१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २२ शनिबार १७:१३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

सिराहामा एक सय २७ जना क्वारेन्टाइनमा

Read Time : > 1 मिनेट
२०७६ चैत २२ शनिबार १७:१३:००

कोरोना भाइरस (कोभिड– १९)को संक्रमण फैलिन नदिन सिराहाका १७ मध्ये १४ स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा शनिबार दिउँसोसम्म एक सय २७ जनालाई राखिएको छ । क्वारेन्टाइनमा राखिएकामध्ये १० जना महिला छन् ।

स्थानीय तहले सञ्चालन गरेका संस्थागत क्वारेन्टाइनबाहेक १३ स्थानीय तहमा ७७ जना होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ । क्वारेन्टाइनमा राखिएकाहरू प्रायः छिमेकी मुलुक भारतका विभिन्न प्रान्त र  कतार, मलेसिया तथा कुवेतबाट आएकाहरू रहेको कोरोना संयुक्त सिचुएसन सेन्टर सिराहाका सदस्य भेक्टर कन्ट्रोल अधिकृत अन्देश्वर चौधरीले जानकारी दिए ।

मिर्चैया नगरपालिकाले स्थानीय मारुती र होलिडे होटेलमा सञ्चालन गरेको क्वारेन्टाइनमा तीनजना राखिएको स्वास्थ्य शाखा प्रमुख सुरेशकुमार सिंहले बताए । उनले भने, ‘भारतबाट आएका तीनजनालाई मारुती होटेलको क्वारेन्टाइनमा राखेका छौँ ।’

गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार गोलबजार– ४ स्थित स्थानीय जनता नमुना माविको क्वारेन्टाइनमा २४ जना राखिएको छ । भारतको नोयडाबाट आएका नगरका विभिन्न वडाका २२, धनुषाको कमलामाईका एक र महोत्तरी समसीका एक गरी २४ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख कर्णले बताए ।

सिराहा नगरपालिका– १७ माडरस्थित ब्रजमोहन झब्बुराम माविमा चार, सुखीपुर उमाविमा नाै, लहान– १२ स्थित मावि पडरिया थारुटोलमा पाँच, धनगढीमाईको नयनपुर स्वास्थ्य चौकीमा एक, कर्जन्हास्थित जनसेवा माविमा १०, कल्याणपुरको स्वास्थ्य चौकीमा एकजना शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको सेन्टरले जनाएको छ ।

त्यसैगरी जिल्लाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका– ३ आभेनगरस्थित आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा ३५ जना राखिएको छ । नरहाको जनता माविमा एक, सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीस्थित माविमा पाँच, नवराजपुरको जनता मावि सोनवर्षामा ६, लक्ष्मीपुरपतारी– १ स्थित स्वास्थ्य चौकी भवनमा १७ र अर्नमाको क्वारेन्टाइनमा दुईजना राखिएका छन् ।

ज्वरो आएका युवक जनकपुर रेफर
एक सातादेखि ज्वरो र रुघाखोकी लागेकी लहान– २२ का २३ वर्षीय युवकलाई कोरोनाको आशंकामा जाँचका लागि शनिबार दिउँसो जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ । लहान स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवका अनुसार काठमाडौंमा बसेर एमबिबिएसको तयारी गरिरहेका उनी ज्वरो आएपछि लहान– १२ स्थित नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्दै आएक थिए ।

‘उनलाई जाँचका लागि धनगढीमाई– ११ स्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पताल पठाएका थियौँ,’ यादवले भने, ‘त्यहाँका चिकित्सकले जनकपुर पठाउन सिफारिस गरेपछि एम्बुलेन्समा हालेर पठाइएको हो ।’ यसअघि दुबईबाट आएका औरही गाउँपालिका– ५ का ३५ वर्षीय एक युवालाई कोरोना संक्रमणको आशंकामा जाँचका लागि जनकपुर लगिएको थियो । तर, उनको काठमाडौंमा गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।