मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७६ चैत २२ शनिबार ०९:२२:००
Read Time : > 4 मिनेट
पालिका अपडेट

कोरोना नियन्त्रणमा के गर्दै छन्  राजधानीका नगरपालिका ?

Read Time : > 4 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७६ चैत २२ शनिबार ०९:२२:००

कोरोना संक्रमण नियन्त्रण गर्न काठमाडौंका सबै स्थानीय तहले सक्रियता बढाएका छन् । काठमाडौंका १० वटै नगरपालिकाले कोरोनाको रोकथाम र संक्रमण फैलिन नदिन भाइरस निष्क्रिय बनाउने डिसइन्फेक्ट स्प्रे छर्किन थालेका छन् । लगभग सबै नगरले आइसोलेसन बेड र क्वारेन्टाइनको व्यवस्था गरिसकेको जनाएका छन् ।

नगरपालिकाहरूले विदेशबाट आएकाको र विपन्न तथा ज्याला मजदुरीबाट पेट पाल्नेहरूको तथ्यांक संकलन गरिरहेका छन् । साथै, नगरप्रमुख तथा उपप्रमुखहरूले केही जिम्मेवारी वडालाई दिई कोरोनासम्बन्धी जनचेतना फैलाइरहेको बताएका छन् । आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलेसन बेडको व्यवस्था गरिरहेको उनीहरूको भनाइ छ । विदेशबाट आउने र ज्याला मजदुरी गर्नेको लगत संकलनमा जनप्रतिनिधि खटिएका छन् भने केहीले नगरवासीको इच्छाअनुसार घर पठाउने काम पनि थालेका छन् । 

चन्द्रागिरि नगरपालिकाले उपत्यकाबाहिर जान चाहनेका लागि व्यवस्था गरिदिएको जनाएको छ । नगरप्रमुख घनश्याम गिरीले भने, ‘यहाँका मजदुर, जो जान चाहन्छन्, उनीहरूलाई हामीले मालबाहक गाडीमा पाससहित पठाइदिने गरेका छौँ । यहीँ बस्न चाहनेलाई राहतको व्यवस्था गर्दै छौँ ।’

लगत संकलनमा भ्याइनभ्याई

लकडाउन घोषणापछि वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि फिल्डमा खटिएका छन् । डिसइन्फेक्ट स्प्रे छर्किने काममा पनि उनीहरू प्रत्यक्ष संलग्न भइरहेका छन् । ‘अत्यावश्यकभन्दा बाहेकका सेवा दिइरहेका छैनौँ,’ शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले भने, ‘जनप्रतिनिधि आफैँ टोल–टोलमा विदेशबाट आउने र विपन्नको तथ्यांक लिन खट्नुभएकाले कार्यसम्पादनमा प्रभाव पर्नु स्वाभाविक हो । विपन्नलाई फारम भर्न मंगलबारसम्मको समय दिइएको छ । 

३० हजार हाराहारी जनसंख्या भएको उक्त नगरपालिकामा झन्डै डेढ दर्जन व्यक्ति विदेशबाट आएको तथ्यांक छ । उनीहरू नेपाल फर्केको लामो समय भइसकेको र अहिलेसम्म कोरोनासँग मिल्दोजुल्दो लक्षण कतै नदेखिएको मेयर श्रेष्ठले बताए । 

टोखा नगरपालिकामा पनि लकडाउनपछि गम्भीर रोग लागेको व्यक्तिका लागि सहयोगको सिफारिस गर्नेभन्दा बाहेकका काम भएका छैनन् । मेयर प्रकाश अधिकारीले मुटु तथा मिर्गाैलारोगीहरूका लागि सिफारिस दिने काम भइरहेको जनाए । नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले भनिन्, ‘हाम्रा ११ वटै वडा खुलै छन् । तर, सेवाग्राही पनि नआएकाले अत्यावश्यकभन्दा बाहेकका काम हुन सकेका छैनन् । दिनहुँ केही सवारीसाधनलाई पासका लागि सिफारिस दिने गरेका छौँ ।

