१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सागर चन्द काठमाडौं
२०७६ चैत २३ आइतबार १९:३२:००
Read Time : > 2 मिनेट
फिचर

कष्ट झेलेर काठमाडौंमा तरकारी र खाद्यान्न जुटाउनेहरू   

Read Time : > 2 मिनेट
सागर चन्द, काठमाडौं
२०७६ चैत २३ आइतबार १९:३२:००

लकडाउन तोड्दै मध्य बानेश्वरमा हरियो सागले चुलिएको साइकल डोऱ्याउँदै थिए जोगबहादुर तामाङ । मैतिदेविमा साग बिक्री गर्ने ५२ वर्षीय तामाङले लकडाउनमा पनि ताजा सागको व्यापार छाडेका छैनन् ।  

‘लकडाउनले व्यापार कठिन भएको छ,’ तामाङ भन्छन्, ‘ठिमीसम्म हिँड्दै जानुपर्छ, साग लोड गरेर साइकल डोऱ्याउँदै ल्याउनुपर्छ ।’ लकडाउनअगाडि तामाङ तिनकुने वा मीनभवनबाट तरकारी ल्याउँथे । ‘नजिक हुन्थ्यो, गाडी पनि चल्थ्यो,’ पसिना पुछ्दै तामाङ भन्छन् । 

लकडाउन सुरु भएपछि उनको तरकारी खरिद गर्ने स्थान टाढा पुग्यो । आजभोलि उनी दैनिक यसरी नै ठिमीबाट साग बोकेर साइकल डोऱ्याएर ल्याउँछन् । मैतिदेवीबाट ठिमी पुग्न र फर्किन तामाङलाई पाँच घन्टा लाग्छ । ‘दुःख गरेर भए पनि परिवार पाल्नैपऱ्याे,’ पाँचजनाको परिवार साग बेचेरै पालेको बताउँछन् तामाङ ।

बानेश्वरमै भेटिए भारत मोतिहारीका रमेश साह । साइकलमा घरघर डुलेर तरकारी बेच्ने साहले लकडाउनयता पुरानो बानेश्वर जाने बाटोको साँघुरो गल्लीमा साइकल रोकेर तरकारी बेच्न थालेका छन् ।लकडाउन प्रभावकारी बनाउन खटिएका सुरक्षाकर्मीले जथाभावी हिँड्न दिँदैनन् । अहिले साँझ ५ बजेदेखि एक घन्टा मात्र तरकारी बेच्छन् । लकडाउनले उनको व्यापार घटेको छ । ‘अहिले त घाटा हुन्छ, कहिले त हजार रुपैयाँ पनि उठ्दैन,’ साह दुःखी हुँदै भन्छन्, ‘बाँच्नका लागि जोखिम मोलेर व्यापार गरिरहेको छु ।’

परिवार छाडेर, विदेशी भूमिमा तकारी बेच्न सजिलो छैन उनलाई । ‘मान्छेहरू तरकारी महँगो भयो भनेर गाली गर्छन्,’ साह सुनाउँछन्, ‘मैले नै महँगोमा खरिद गरेपछि कसरी सस्तोमा दिनु ?’

लकडाउनमा तरकारी बेच्नेका दुःख यतिमै सकिँदैनन् । मैतिदेवी मन्दिरमा एक मुठा साग २५ देखि ३० रुपैयाँमा बेचिरहेकी गंगा चौहान बिहानै तरकारी लिन मूलपानी पुग्छिन् । मूलपानीबाट तरकारी ल्याउँदैमा उनको दिन बित्छ । ४७ वर्षीया चौहान लकडाउनमा तरकारी ल्याउनुको कष्ट सुनाउँछिन्, ‘हिँड्दा–हिँड्दा गोडा दुख्छ । त्यसमाथि सुरक्षाकर्मीले गाली गर्छन् । बच्चालाई पाल्नका लागि काम नगरी हुँदैन ।’

पाँचजनाको परिवार छ चौहानको । श्रीमान् बिरामी छन् । परिवार पाल्ने सबै जिम्मा चौहानकै काँधमा छ । त्यही भएर त चाैहानले कोरोना त्रास र लकडाउन सबै भुलेर साग बिक्री गर्न छाडेकी छैनन् । ‘२/४ सय भए पनि आउँछ कि भन्ने लोभ न हो,’ चौहान सुनाउँछिन् ।

लकडाउनमा तरकारी बटुल्नजस्तै अप्ठ्यारो बेच्नु पनि छ । दूरी कामय राखेर बेच्नुपर्छ । लकडाउन अवधिभर सरकारले अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने निर्देशन दिएको छ । खाद्यान्न आपूर्ति पनि अत्यावश्यक सेवाभित्र पर्छ । 

लामो दूरीका चालकलाई खान समस्या 
लकडाउनको १०औँ दिन उपत्यका भित्रिने प्रमुख नाका थानकोट हुँदै नौबिसेसम्म पुग्दा मालबाहक सवारीसाधन मात्र चलेका थिए । नौबिसेमा भेटिए वीरगन्जबाट दाल भरिएको ट्रक चलाएर आएका सुनिल मगर । लकडाउनको १० दिनसम्म पुग्दा उनले वीरगन्जदेखि काठमाडौं, काठमाडौंदेखि वीरगन्जसम्म तीनपटक सामान ओसारिसके ।

लकडाउनले गर्दा उनले बाटोमा खान पाएका छैनन् । ‘खानै पाउँदैन । होटेल सप्पै बन्द छन्,’ मगरले भने । खाना नपाएपछि मगर र उनका सहयोगी चाउचाउ र बिस्कुटएकै भरमा वीरगन्जबाट काठमाडौं पुग्छन् । काठमाडौंमा दाल झारेर उनी फेरि वीरगन्ज चामल लिन जानेछन् । 

लकडाउनको अवधि बढेसंगै पैदल यात्रा गरेर घर जानेहरूको भिड पनि राजमार्गमा देखिन्छ । चितवनबाट अन्डा बोकेर बनेपा गइरहेका ट्रकचालक माधव रिमाललाई बाटोमा हिँडिरहेका मान्छेलाई लिफ्ट दिन मन लाग्छ । तर, ‘मान्छेसँग मान्छे डराउनुपर्ने समय छ । मन लागेर पनि चढाउन सक्दिनँ,’ रिमाल बाध्यता सुनाउँछन् ।अरूको जस्तै बाटोमा खान नपाउने समस्या रिमालले पनि भोगेका छन् ।

तर, भारत महाराष्ट्रका ट्रकचालक दयाराम यादवलाई भने खान नपाउने समस्या छैन । ‘म त आफैँ पकाउँछु,’ यादव मुस्कुराउँदै भन्छन् । भारतबाट औषधि लिएर नेपाल आएका यादवलाई नेपाल छिर्न १२ दिन लाग्यो । भारतबाट आउने सवारीचालकलाई सीमामा डाक्टरले जाँच गरेपछि मात्र नेपाल पठाउने गरिएको उनले सुनाए ।

‘डाक्टरले जाँच गरेपछि नेपाल आएँ,’ यादवले भने । सुनसान सडक र बन्दको यो माहोल ६० वर्षे जीवनमा पहिलोपटक देखेको बताउँछन् यादव । 

तस्बिर : दीपेन्द्र ढुंगाना