मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७६ चैत २३ आइतबार १८:१९:००
Read Time : > 1 मिनेट
अर्थ

निजी क्षेत्रको सहयोगले आपूर्ति व्यवस्था सहज : उद्योगमन्त्री भट्ट

Read Time : > 1 मिनेट
२०७६ चैत २३ आइतबार १८:१९:००

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रको सहयोगका कारण आपूर्ति व्यवस्थामा सहज भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले उपलब्ध गराएको राहत सामग्री नेपाल विज्ञापन संघको कार्यालयमा आइतबार बुझ्दै मन्त्री भट्टले विपतको समयमा निजी क्षेत्रले देखाएको सक्रियताले सरकारलाई आपूर्ति व्यवस्थापनमा सहज भएको बताएका हुन् । उनले लकडाउनको समयमा दैनिक उपभोग्य सामान आयात गरी घरघरमा सेवा दिन निजी क्षेत्रले देखाएको सक्रियता सराहनीय भएको बताए ।

महासंघले लकडाउनका कारण हातमुख जोड्न समस्या भएका श्रमिक कामदारको सहयोगका लागि चार हजार प्याकेट राहत सामग्री उपलब्ध गराएको छ । महासंघकी अध्यक्ष भवानी राणाले मन्त्री भट्टलाई राहत सामग्री उपलब्ध गराएकी हुन् । राहतस्वरूप उपलब्ध गराइएको चार हजार प्याकेट सामग्रीमा प्रत्येक प्याकेटमा १० किलो चामल र एक किलो दाल राखिएको छ ।

सो राहत सामग्री उद्योगा वाणिज्य संघ काभ्रे, काठमाडाैं महानगरपालिका वडा नम्बर ३१, वडा नम्बर १६,  वडा नम्बर ११, वडा नम्बर १ र २०, उत्पीडित सुकुम्बासी बस्ती, अन्तर्राष्ट्रिय आप्रवासी समुदाय,  मध्यपुर थिमी वडा नम्बर ३ र ६, डोलेश्वर महादेव समिति, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसीसमेतको टोल, सुन्दरीजल चाइना गेट, पशुपति क्षेत्र आश्रम सबै, नवजीवन चिल्ड्रेन होम हात्तीवन ललितपुरलगायतका संघसंस्थामार्फत वितरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष राणाले जानकारी दिइन् । काठमाडौं आएर पढ्न बसेका बेखर्ची विद्यार्थीलाई पनि आवश्यकताको आधारमा राहत सामग्री वितरण गर्ने उनले बताइन् ।

महासंघले उपलब्ध गराएको राहत सामग्री मन्त्री भट्टले वितरणका लागि विभिन्न संघसंस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । महासंघले यसअघि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० लाख नगद सहयोग गरेको थियो । एक करोडबराबरको स्वास्थ्य तथा खाद्यान्नलगायतका सामग्री सहयोग गर्ने महासंघको घोषणाअनुसार नै राहत सामग्री उपलब्ध गराइएको हो ।

यसअघि महासंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार थान मास्क, दुई सय ५० थान व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेको थियो ।