मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २२ शनिबार १७:३१:००
Read Time : > 1 मिनेट
समाचार

लकडाउनमा घरघरमा तरकारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २२ शनिबार १७:३१:००

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति सिर्जना हुन थालेपछि भक्तपुरका युवाले उपभोक्ताको घरघरमा तरकारी पुऱ्याउन थालेका छन् ।

भक्तपुरका अगुवा कृषकहरू यतिवेला किसानको बारीमा गएर तरकारी संकलन गर्ने र उपभोक्ताको घरघरमा पुऱ्याउने काममा व्यस्त बनेका हुन् । उनीहरूलाई प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने, संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घरघरमा पुऱ्याउने काम भ्याइनभ्याई छ । आफूहरूले टोलटोल पुगेर बिक्री गर्ने तरकारी बजारमूल्यभन्दा ३० प्रतिशतसम्म सस्तो पर्ने दाबी उनीहरूको छ । किसान प्रचण्ड प्रधानले कालिमाटीको तरकारी बजारको मूल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरी सीधै उपभोक्ताकोमा पुऱ्याउने गरेको बताए ।

‘भक्तपुरका कृषकले उत्पादन गरेका तरकारी हामी संकलन गर्छौं,’ उनले भने, ‘सय–पचास कतिकति हुन्छ । हाम्रो ढुवानी भाडा पनि जोड्छौँ ज्याला पनि जोड्छौँ । अनि खुद्रा पैसाको जोहो गर्न नपर्ने गरी ठिक्क पचासको–सयको प्याकेट बनाउँछौँ ।’

खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु प्याजमा १० देखि १२ प्रतिशत नाफा राखेर यी युवाले उपभोक्ताको हातसम्म तरकारी पुऱ्याउने गरेका छन् । उनले अहिले चाँगुनारायण र सूर्यविनायक नगरपालिका तथा वडाका पदाधिकारीसँग समन्वय गरेर तरकारी टोलटोलमा पुऱ्याउने गरिएको पनि बताए । लकडाउनको निर्णयसँगै किसानको तरकारी बारीमा नै कुहिने, उपभोक्ताले खान नपाउने परिस्थिति उत्पन्न भएपछि यस्तो अवधारणा विकास भएको अर्का अगुवा कृषक कुलबहादुर नेमाफुकीले बताए ।

तरकारी बोकेको गाडी स्थानीय पदाधिकारी र स्वयंसेवकहरूसँगको समन्वयमा टोलटोलमा पुग्छ । अनि १–१ मिटरको दूरीमा रहेका उपभोक्तालाई प्याकेजिङ गरेको तरकारी दिने गरिन्छ । बिहान–साँझ उपभोक्ताको घरघरमा पुऱ्याउने तरकारी वितरणमा पनि यो समूहले थप सतर्कता अपनाएको छ । तरकारीमा विषादी छर्दा लगाउने रेनकोटजस्तो पोसाक, पन्जा, मास्क लगाएर तरकारी वितरण गर्ने गरिन्छ ।

अगुवा कृषक प्रेमनारायण अधिकारीले टोलटोलमा तरकारी पुऱ्याउने कामले किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीचको अन्तरलाई कम गर्नुको साथै दुवै पक्षलाई फाइदा पुगेको बताए ।

तरकारी टोलटोलमा पुऱ्याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष शनिस लागेजूले संकटलाई अवसरको रूपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताको हातहातमा तरकारी पुऱ्याउने काममा जुटेको बताए । कोरोना भाइरसको संक्रमणको त्रास सर्वत्र भइरहेका वेला अन्य कर्मचारी राख्दा आउन सक्ने समस्या र टीकाटिप्पणीका कारण संस्थाका अध्यक्षदेखि पदाधिकारी आफैँ नै यो काममा खटिएको उनले बताए ।