Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी लन्डन
२०७६ चैत २३ आइतबार ०६:४४:००
Read Time : > 1 मिनेट
खेलकुद

कोरोना भाइरसविरुद्ध लड्न इंग्लिस क्रिकेटरले गरे आर्थिक सहयोग 

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
२०७६ चैत २३ आइतबार ०६:४४:००

कोरोना भाइरसविरुद्ध लड्न इंग्लिस क्रिकेट खेलाडीहरूले आर्थिक सहयोग गरेका छन् । इंग्लिस क्रिकेट बोर्ड (इसिबी)सँगको केन्द्रीय सम्झौतामा रहेका खेलाडीले एक–आपसमा उठाएर पाँच लाख पाउन्ड रकम सहयोग गरेका हुन् । खेलाडीहरूले सहयोग रकम इसिबीलाई नै हस्तान्तरण गरेका छन् । आवश्यक परेको क्षेत्र र स्थानमा खर्च गर्न सक्ने गरी खेलाडीले बोर्डलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

यस्तै, महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले पनि अप्रिल, मे र जुनको तीन महिनाको आफ्नो तलबबाट २० प्रतिशत रकम नलिने घोषणा गरेका छन् । यसअघि इसिबीले कोरोना भाइरस महामारीका कारण आउन सक्ने सम्भावित आर्थिक संकटको सामना गर्न र त्यसको समाधानका लागि खर्च गर्न खेलाडीहरूलाई आफ्नो मासिक तलबको २० प्रतिशत रकम सहयोग गर्न अनुरोध गरेको थियो ।

इंग्लिस क्रिकेट बोर्ड (इसिबी) सँगको केन्द्रीय सम्झौतामा रहेका खेलाडीले एक–आपसमा उठाएर पाँच लाख पाउन्ड रकम सहयोग गरे। 

यद्यपि, इसिबीका प्रमुख कार्यकारी अधिकृत टोम हारिसनको सो आग्रहलाई खेलाडीहरूको संस्था प्रोफेसनल क्रिकेटर्स एसोसिएसन (पिसिए) ले कुनै वास्ता गरेन । मानव जीवनले भोगिरहेको यो नयाँ संकटको समयमा अन्य देशका विभिन्न खेलका खेलाडी र इसिबीमै अन्य कर्मचारीसमेत आफ्नो तलबबाट रकम कटौती गर्न राजी हुँदा पिसिएमाथि दबाब बढेको थियो । 

त्यही दबाबपछि इसिबीसँगको केन्द्रीय सम्झौतामा रहेका खेलाडीहरूले पछिल्लो निर्णय गरेका हुन् । ‘इसिबीसँग केन्द्रीय सम्झौतामा रहेका खेलाडीहरूबीच आज भएको बैठकले एउटा राम्रो कारणका लागि सहयोग गर्ने निर्णय भएको छ,’ खेलाडीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीहरूले थप सहयोग गर्ने सम्बन्धमा छलफल अझै जारी छ । त्यसबारे पछि सार्वजनिक गरिनेछ ।’

उनीहरूले आफूहरूले सहयोग उपलब्ध गराएको रकम इसिबीले अनुरोध गरेअनुसार आगामी तीन महिनाको आफ्नो तलबबाट २० प्रतिशत रकम नलिएसरह रहेको जनाएका छन् । ‘थप सहयोगका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने उद्देश्यमा हामी इसिबीसँग निरन्तर छलफलमै रहनेछौँ,’ खेलाडीहरूले विज्ञप्तिमा भनेका छन्, ‘हामी विश्वले सामना गरिरहेको यो संकटबाट चिन्तित छौँ । यो समस्याबाट पार पाउने सम्बन्धमा हाम्रो सहयोग निरन्तर रहनेछ ।’

यस्तै, महिला टोलीकी कप्तान हेइथर नाइटले आफ्ना सहकर्मी खेलाडी र प्रशिक्षकसँग छलफल गरी आगामी तीन महिनाको तलबबाट २० प्रतिशत रकम नलिने निर्णय गरिएको जानकारी दिए ।

‘यो संकटबाट अन्य क्षेत्रसँगै हाम्रो खेल पनि कसरी प्रभावित भइरहेको छ भन्ने कुरा हामीले बुझेका छौँ,’ उनले भने, ‘त्यसले यस विषयमा छलफल गर्दा सबै खेलाडीहरूले सही निर्णय हुने सुझाब दिए । सबैजना सहयोग गर्न तयार भए । हामी अझै कसरी सहयोग गर्न सक्छौँ भन्ने विषयमा इसिबीसँग छलफल गर्नेछौँ ।’

खेलाडीहरूले सामूहिक सहयोग गर्नुपूर्व व्यक्तिगत रूपमा पनि विभिन्न तरिकाबाट सहयोग गर्दै आइरहेका छन् । जोस वटलरले इंग्ल्यान्डले गत एकदिवसीय विश्वकपको उपाधि जित्दा आफूले लगाएको जर्सी अक्सनमा राखेर सहयोग रकम जुटाउने प्रयास गरेका छन् । यस्तै, अर्का खेलाडी साम कुरानले पनि सहयोग संकलन अभियान सुरु गरेका छन् ।