मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डायने कोयल
२०७६ चैत २२ शनिबार ०८:०६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

राष्ट्रिय तथ्यांक रणनीति अहिले नबनाए कहिले बनाउने ?

‘बिग डाटा’को शक्तिलाई लिएर जति उत्साह छ, त्यसको दुरुपयोगको सम्भावनालाई लिएर चिन्ता पनि उत्तिकै बढ्दो छ 

Read Time : > 3 मिनेट
डायने कोयल
२०७६ चैत २२ शनिबार ०८:०६:००

स्वास्थ्यसम्बन्धी नयाँ खोज या स्मार्ट ऊर्जा ग्रिड, स्वचालित सवारीसाधन तथा नवप्रवर्तनका अन्य क्षेत्रहरूमार्फत होस्, तथ्यांक (डाटा)ले भविष्यको अर्थतन्त्रमा महत्वपूर्ण एवं मौलिक भूमिका खेल्नेकुरामा कसैको विमति नहोला । तर, नयाँ आर्थिक मूल्यहरू कसरी सिर्जना होलान्, नियमनकारी प्रतिक्रिया कस्तो हुनुपर्ला, कसैलाई पनि ठीकसँग थाहा नहुनु भनेको समस्या हो । ‘बिग डाटा’को शक्तिलाई लिएर जति उत्साह छ, त्यसको दुरुपयोगको सम्भावनालाई लिएर चिन्ता पनि उत्तिकै बढ्दो छ । यसैगरी, अनुहार चिन्ने ‘फेसियल रिकग्निसन’ तथा अन्य एप्लिकेसनहरूले गोपनीयतालाई उल्लेखनीय अतिक्रमण गर्नेकुरालाई लिएर चिन्ता र चासो व्याप्त छ ।
 
हरेकवर्ष डाटाको परिमाण आश्चर्यजनक गतिले बढिरहेको छ । डाटा वृद्धिको गति यसरी बढिरहेको छ कि पाँचवर्षमै चारगुणाले वृद्धि भइसकेको छ, जुनक्रम बढ्दो छ । तथ्यांकको परिमाणमा भइरहेको यो विस्फोटक वृद्धिले समाजको हित गर्ने सुनिश्चितता गर्नुपर्छ भन्ने कुराले प्राथमिकता पाउन थालेको छ । तथापि, अहिले हामीलाई कुन र कस्तो प्रकारको डाटाको महत्व के–कस्तो होला एवं तिनको सम्भावित मूल्य कति र कस्तो हुन सक्ला ? त्यसबारे ज्यादै थोरैमात्र जानकारी छ । डाटा (तथ्यांक) अन्य अधिकांश वस्तु तथा सेवाजस्तै कार, हेयरकट सेवा वा तेलभन्दा मौलिक रूपले नै भिन्नखालको आर्थिक वस्तु हो । डाटाको दुईवटा विशेषताका कारण मूल्य आँकलन गर्न कठिन भएको हो । डाटाको बजार(निजीस्तर) मूल्य र डाटाको सामाजिक मूल्य फरक–फरक हुन्छ ।

अहिले सार्वजनिक डाटाको पहुँच बेचिरहेका आधिकारिक निकायहरूले नै व्यावसायिक गोपनीयताको बहानामा व्यापारिक सौदाबाजीलाई जटिल र कठिन बनाइरहेका छन् । उनीहरूले प्रभावकारी रूपले प्रतिस्पर्धालाई रोकिरहेका छन् । जसको तथ्यांक बेचिँदै छ,तिनै नागरिकका अगाडि भरोसाका लागि अयोग्य देखिएर आफ्नै वैधानिकता घटाइरहेका छन् ।

अर्थशास्त्रको शब्दमा भन्दा डाटाको पहिलो विशेषता गैरप्रतिद्वन्द्विता (ननराइभ्लरी) हो, अर्थात् यसको विकल्पमा प्रयोग गर्न सकिने डाटाजस्तै अर्काे वस्तु हुँदैन । साथै, डाटालाई धेरैव्यक्तिले एकैसाथ प्रयोग गर्न सक्छन् । एकपटक उत्पादन गरेर उपयोगी ढाँचामा सूचीबद्ध गरिसकेपछि डाटालाई अतिरिक्त प्रयोगकर्ताका लागि कम लागत वा लागतविनै पनि उपलब्ध गराउन सकिन्छ । तर, सामाजिक रूपले उपयोगी डाटा संकलन गरेर ढाँचाबद्ध गर्नका लागि सार्वजनिक पार्क वा रोडजस्ता अन्य सार्वजनिक वस्तुलाई जस्तै उल्लेख्य लगानी आवश्यक पर्न सक्छ । यही कारण जोसँग डाटाबेस छ, उनीहरूले आफ्नो लागत उठाउन डाटाको पहुँचमा प्रतिबन्ध राख्न थालेका छन् ।