स्वास्थ्य सुरक्षा उपकरणको अभाव

वडावासीलाई सचेतना फैलाउन टोलटोलमा हिँडिरहेका जनप्रतिनिधिलाई सुरक्षाको जोखिम छ । कतिपय नगरले सुरुमै पर्याप्त संख्यामा पिपिई, थर्मल गनजस्ता सामग्री खरिद गरेका छन् । धेरैजसो स्थानीय तहले पाउन सकेका छैनन् । ‘हामीसँग सिमाना जोडिएका सबै स्थानमा हामीले चेकजाँचको व्यवस्था गरेका छौँ । तर, हामीसँग थर्मल गनको अभाव भएकाले त्यो प्रभावकारी नहुने हो कि भन्ने शंका छ,’ तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल धितालले भनिन् । उनका अनुसार पिपिई, मास्क, पन्जाजस्ता सामग्री नगरपालिकाले सुरुमै खरिद गरेको थियो । त्यसैले स्वास्थ्यकर्मी घरदैलोमै गएर कोरोना संक्रमितको जाँच गरिरहेका छन् । तर, परिमाण अपर्याप्त रहेकाले पुनः खरिद गर्नुपर्नेछ । तर, बजारमा अभाव छ । 

शंखरापुरमा पनि अवस्था यस्तै छ । नगरप्रमुख श्रेष्ठका अनुसार मुख्य दुई स्थान इन्द्रायणी र जहरसिंह पौवामा स्वास्थ्य जाँच थालिएको छ । ‘स्वास्थ्य सामग्री अभाव छ । निश्चित दूरीबाट स्वास्थ्यकर्मीले जाँच गरिरहेका छन्,’ श्रेष्ठले भने । अहिले नगरसँग चार पिपिई रहेको उनले जानकारी दिए । यता, टोखामा भने स्वास्थ्य सामग्री लकडाउनको भोलिपल्दै खरिद गरेर वितरण गरिसकेको मेयर अधिकारीले बताए । नागार्जुनले पनि वेलैमा यस्ता सामग्री खरिद गरेकाले अभाव नभएको उपप्रमुखको भनाइ छ । उनले भनिन्, ‘फिल्डमा खटिने स्वास्थ्यकर्मी र जनप्रतिनिधि सबैलाई स्वास्थ्य सामग्री हामीले लकडाउन हुनुअगाडि नै किनेका थियौँ । तर, हामीसँग थर्मल गन आवश्यक संख्यामा छैन ।’

बुढानीलकण्ठमा छैन एउटै थर्मल गन

बुढानीलकण्ठमा भने थर्मल गन एउटा पनि छैन । नगरप्रमुख उद्धवप्रसाद खरेलको भनाइमा ‘ब्लाक’बाट जसोतसो एउटा थर्मल गन जोहो गरे पनि त्यो पर्याप्त छैन । १३ वडा र एक लाखभन्दा बढी जनसंख्या रहेको नगरमा त्यो संख्याले स्वास्थ्य परीक्षण गर्न नसकिने उनले बताए । 

कीर्तिपुर नगरपालिकाले भने पिपिई सेट नगरभित्रै उत्पादन गरेर स्वास्थ्यकर्मीलाई वितरण गरेको छ । उपप्रमुख सरस्वती खड्काले भनिन्, ‘हामीले नगरकै अस्पतालसँग जानकारी लिएर यहीँ मेडिकलसँग सम्बन्धित कपडा बनाउने उद्योगलाई ३० सेट पिपिई बनाउन लगायौँ ।’

यसैगरी, दक्षिणकाली नगरपालिकाले नगरभित्रै मास्क उत्पादन गरेर वितरण गरेको जनाएको छ । एक गार्मेन्टमार्फत उत्पादन गरी नगरवासीलाई वितरण गरिएको उपमेयर तामाङको भनाइ छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले ४० थान पिपिई नगरमा खटिएका स्वास्थ्यकर्मीलाई वितरण गरिएको जानकारी दिए । मास्क, स्यानिटाइजरजस्ता सामग्री पनि पर्याप्त रहेका छन् । 

