१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
त्रिनगर नाकामा घर फर्कनेको भीड । फाइल तस्विर ।
मोहन विष्ट कञ्चनपुर
२०७६ चैत २२ शनिबार १९:२९:००
Read Time : > 3 मिनेट
पालिका अपडेट

भारतबाट फर्कनेहरूको भिडमा थिए कोरोना संक्रमित

Read Time : > 3 मिनेट
२०७६ चैत २२ शनिबार १९:२९:००

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगेको छ । शनिबार थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यसअघि गत साता दुबईबाट फर्केका धनगढीका एकजनामा कोरोना संक्रमण देखिएको थियो । विदेशबाट संक्रमित भएर आएकाबाट अन्यमा सरेको पहिलो केस पनि यहीँ देखिएको छ ।

संक्रमण देखिएका तीनजनामध्ये दुईजना भारतबाट फर्केका हुन् । उनीहरू लकडाउनकै समयमा भारतबाट स्वदेश फर्किने सयौँको भिडमा लामो समय नाकामा थुनिएको खुलेको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय संक्रमित युवा १२ चैतमा भारतबाट घर फर्किरहेका अन्य एक हजारजनासँगै झन्डै २४ घन्टा धनगढीको त्रिनगर नाकामा रोकिएका थिए ।

लकडाउनको समयमा ११ चैतको बेलुकीबाट त्रिनगर नाकामा पुगेकालाई प्रहरीले दोस्रो दिन रातिसम्म नाकामा रोकेर राखेको थियो । स्थानीय प्रशासनले बसको व्यवस्था गरेर सीमामा रोकिएका ती युवासँगै अन्य नौ सय ९९ जनालाई १२ चैतको राति गन्तव्यमा पठाएको थियो । संक्रमित युवा भारतबाट फर्केका लम्की क्षेत्रका अन्य स्थानीयसँगै १२ चैतको राति १० बजे बस चढेर गन्तव्य पुगेका थिए ।

स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै नाकामा रोकिएकाहरूले १२ चैतको बिहान त्रिनगर नाकामा नाराबाजीसमेत गरेका थिए । उनीहरूले ढुंगामुडा प्रहार गर्न थालेपछि रोक्न प्रहरीले बल प्रयोग गर्नुपरेको थियो भने केही भाग्दै मोहना नदी तरेर धनगढी पुगेका थिए । सोही भिडमा ती संक्रमित युवा पनि थिए । उक्त दिन नाकामा रोकिएका कैलालीका दुई सय ९१ जनामध्ये लम्की, टीकापुर क्षेत्रकालाई चारवटा बसमा राखेर पुऱ्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । 

संक्रमित युवा चढेको बसका अन्य यात्रुको पनि पहिचान गरेर खोजी थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । प्रहरीका अनुसार फर्केको दिन राति घर गएका ती युवा दोस्रो दिन बिहानबाट स्थानीय सरस्वती माविमा बनाइएको क्वारेन्टाइनमा अन्य ४४ जनासँगै बसेका थिए । मुम्बईबाट नाकासम्म र नाकाबाट घरसम्म उनीसँग सम्पर्क भएर फर्किएका व्यक्ति तथा उनको सम्पर्कमा आएका परिवारका सदस्यको पहिचान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै संक्रमण भेटिएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय एक व्यक्ति पनि समूहमै स्वदेश फर्किएकाे खुलेको छ । कोराेना संक्रमण फैलिन नदिन भारतमा २१ दिन लामो लकडाउनले कामकाज बन्द भएपछि उनीसँगै ११ जना नेपाल फर्किएका प्रहरीले जनाएको छ । उनी एक महिनाअघि मात्रै भारतको उत्तराञ्चल प्रदेशको चम्पावतमा मजदुरी गर्न गएका थिए ।

लकडाउनकै समयमा सीमा बन्द भएकाले उनीहरू अवैध रूपमा नेपाल भित्रिने क्रममा समातिएका थिए । सशस्त्र प्रहरीको टोलीले भीमदत्त नगरपालिका– ९, ब्रह्मदेव क्षेत्रबाट उनीसँगै ११ जनालाई नियन्त्रणमा लिएर वेदकोट नगरपालिका– ९ सुन्दरपुर कृषि भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखेको थियो ।

लकडाउन तोड्दै नेपाल प्रवेश गरेका ११ जनालाई सीधै क्वारेन्टाइनमा लगिएको सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बताए । संक्रमितसहितका ११ जनालाई पक्राउ गरेर ल्याउने सशस्त्र प्रहरीको समेत स्वास्थ्य परीक्षण गरिने प्रहरी उपरीक्षक साहुले बताए । सुन्दरपुर कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा संक्रमितसँगै आएका ११ सहित १३ जना बस्दै आएका थिए । घर फर्कने क्रममा उनी थुप्रैको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