डाटाको दोस्रो महत्वपूर्ण विशेषता, यसप्रतिको बाह्य चासो हो । कुनैपनि प्रयोगकर्ताका लागि डाटाको मूल्य अरूले दिने प्रतिक्रियासँग जोडिएको हुन्छ । डाटाबाट हुने गोपनीयताको क्षय, व्यक्तिगत विवरणहरूको संकलन र त्यसको बिक्रीसँग जोडिएको नकारात्मक पक्ष हो । खासै ध्यान खिच्न नसकेको तर सकारात्मक प्रतिफलको सम्भावना बोकेको एउटा अर्काे विषय पनि छ । निजी कम्पनीहरूले हरेक ग्राहकका डाटालाई ठूलो सेटमा समायोजन गरेर बहुमूल्य व्यावसायिक अन्तर्दृष्टि निकाल्छन् । विभिन्न सार्वजनिक एवं निजी संगठनहरूसँग सान्दर्भिक डाटा सेटहरू साझेदारी गर्दा प्राप्त हुने लाभको दाँजोमा यी फाइदा केही होइनन् ।

पक्कै पनि, कुनै पनि डाटा सेटको विशिष्ट जानकारीमूलक सामग्रीले त्यसको मूल्यमा समेत प्रभाव पार्छ । आमप्रयोगकर्ताले प्रयोग गर्ने डाटा सेट सामान्य हो कि विशिष्ट ? डाटा सेटमा समाविष्ट भौगोलिक एवं सापेक्ष विशेषताहरू, पहुँच योग्यता एवं डाटा सेटको अन्तक्र्रियात्मकताजस्ता कुरा डाटाको प्रयोग मूल्य निर्धारणका लागि महŒवपूर्ण हुन्छन् । डाटा बजार त पहिलेदेखि नै छ । तर, अहिलेसम्म यो मानक वस्तु भने बनिसकेको छैन । डाटा एउटा मानक वस्तु (स्ट्यान्डराइज्ड कमोडिटी) बनिसकेको हुन्थ्यो भने यसको मूल्य बजारले व्यापारमार्फत सजिलै स्थापित गरिदिन्थ्यो ।

 

 

एउटै डाटाको मूल्य पनि फरक प्रयोगकर्ताका लागि फरक हुन सक्छ । कुनै खास डाटा सेटको आर्थिक मूल्य त्यसको प्रयोजन व्यापारिक हो कि व्यापक आर्थिक कल्याण त्यसमा भर पर्छ । तथापि, अहिलेका अधिकांश नीतिगत बहसले सबै डाटालाई एकैखालको वस्तुकारूपमा लिएको देखिन्छ । त्यसैले, महत्वपूर्ण विषयहुँदाहुँदै पनि ‘व्यक्तिगत’ डाटा र त्यसको गोपनीयतालाई लिएर रहेको पूर्वधारणाले डाटालाई सार्वजनिक एवं सामाजिक प्रयोजनको वस्तुका रूपमा स्थापित गर्ने मार्गबाट ध्यानलाई अन्तै मोड्न खोजेको छ ।

त्यसैले, के हामी चालू विमर्शको दायरालाई फराकिलो बनाउन सक्छौँ? प्रथमत : गैरप्रतिद्वन्द्विता एवं थुप्रै बाह्य प्रभावहरूको कारण बजार एक्लैले यो नयाँ स्रोत (डाटा)को अधिकतम लाभ लिन सक्दैन । किनकि, बजारले कुनै प्रकारका डाटाको अतिशय उत्पादन र कुनै प्रकारको डाटाचाहिँ एकदमै न्यून उत्पादन गर्छ । त्यसैले, सार्वजनिक एवं निजी डाटाको लाभलाई अधिकतम बनाउने कुरालाई सुनिश्चित गर्न सरकारले कदम चाल्नुपर्छ । त्यसको अर्थ तथ्यांक प्रधान बजारमा निजीस्तरमा स्वस्थ प्रतिस्पर्धा कायम राख्नुपर्छ भन्ने नै हो । त्यसैगरी, निजी एवं सार्वजनिक सेवाप्रदायकले तथ्यांकको सबैखाले स्रोतमा पहुँच राख्न सक्ने कुराको सुनिश्चित गर्नुपर्छ भन्ने पनि हो ।

