भने गाउँगाउँमा उनीहरूलाई नियमन, निगरानी वा सचेता फैलाउने कसले ? 

यसको परिणाम भयावह हुन सक्छ । कारण गाउँमा कसैलाई कोरोना भयो भने ऊ व्यक्ति मात्रै होइन त्यो परिवार नै बहिस्करणमा पर्ने पक्का छ । अर्थात् ‘अछुत’को व्यवहार त्यो परिवारले व्यहोर्नुपर्नेछ । 

त्यसो नहोस्, तर भयावह त्यस्तै हुने देखिन्छ । कुनै परिवारमा कोरोनाले मृत्यु भयो भने उसको लाससम्म उठ्ने स्थिति कठिन छ । सुदूरका गाउँ निकै विकट छन् । दूर र दुरुह छन् । त्यहाँ बनाइएका भेन्टिलेटरविनाका आइसोलेसन बेडले सुरुवाती अवस्थाको बिरामीलाई निको पार्ने आशा गरे पनि सामान्य अवस्थामै आवश्यक जनशक्ति नभएको सुदूरपश्चिममा कोरोनाको उपचार सम्भव होला भन्ने आशा गर्नु मूर्खता हुनेछ । 

यदि गाउँमा कोरोनाको कहर फैलिएछ भने गाउँकागाउँ मानिस समस्यामा पर्नेछन् । विपतको घडीका संक्रमणको डरले आफन्तहरू नै साथ दिन सक्ने छैनन् । 

फेरि पनि पशुपतिनाथले रक्षा गरून् कोरोनाका कारण कसैको मृत्यु नहोस्, यदि भएछ भने मरेको शव उठाउन पनि कोही आइदिने छैनन् र घर नै चिहानघाट हुनेछ । जुन आशंका  गर्ने सुविधा बुटवलमा शंका मात्रै गरिएका बाबुरामको मृत्युले दिइसकेको छ ।    

गर्ने के त ?

समय छँदै राज्यले देखाएको उदासीनताको आलोचना जति गरे पनि कमै हुन्छ । यतिवेला ठाउँठाउँमा अस्पताल, भेन्टिलेटर र स्वास्थ्यकर्मी चाहियो भन्ने  कुरा राजनीतिक भाषण गर्नेहरूको जिम्मामा छोडिदिउँ ।  आफू शक्ति र सरकारमा हुँदा चेत नखुल्ने, अर्को पक्ष शक्ति र सरकारमा हुँदा थर्मामिटरसम्म राज्यले दिएन भनेर कोठाभित्रबाट चिच्याउने कोसिसको पनि अर्थ छैन यतिवेला । किनकि घरमा आगो नसल्कँदै हामीले आगो लाग्न सक्ने अनुमानलाई विश्वास गरेर सम्पूर्ण तयारी गर्न र गराउन सक्नुपर्थ्याे । विडम्बना ! देशका शीर्षदेखि मझौलासम्मका नेताहरू लकडाउनअघि नै ‘होम क्वारेन्टाइन’मा लीन भएको कतै लुकेको छैन । 

त्यसैले यो महामारीबाट जोगिने पहिलो औषधि हो, घरमै बसौँ । रुखो, निस्तो जे छ, त्यही खाउँ । भौतिक भेटघाट, सामाजिक मिलन र सम्पर्क शून्य बनाउँ । आफूमाथि संक्रमणको शंका लागेकाले कम्तीमा ‘मैले अरूलाई जीवन दान दिनुपर्छ’ भन्ने भाव राखेर आफूलाई उपचारमा र अरूबाट टाढा बसौँ । धेरै होइन, एक महिना कठोर आत्मनियमको पालना गरौँ । ‘आफू रहे संसार रहन्छ’ भन्ने भावको विकास गरौँ । 

राज्यले अब गाउँगाउँमा कोरोनाको उपचार सम्भव गर्छु भन्ने भ्रम त्यागेर आफ्नो सम्पूर्ण शक्ति कोरोनाको रोकथाम र उपचारमा खर्चन जरुरी छ । जनता रहे देश रहने हो, देश रहे सरकार भन्ने सत्यलाई मनन गरेर कोरोना कोषका नाममा ‘भिख’को याचना नगरौँ । 

सडक, पुल, पुलेसा, खानेपानी, हवाईमैदान, फास्टट्रयाकलगायतका नाममा छुट्याएको रकम रकमान्तर गर्दै आमनागरिकको उपचार र बचाउमा खर्च गरौँ । इच्छाशक्ति भए विपतका बीच पनि राज्यले हरेक प्रदेशमा कोरोना भाइरसको उपचारका लागि स्थापना गरिएका विशेष अस्पतालहरूलाई सुविधासम्पन्न बनाउन आइतबार लाग्दैन । 

‘कात्रोमा पनि कमिसन’ खोज्ने दुष्ट आँखालाई पन्छाएर सत्तापक्ष र विपक्ष नभनी योजना र ‘आइडिया’ भएका व्यक्तिहरूको साथ लिएर महामारीसँगको लडाइँ लडौँ । सेना भनेको विपतको सारथि हो भन्ने सम्झौँ । विवादमा मुछिएपछि स्वास्थ्य सामग्री किन्ने जिम्मा दिएजसरी नै सरकार कोरोनाको संक्रमण नियन्त्रणमा कमजोर बन्दै गएको यो घडीमा  सेना, प्रहरी र सशस्त्र प्रहरीको स्वास्थ्य युनिटलाई विशेष जिम्मा दिऊँ । हरेक गाउँगाउँमा उद्धार, राहत र उपचारमा राज्यका सम्पूर्ण शक्ति लगाउँ । जनता बाँचे, देश रहे भोलि रस्साकस्सी गरौँला । वादविवाद गरौँला । आरोप–प्रत्यारोपमा रमाउँला । 

जनताको आँगनमा लास मात्रै बाँकी रहे, कोरोनाले सरकार भनेर कहाँ चिनिरहला र ?