 ‘नक्कली’ राहत लिन आउनेको घुइँचो 

स्थानीय सरकारमार्फत विपन्न तथा दैनिक ज्यालामा काम गर्नेलाई राहत दिने घोषणापछि वडा कार्यालयमा घुइँचो बढेको छ । कतिपयले यसको फाइदा उठाइरहेको जनप्रतिनिधि बताउँछन् । ‘विपन्नको लगत संकलन कार्य भइरहेको छ । तर, केहीले यसलाई भूकम्पको झैँ अवस्था मानिरहनुभएको छ,’ दक्षिणकालीकी उपमेयर तामाङले भनिन्, ‘अहिले प्रत्येक वडामा आठदेखि १६ जना त्यस्ता मान्छे भेटेका छौँ । धेरैले राहतको फाइदा उठाउन लागेकोझैँ देखिएको छ ।’

बुढानीलकण्ठका प्रमुख उद्धवप्रसाद खरेलको अनुभव पनि त्यस्तै छ । सरकारले राहत घोषणा गरेको जानकारी पाएपछि वडा कार्यालयमा हुलका हुल मान्छे एकाबिहानैदेखि जम्मा हुने गरेका छन् । सबै विपन्न र मजदुरको मापदण्डभित्र नपर्ने भए पनि राहत पाउनुपर्ने भन्दै धाइरहेको उनले बताए । ‘कहाँ–कहाँका मान्छे आइरहेका छन् । नगरभित्र बसेको प्रमाण नै छैन । घरबेटीसँगको सम्झौता वा कागजात नभएका धेरै छन् ।’

खुल्न चाहँदैनन् विदेशबाट फर्किनेहरू

विदेशबाट फर्किनेहरू नगरको सम्पर्कमा आउन नचाहेको जनप्रतिनिधिको अनुभव छ । कतिपयकाबारेचाहिँ छिमेकीले नगरलाई जानकारी दिने गरेका छन् । दक्षिणकालीकी उपमेयर तामाङले बाहिरबाट आउनेहरूबारे नगरले जानकारी पाएपछि घरमै पुगेर ज्वरो नाप्ने गरेको बताइन् । ‘विदेशबाट फर्किएको भनेपछि छिमेकी पनि डराउँछन् । त्यसैले, हामीलाई फोन गर्नुहुन्छ, अनि स्वास्थ्य टोली गएर जाँचेर आउँछ,’ उनले भनिन् । बुढानीलकण्ठ नगरपालिकामा ८० जना विदेशबाट फर्किएका सेल्फ क्वारेन्टाइनमा छन् ।

राहत वितरणमा एकरूपता ल्याइने

काठमाडौं उपत्यकाका नगरपालिकाले अतिविपन्न, असहाय र मजदुरलाई लकडाउन अवधिमा वितरण गरिने राहतमा एकरूपता ल्याउने भएका छन् । उपत्यका नगरपालिका फोरमले उपत्यकाको आपूर्ति तथा राहत वितरणमा एकरूपता कायम गर्ने निर्णय गरेको हो । 

अर्थ मन्त्रालयले बुधबार जारी गरेको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय वर्गलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्डअनुसार राहत वितरण गर्नेे निर्णय भएको फोरमका संयोजक तथा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । फोरमले उपत्यकाभित्रका दुई महानगर र १६ नगरपालिकालाई सर्कुलरसमेत जारी गरेको छ । प्रमुख शाक्यका अनुसार गृह, संघीय मामिला, आपूर्तिमन्त्रीलगायतसँग भएको छलफलपछि फोरमले काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहमा एकै किसिमको राहत वितरण गर्ने व्यवस्था मिलाउन सहमति गरेको हो । 

यस्तो छ राहत प्याकेज

सरकारले यसअघि नै दुईवटा प्याकेजमा राहत वितरण गर्ने निर्णय गरेको थियो । शुक्रबारबाटै दुईजनासम्मको परिवारलाई एउटा प्याकेज र तीन वा सोभन्दा माथिलाई अर्को प्याकेजमा राहत वितरण सुरु भएको छ । दुईजनासम्मको परिवार भएकाले चामल १५ केजी, दाल १.५ केजी, नुन एक केजी, खानेतेल एक लिटर, चिनी एक केजी र साबुन एकवटा प्राप्त गर्नेछन् । यस्तै, तीनजनाभन्दा माथि परिवारसंख्या भएकालाई चामल ३० केजी, दाल तीन केजी, नुन दुई केजी, खानेतेल दुई लिटर, चिनी दुई केजी र साबुन चारवटा वितरण गरिनेछ ।