स्थानीयमा सरेको पहिलो केस
दुबईबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवाका परिवारका एकजना सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  उनकी भाउजूमा संक्रमण देखिएको हो । संक्रमित परिवारका सदस्यमा देखिएसँगै नेपालमा पहिलोपटक विदेशबाट आएकाबाहेकमा संक्रमण भेटिएको हो ।

ती महिलामा कोरोनाको कुनै लक्षण भने नदेखिएको चिकित्सक र परिवारका सदस्यले बताएका छन् । गत १३ चैतमा ती युवामा संक्रमण भेटिएको परिवारका आठजना सदस्य र संक्रमित युवाको सम्पर्कमा आएका एक गरी नौजनालाई क्वारेन्टाइनमा राखिएको थियो । तर, कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने गरी दुई दिनपछि घर पठाइएको थियो ।

कुनै लक्षण नदेखिएकाले जाँच गर्न नमिल्ने भन्दै कसैको पनि नमुना संकलन गरिएको थिएन । तर, परिवारका सदस्यको पनि नमुना जाँच हुनुपर्ने कुरा उठेपछि गत बुधबार उनीहरूको नमुना संकलन गरेर काठमाडौं पठाइएको थियो । परिवारका अन्य सदस्यको नमुना भने नेगेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीशप्रसाद जोशीले बताए । संक्रमित महिलामा पनि कोरोनाको कुनै लक्षण नदेखिएको डाक्टर जोशीले बताए । 

नयाँ भेटिएका तीनैजना संक्रमितलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । कोरोना संक्रमणको पुष्टि भएसँगै तीनैजनालाई शनिबार बिहान अस्पताल ल्याइएको हो । दुबईबाट फर्किएका संक्रमित युवाको पनि सेतीमै आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अन्य संक्रमितको अवस्था पनि सामान्य रहेको डाक्टर जोशीले बताए ।

डेढ लाख भित्रिए, २३ सयमात्र क्वारेन्टाइनमा
सुदूरपश्चिममा भारतबाट फर्केको ठूलो संख्या क्वारेन्टाइनमा बसेको छैन । कोरोना भाइरसका कारण कार्यस्थल बन्द भएपछि र कोरोनाको त्रासले लकडाउनअघि भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा हजारौँ भित्रिएका थिए । 

उनीहरूसँगै कोरोना संक्रमण भित्रिएको हुन सक्ने भएकाले सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् । भारतबाट फर्केकामा कोरोना देखिनुले पनि संक्रमितहरू अझ हुन सक्ने अनुमान गरिएको छ । 

२३ फागुनदेखि ८ चैतसम्म सुदूरपश्चिमका विभिन्न नाकाबाट एक लाख ४३ हजार तीन सयजना भित्रिएको प्रदेश सरकारको तथ्यांक छ । ८ गतेपछि पनि चार–पाँच हजारको संख्यामा भित्रिएका छन् । भित्रिनेमध्ये अधिकांश सुदूरपश्चिमका हुन् ।   तर, हालसम्म प्रदेशभर दुई हजार तीन सय १५ जना मात्र क्वारेन्टाइनमा बसेका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।

लकडाउनकै अवधिमा भित्रिएका कतिपय क्वारेन्टाइनमा नबसेकाे उनले बताए । थप तीनजना संक्रमित भेटिएपछि सरकारले लकडाउनको अवधिमा भारत र अन्य देशबाट हालै फर्केका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । मन्त्री सुवेदीले यसका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूलाई व्यवस्था गर्न भनिएको बताए ।

कोरोना भित्रिन नदिन सीमानाकाहरूमा हेल्थ डेस्क स्थापना गरिएका थिए । तर, ज्वरो नापिएका आधारमा भारतबाट फर्केकालाई घर जान दिइएको थियो । प्रदेशमा करिब डेढ सयको मात्र नमुना परीक्षण भएको छ ।  

विज्ञ चिकित्सक र स्वास्थ्य सामग्री दिन संघीय सरकारसँग माग
थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि औषधिउपकरण, स्वास्थ्य सामग्री, विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गर्न संघीय सरकारसँग माग गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा प्रदेशमा रहेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशन समितिको बैठकले विज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकारमार्फत संघलाई आग्रह गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितको उपचारका लागि प्रदेशमातहतका प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरूमा चिकित्सकसहितको मेडिकल स्वास्थ्य टिम निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।