मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १७:४१:००
Read Time : < 1 मिनेट
समाचार

राजपा सहमहामन्त्री झाको अपिल– सेनालाई विवादमा नतानौँ, भ्रष्टाचारमा खबरदारी गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १७:४१:००

राजपा नेपालका सहमहामन्त्री डा. सुरेन्द्रकुमार झाले औषधि तथा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारी निर्णय अहिलेको राजनीतिक र प्रशासनिक अक्षमताको उपज भएको बताएका छन् । 

झाले शनिबार वक्तव्य जारी गरी सेनाले सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने, तर यस विषयमा सेनालाई  विवादमा तान्न नहुनेसमेत जिकिर गरेका छन् । उनले भनेका छन्– नेपालका सेनाको विश्वमा सम्मानित व्यावसायिक छवि रहेको छ । सेनाभित्र शुद्धीकरण तथा बाह्य छविमा निखार ल्याउने भरमग्दुर प्रयास हुँदै आएको छ। राम्रो काम गर्नेलाई निरुत्साहित नगरौँ ।

झाले राजनीतिक आवरणको एउटा जत्था वर्षौंदेखि सेनाको बदनामीका निम्ति नियोजित रूपमा खटेको भन्दै सेनाको बचाउ गरेका छन् । उनले भनेका छन्, 'हरेक विपत्तिको समयमा सेनाको भूमिका अग्रणी रहँदै आएको छ र कोरोना नियन्त्रणमा पनि स्वास्थ्यकर्मीपछि उसैको भूमिका महत्वपूर्ण हुने हो।  सेनाले स्वास्थ्य उपकरणको नाममा व्यापार गर्ने उद्देश्य राखेको बुझिँदैन, तर सरकारले विपत्तिको घडीमा सहयोग लिन खोज्दा उसले पन्छिन सक्दैन ।' उनले  सेनालाई विवादमा तान्ने, अनावश्यक रूपमा जिस्क्याउने या उसलाई तेजोबध गर्ने कार्य स्वीकार्य नहुनेसमेत वक्तव्यमा भनेका छन् । उनले थपेका छन्, 'हरेक विपत्तिमा नेपालीको भरपर्दो सहारा सेना हो भन्ने नभुलौँ।'

अहिलेको राजनीतिक र प्रशासनिक अक्षमता तथा भ्रष्टाचारप्रति निरन्तर खबरदारी र प्रहार गर्न पनि उनले आग्रह गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाबारे पनि कटाक्ष व्यक्त गरेका छन् । सहमहामन्त्री डा. झाले राष्ट्रपति  भण्डारी महारानी बन्ने लहडमा रहेकोप्रति संकेत गर्दै संविधानबमोजिम राजनीतिक पद्धति अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सहमहामन्त्री झाले राष्ट्रपति भण्डारीलाई दशगजामा अलपत्र परेका र देशभित्रका गरिब निमुखा नेपालीबारे चिन्ता गर्नसमेत आग्रह गरेका छन् ।