मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २२ शनिबार १५:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विदेशबाट आएका १२ सय १३ आफ्नै घरमा : दुई सय ४३ मात्र क्वारेन्टाइनमा

Read Time : > 1 मिनेट
२०७६ चैत २२ शनिबार १५:४९:००

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन दैलेखका ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । छिमेकी मुलुक भारतलगायत विदेशका अन्य मुलुकबाट दैलेख प्रवेश गर्नेहरूको संख्या बढेसँगै  सतर्कतामा चुनौती बढेको हो । भारतका विभिन्न स्थानबाट दैलेख आएका दुई सय ४३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । १२ सय १३ जना आफ्नै घरमा बसेका छन् । घरमा बसेकालाई सतर्कता अपनाउन भनिएको छ । 

कामको खोजीमा भारत जानेहरूको संख्या दैलेखमा धेरै छ । भारतबाट आएका व्यक्तिमा पनि कोरोना संक्रमण भएको पुष्टि भएसँगै अधिकांश भारत जानेमध्ये पर्ने दैलेखको पश्चिम क्षेत्र चामुन्डा बिन्द्रासैनी नगरपालिका र आठबिस गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दैलेखको आठबिस नगरपालिकामा तीन सय ७३ जना भारतबाट आएका छन् । ती मध्ये ८२ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । 

दुल्लु नगरपालिकामा आएका दुई सय २० जनामध्ये २० जनालाई क्वारेन्टाइनमा राखिएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा आएका एक सय २० जनामध्ये सबैलाई नगरपालिकाले विभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको र सबै नागरिकको खाना, उपचारको व्यवस्थापन नगरपालिकाले नै गरेको नगरप्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए ।  

ठाँटीकाध गाउँपालिकामा एक सय ५७, महावु गाउँपालिकामा ५०, भैरवी गाउँपालिकामा ६८, नौमूले गाउँपालिकामा ७०, भगवतीमाई गाउँपालिकामा ८४, गुराँस गाउँपालिकामा एक सय २१ जना छन् । विभिन्न पालिकारूबाट थप विवरण संकलन कार्यलाई अझै तीव्रता दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । 

जिल्लाका विभिन्न पालिकामा क्वारेन्टाइनमा रहेकाको अवस्था विश्लेषण गर्न जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय दैलेखका डाक्टर, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त टोलीले औषधिसहित विभिन्न स्थानमा पुगेर स्थलगत अनुगमन गरेको छ ।

आठबिस नगरपालिका– १ मा रहेका ४० जना भारतबाट आएका कामदारलाई वडाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेहरू नै भागेर गाउँ पस्न थालेपछि समस्या उत्पन्न भएको र उनीहरूलाई सहजीकरण गरेर आफू, आफ्नो परिवारको रक्षाका लागि बस्न आग्रह गरिएको आठबिस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।  

सुरक्षा सतर्कताका लागि दैलेख जिल्लाभर सात सय ३७ क्वारेन्टाइन निर्माण सम्पन्न भइसकेको छ । ७७ वटा आइसोलेसन वार्डसमेत तयारी भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।