कोरोना भाइरसको महामारीसँगै व्यापार घाटामा जाने देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कम्पनी ‘ट्रम्प अर्गनाइजेसन’का १५ सय कर्मचारी हटाइएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पको व्यक्तिगत व्यापारमा घाटा हुने भएपछि ट्रम्प संगठनका अमेरिका र क्यानडास्थित होटेलका ती कर्मचारी हटाइएका हुन् ।
संक्रमणबाट जोगिन घरमै बस्नुपर्ने अवस्था आएसँगै विश्वका सबैजसो होटेल, क्लब, रेस्टुरेन्टहरू पनि बन्द भएका छन् ।
न्युयाेर्क, कोलम्बिया, मियामी, सिकागो, लासभेगस, होनोलुलुलगायतका ठाउँमा रहेका १७ होटेलका कर्मचारी हटाइएको हो । ती कर्मचारीलाई स्थिति सामान्य भएपछि फेरि राखिने गरी अस्थायी रूपमा हटाइएको हो ।
ट्रम्प संगठनका सबै कम्पनीबाट दैनिक ट्रम्पले ६ लाख ५० हजार अमेरिकी डलर आम्दानी गर्थ्याे । जुन करिब आठ करोड नेपाली रुपैयाँ हुन्छ ।
यो तथ्यांक ट्रम्पका विगतका वित्तीय कारोबारको खुलासाअनुसार हो ।
ट्रम्प संगठनले पनि आर्थिक हिनामिना गरिरहेको वेलावेला खुलासा हुँदै आएको छ ।
फ्लोरिडा राज्यको पाल्म बीच क्षेत्रमा रहेको ट्रम्पको एक क्लबले ५४ हजार अमेरिकी डलरभन्दा बढी भाडा त्यहाँको स्थानीय सरकारलाई नतिरेको त्यहाँका एक अधिकारीले न्युयाेर्क टाइम्सलाई बताएका छन् ।
ट्रम्प संगठनले भने कोरोना भाइरसको महामारीको अवस्थामा रहेकाले भाडा तिर्न बाँकी रहेको जनाएको छ ।
(एजेन्सी)