मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २२ शनिबार २२:००:००
Read Time : < 1 मिनेट
अर्थ

दैनिक ज्याला–मजदुरी गर्नेलाई खाँदबारी नगरपालिकाको राहत प्याकेज

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार २२:००:००

कोराेना भाइरस (कोभिड– १९)को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला–मजदुरी गर्ने तथा अतिविपन्न परिवार समस्यामा परेको भन्दै खाँदबारी नगरपालिकाले राहत प्याकेज वितरण गर्न थालेको छ ।

दैनिक ज्याला–मजदुरी गर्ने र विपन्नको घरधुरी पहिचान गरेपछि नगरपालिकाले नगरका ११ वटै वडामा राहत प्याकेज वितरण गर्न थालेको हो । नगरपालिकाले चारजनासम्मको परिवारलाई १० र सोभन्दा बढी भएको परिवारलाई १५ केजी चामल, दुई केजी दाल, एक केजी नुन, एक लिटर तेल र एक केजी न्युटेला वितरण गरेको छ ।

खाँदबारी– ४ का वडाध्यक्ष सजित राईले आफ्नो वडाका एक सय २८ परिवारलाई राहत प्याकेज उपलब्ध गराइएको भन्दै नियमित साबुनपानीले हात धुनसमेत आग्रह गर्ने गरिएको बताए । त्यस्तै, लकडाउनको पूर्ण पालना गर्न, परिवारमा विदेशबाट आएका कोही भए तोकिएको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्य समस्या देखिए तत्काल जाँच गराउन पनि आग्रह गर्ने गरिएको उनको भनाइ छ ।

नगरप्रमुख मुरारीप्रसाद खतिवडाले प्रत्येक वडामा पहिलो चरणमा जनचेतनाको कार्यक्रम सकाएर दोस्रो चरणअन्तर्गत राहत वितरणको काम अघि बढाइएको बताए । नगरपालिकाले राहत वितरणको पहिलो प्याकेजअन्तर्गत वडा नं. १ र ९ लाई ७५ हजार तथा अन्य वडालाई ५० हजारबराबरको राहत सामग्री उपलब्ध गराएको छ । नगरका ११ वटै वडाका गरी एक हजार पाँच सय ११ परिवारलाई राहत वितरण गरिने भएको छ ।