कोरोना संक्रमित युवकलाई पक्राउ गर्ने सशस्त्र प्रहरीसहित १७ जनाको स्वाब लिइयो
कोरोना संक्रमण पुष्टि भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकलाई पक्राउ गरेर क्वारेन्टाइन पुऱ्याउने सशस्त्र प्रहरीसहित १७ जनाको स्वाब लिइएको छ ।
गत १४ चैतमा लकडाउनको समयमा भारतबाट नेपाल प्रवेश गरेका संक्रमित युवकसहित ११ जनालाई ब्रह्मदेवबाट पक्राउ गरेर वेदकोट–९, सुन्दरपुरको क्वारेन्टाइनमा लैजाने सशस्त्र प्रहरीका १३ जना र चालक, सहचालक तथा सवारीधनी गरी १७ जनाको स्वाब लिइएको कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिए ।
साहुले भने, ‘लकडाउन तोडेर नेपाल प्रवेश गरेका व्यक्तिलाई पक्राउ गरेर सीधै क्वारेन्टाइनमा लग्ने हाम्रा १३ जना सशस्त्र प्रहरी जवान र तिनीहरूलाई बोक्ने सवारीसाधनका तीनजनाको स्वाब लिइएको छ ।’ आइतबार महाकाली अस्पतालबाट १७ जनाको स्वाब लिइएको हो ।
साहुले ६ जना बिओपी ब्रह्मदेव र आठजना गड्डाचौकी सशस्त्र प्रहरी राजस्व सुरक्षा गुल्मका जवानको स्वाब लिएर उनीहरूलाई सशस्त्र प्रहरीकै ब्रह्मदेव र गड्डाचौकी क्वारेन्टाइनमा राखिएको बताए । सवारीधनी, चालक, सहचालकलाई भने भीमदत्त नगरपालिकाको बैजनाथ विद्यालयस्थित क्वारेन्टाइनमा राखिएको छ ।
नेपाल प्रहरीले संक्रमित युवकसहित ११ जनालाई नेपाल तराउनेको खोजीकार्य जारी राखेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्रप्रसाद अधिकारीले चाँडै नियन्त्रणमा लिएर उनीहरूको पनि स्वास्थ्य परीक्षण गराइने बताए ।
संक्रमितसहितलाई सीमा क्षेत्रबाट पक्राउ गरेर सीधै क्वारेन्टाइनमा पुऱ्याएपछि संक्रमण फैलिनबाट जोगिएको भन्दै स्थानीयले सशस्त्र प्रहरीको टिमसहित प्रहरी र स्थानीय जनप्रतिनिधिको कामको प्रशंसा गरेका छन् ।