मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २३ आइतबार १०:०१:००
Read Time : > 1 मिनेट
सम्पादकीय

लकडाउनमा कृषि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २३ आइतबार १०:०१:००

सम्पादकीय -

कोरोना प्रभावसँग जुध्न सरकारले अवलम्बन गरेको एउटा प्रभावकारी उपाय लकडाउनको दोस्रो साता सकिन लाग्दै छ । यसबीच देशको अर्थतन्त्रका सबैजसो अवयव ठप्पप्रायः छन् । उत्पादनका सबैजसो मुख्य शाखा बन्द छन् । सामानको ओसारपसार घटेको छ । बजार बन्द भएसँगै दैनिक उपभोगका सामानबाहेक अन्य वस्तु तथा सेवाको माग घटेपछि आयात पनि घट्ने नै भयो । यसले सरकारको राजस्व असुलीमा गम्भीर प्रभाव परेको छ । साथै रोजगारी ठप्प हुँदा अस्थायी या ज्यालादारी अथवा करारमा काम गर्ने श्रमिक बेरोजगार भएका छन् ।

तर, लकडाउनलाई सफल पार्ने हो र मानिसबाट मानिसमा सर्ने भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने गरी मानिसबीचको भौतिक दूरी बढाउने हो भने लकडाउनको विकल्प पनि छैन । तर, यसबीच दुइटा पक्ष छन्, जसले मानिसको जीवनरेखा जोड्छन् । पहिलो हो कृषि र दोस्रो हो उपभोग्य सामानको ओसारपसार । कृषि क्षेत्रमा हरेक दिन केही न केही उपज थन्क्याउने वेला भइरहेकै हुन्छ । तरकारी आज नटिपेर दुई दिनपछि टिप्दा उपभोगयोग्य नरहन सक्छ । पालिरहेका कुखुरा धेरै दिन पाल्नुपरे अनावश्यक खर्च बढ्छ । गाई, भैँसी दिनदिनै बिहानबेलुकै दुुहुनैपर्छ । अन्डा लामो सयम भण्डारण गरेर राख्न सकिन्न । गहुँ थन्क्याउनैपर्छ । धान समय आएपछि रोप्नैपर्छ । गोडमेल गर्नैपर्छ । यी कृषिका कार्य समय घर्केपछिका लागि साँचियो भने उत्पादनमा ह्रास आउँछ र परम्परागत रूपमा भन्नुपर्दा अनिकालको समय आउँछ ।

कोरोना संकटका कारण निम्तिएको लकडाउनको समयमा पनि कृषि उत्पादनमा कमी आउन दिइएन भने मात्रै हामी अनिकालबाट जोगिन सक्नेछौँ

यो मकै लगाउने, चैते धान रोप्ने, गहुँ थन्क्याउने समय हो । हिमाल, पहाड र तराई या पहाडका गाउँ र बेसीमा मौसमका कारण केही साता या दिनको फरकमा खेती गरिएला । तर, पाकेको बाली थन्क्याउन त कुर्न सकिन्न । यस्तो वेला लकडाउन गर्नुपर्नाका कारण प्रस्ट पारेर कृषकलाई आवश्यक सतर्कता अपनाउँदै कृषिमा निरन्तर लाग्न सहयोग गर्नु जरुरी छ । उनीहरूको आवतजावत रोक्नु हुँदैन । खेताला या काम गर्ने मानिस खोज्दा उनीहरूसँगको भौतिक दूरी कायम हुने गरी मात्र सामेल हुनुपर्छ । तर, कोरोना आतंकको चर्चा मात्र गरेर या एकोहोरो रूपमा मुख छोप, घरै बस भन्दै घर नबस्नु अपराधजस्तो हुने गरी सन्देश दिनु हुँदैन । कमसेकम सरकारी सञ्चारमाध्यम र राज्यको प्रतिनिधित्व गरेर बोल्नेहरूले विचार पुर्‍याउनुपर्छ ।

यता सहरमा मानिसको संख्या घटेको र यतै रहेकाहरूले पनि दैनिक रूपमा तरकारी तथा फलफुल र माछामासुको खपत घटाएको सन्दर्भमा त्यस्ता वस्तुको उत्पादन गर्ने किसानलाई बजारको अभाव हुने र मर्कामा पर्ने सम्भावना छ । यसको आकलन गरेर कसरी वैकल्पिक उपाय अपनाउन सकिन्छ भन्ने विषयमा प्रस्ट नीति र कार्ययोजना बनाउनु जरुरी छ । कमसेकम उत्पादन लागतमा घाटा व्यहोर्नु नपर्ने गरी आवश्यक परे राहतको व्यवस्था गर्न पनि सरकारले तत्काल गृहकार्य थाल्नुपर्ने देखिन्छ । यस्तो संकटको समयमा पनि कृषि उत्पादनमा कमी आउन दिइएन भने मात्रै हो, हामी अनिकालबाट जोगिने । कति समय यस्तो संकट तन्किने हो भन्ने थाहा नभएकाले यस सम्बन्धमा तत्काल अर्थ र कृषि मन्त्रालय तथा योजना आयोगले छलफल अघि बढाउनु आवश्यक छ ।