मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मी बलायर काठमाडाैं
२०७६ चैत २३ आइतबार १०:२६:००
Read Time : > 2 मिनेट
सप्तरंग

महजोडीको लकडाउन दैनिकी

Read Time : > 2 मिनेट
लक्ष्मी बलायर, काठमाडाैं
२०७६ चैत २३ आइतबार १०:२६:००

कोराना भाइरस संक्रमण (कोभिड–१९) को प्रकोप फैलिन नदिन सरकारले देशव्यापी लकडाउन घोषणा गरेपछि हास्यकलाकार मदनकृष्ण श्रेष्ठ घरमै सुरक्षित बसेका छन् । फूलमा पानी हाल्ने, समाचार र लेखहरू पढ्ने उनको दैनिकी बनेको छ । संक्रमणको जोखिमबाट बच्न उनी घरबाहिर निस्केका छैनन् । औषधिहरू खाइरहेको भएर पनि विशेष सतर्कता अपनाइरहेको बताउँछन् । बिहान उठ्नेबित्तिकै व्यायाम गर्छन् । अरूवेला भोक त्यति नलाग्ने उनलाई हिजोआज भने निकै भोक लाग्छ ।

कोरोना भाइरसको महामारीका कारण संसारकै अर्थतन्त्र ध्वस्त भइरहेको उनको बुझाइ छ । त्यसैले सबैलाई शून्य जोखिममा बस्न सुझाउँछन् । ‘घरमा बस्नु र नियमित हात धुनु नै कोरोना भाइरसको औषधि हो,’ उनी भन्छन्, ‘घरमा बचत गर्न सक्नेहरूलाई खासै अप्ठ्यारो नभए पनि दैनिक ज्यालामजदुरी गर्नेहरू यसबाट निकै गाह्रो भएको छ ।’

भारतबाट स्वदेश आउँदै गरेका नेपालीले घर फर्किन महाकाली नदीमा पौडेर पार गर्नु परेकामा उनलाई दुःख लागेको छ । ‘भारततर्फ भएका नेपालीलाई भारतले र नेपालमा भएका भारतीयलाई नेपालले नै हेरचाह गर्नुपर्छ,’ उनी भन्छन् । महामारीको समयमा सर्वसाधारणले सरकार र स्वास्थ्यकर्मीकै भर पर्नुपर्ने औँल्याउँछन् । त्यसैले सबैको ज्यान बचाउने स्वास्थ्यकर्मीका लागि तत्काल सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग आग्रह गर्छन् ।

कलाकार मदनकृष्ण श्रेष्ठ बिहान उठ्नेबित्तिकै व्यायाम गर्छन् । फूलमा पानी हाल्ने, समाचार र लेखहरू पढ्ने उनको दैनिकी बनेको छ ।

हरिवंश आचार्यलाई सुरुका १–२ दिन गाह्रो भयो । अहिले दैनिक एउटा फिल्म हेर्छन्, किताब पढ्छन् । केही लेख्न कोसिस पनि गरिरहेका छन् ।

महजोडीका ‘ह’ अर्थात् हरिवंश आचार्यलाई लकडाउनका सुरुवाती दिन घरमै बसिरहन गाह्रो भएको थियो । अहिले भने रमाइलो लागिरहेको छ रे ! दैनिक एउटा फिल्म हेर्छन्, किताब पढ्छन् । केही लेख्न कोसिस पनि गरिरहेका छन् । उनको भर सडकछेउमै छ । लकडाउनअघिसम्म सडकमा निकै चहलपहल हुन्थ्यो । अहिले भने सडक शून्य छ । 

‘म ९–१० वर्षको छँदा काठमाडौंको सडक दिउँसो १२-१ बजेतिर सुनसान हुन्थ्यो । तिनै दिनको सम्झना आइरहेको छ,’ उनी भन्छन्, ‘अहिले आकाश पनि खुसी भएको छ । धुवाँ र धुलोका कारण आकाशलाई गर्मीमा सिरक ओढाएजस्तो भएको थियो । तर, अहिले आकाश खुलेर नीलो देखिन्छ ।’ धुलो र धुवाँको पर्दा हटेपछि काठमाडौं उपत्यकावरिपरिका डाँडाकाँडा पनि खुसी भएजस्तो अनुभूति हुन्छ, उनलाई । भन्छन्, ‘प्रदूषण नहुँदा प्रकृति निकै खुसी देखिन्छ ।’

अमेरिकामा तय भएको कार्यक्रम कोरोना भाइरसको प्रकोपका कारण रद्द भएको छ । वैशाख अन्तिम साता एउटा फिल्मको सुटिङ तय भएको थियो, त्यो पनि पछाडि धकेलिने सम्भावना छ । ‘अहिले आफन्तजनसँग फोन र भिडियो च्याटमा कुरा हुन्छ,’ उनी भन्छन्, ‘मदन दाइसँग पनि दिनमा एकचोटि कुरा हुन्छ ।’

उनी लकडाउनयता घरबाहिर निस्केका छैनन् । केही महिनासम्म सचेत रहन सबैलाई सुझाब दिन्छन् । ‘अवस्था सामान्य बन्दै गएको चीनको वुहानमा पनि अझै स्थानीय बासिन्दा सचेत देखिन्छन्,’ उनी भन्छन्, ‘संसार नै ढुक्क छैन । हामीले पनि ढुक्क हुनुहुँदैन ।’ लकडाउन खुल्नासाथ सहरी इलाकामा भोजभतेरलगायत मानिस जम्मा भएर रमाइलो गर्ने माहोल सुरु हुने सम्भावना देखेका छन्, उनले । त्यसैले केही समय त्यस्ता ‘ग्यादरिङ’हरू आयोजना गर्न नहुने उनको सुझाब छ ।

‘अहिले नै पनि गाउँघरतिर रमाइलो गर्ने र खसी काटेर खाने वातावरण छ भन्ने सुनिएको छ,’ उनी भन्छन्, ‘घरभित्रै बस्नोस् भनेर सरकारले लकडाउन गरेको हो, रमाइलो मनाउन होइन । लकडाउनको आचरण पालना गरौँ ।’ आफ्नो कारणले अरूलाई रोग नसरोस् भनेर हरेकले सोच्नुपर्ने उनको सुझाब छ । भन्छन्, जथाभावी नहिँडौँ, परिवारको दायित्व सम्झेर आचरणमा बसौँ ।’