अहिले क्यान्सरसम्बन्धी किताब लेख्दै छु । लकडाउनको समय त्यसमै बितिरहेको छ । बिहान उठेर योग, ध्यान र शारीरिक व्यायाम गर्छु । गीत पनि लेखिरहेको छु । बचेको समय किताब पढ्दै, फिल्म हेर्दै बितिरहेको छ । त्यसैले होम क्वारेन्टाइनमा बस्दा असहज महसुस भएको छैन ।
परिवार र आफन्तसँग फोन र भिडियो च्याटमार्फत कुनाकानी भइरहन्छ । मैले बनाएको फिल्म ‘स्कुल’ रिलिजको तयारी थियो । तर, लकडाउनले गर्दा पछाडि धकेलिएको छ । यो संकटको घडीमा सबैलाई घरमै बस्न आग्रह गर्छु ।
कोभिड–१९ बाट डराइहाल्नुपर्दैन । किनकि, यो निको नहुने रोग होइन । वृद्धवृद्धा र रोगीलाई मात्र यो भाइरस जोखिमपूर्ण हो । युवावयका स्वस्थ व्यक्तिले सतर्कता भने अपनाउनुपर्छ । ठूलो जोखिममा स्वस्थ व्यक्ति छैनन् ।
तर, यसको अर्को जोखिमपूर्ण पाटो पनि छ । धेरैलाई एकैचोटि संक्रमण भएर अस्पतालहरू भरिए भने गाह्रो अवस्था आउन सक्छ । अहिले कोरोना भाइरसको संक्रमण क्रिकेट खेलको लाइभ प्रसारणजस्तो बनेको छ । कुन देशमा कति संक्रमित बढे र कतिको मृत्यु भयो भनेर छिनछिनमा दिइने अपडेटले मानिसलाई त्रसित बनाएको छ । कोरोनाभन्दा बढी त हृदयाघात, क्षयरोग र सडक दुर्घटनाबाट मानिसको मृत्यु हुन्छ । तर, तिनको त्यति चर्चा हुँदैन । मृत्युदर कम भए पनि चारैतिर कोरोनाकै चर्चा छ । त्यसैले नडराई घरमै बसेर यसको संक्रमणबाट बच्न सकिन्छ ।