डाटा (तथ्यांक) अन्य अधिकांश वस्तु तथा सेवाजस्तै कार, हेयरकट सेवा वा तेलभन्दा मौलिक रूपले नै भिन्नखालको आर्थिक वस्तु हो । डाटाको दुईवटा विशेषताका कारण मूल्य आँकलन गर्न कठिन भएको हो । डाटाको बजार(निजीस्तर) मूल्य र डाटाको सामाजिक मूल्य फरक–फरक हुन्छ ।

सरकारहरूले सार्वजनिक क्षेत्रका डाटालाई विशेषाधिकार दिनुहुँदैन, ती  डाटा सामाजिक लाभ प्रदान गर्ने हेतु अन्य तेस्रो पक्षले पनि प्रयोग गर्न सक्ने बनाइनुपर्छ । वास्तवमा, प्लाटफर्महरूबीचको अन्तक्र्रिया सुनिश्चित गर्नका लागि पनि नीति–निर्माताले निजी क्षेत्रको निश्चित प्रकारका तथ्यांकहरू तेस्रोपक्षका लागि पहुँचयोग्य बनाउने कुरामा सोचविचार गर्न जरुरी छ ।

निश्चय पनि, यी कामहरूले उल्लेख्यमात्रामा संस्थागत नवप्रवर्तन तय गर्नेछ । त्यसैगरी, सरकारले डाटाको सुरक्षा, अनुगमन र नियन्त्रणका लागि संस्थाहरू सबल बनाउन सहयोग गर्नुपर्छ । यस्ता केही संस्था आवश्यकताअनुसार जन्माउन जरुरी हुन्छ । ‘डाटा ट्रस्ट’ एवं ‘डाटा व्यवस्थापक’जस्ता डिजिटल सुशासनका नयाँ मोडल अभ्यासको अनुभव पनि हामी बटुल्दै छाैँ ।

त्यस्तै, संस्थागत सुधारलाई बढावा दिनुका अतिरिक्त नीति–निर्माताले केही जटिल छनोटहरूसमेत गर्नुपर्ने हुन्छ । नीति–निर्माताले उच्चगुणस्तरका डाटामा लगानीको प्रतिफल र ती डाटामा व्यापक पहुँचबीच सन्तुलन मिलाउन जरुरी छ । ननएक्सक्लुसिभ एवं सीमित समयसम्म प्रयोग गर्न पाउने व्यवस्था गरेर पनि सन्तुलन मिलाउन सकिन्छ ।

सार्वजनिक तथ्यांकमा लगानी गर्ने सवालमा लगानी एवं इजाजतका सर्तहरू पारदर्शी हुन आवश्यक छ, जसका कारण अन्य पक्षले सो डाटाको महत्वपूर्ण प्रयोगका लागि लगानी गर्न सकून् । अहिले सार्वजनिक डाटाको पहुँच बेचिरहेका आधिकारिक निकायहरूले नै व्यावसायिक गोपनीयताको बहानामा व्यापारिक सौदाबाजीलाई जटिल र कठिन बनाइरहेका छन् । उनीहरूले प्रभावकारी रूपले प्रतिस्पर्धालाई रोकिरहेका छन् । जसको तथ्यांक बेचिँदै छ,तिनै नागरिकका अगाडि भरोसाका लागि अयोग्य देखिएर आफ्नै वैधानिकता घटाइरहेका छन् ।
हुनत डाटाको उत्तम उपयोग कसरी गर्ने भन्ने पत्ता लगाउने कार्य अहिलेका लागि अपरिपक्व प्रयासमात्रै हो । जे भएपनि, नीति–निर्माताले डाटासँग सम्बन्धित तत्कालीन चुनौतीको पहिचान गर्न भने आवश्यक छ । अहिले यो समय भनेको डाटा रणनीति, डाटा नीति एवं त्यससँग सम्बन्धित नियम–कानुन विकास गर्ने समय हो । अन्यथा, डाटा युगको उपलब्धि गिनेचुनेका ठूला कम्पनीले नै हत्याउनेछन् । र, समाजले पाउन सक्ने सबै लाभ खेर जानेछ ।

 (डायने कोयल क्याम्ब्रिज विश्वविद्यालयमा सार्वजनिक नीतिको प्राध्यापक छिन् ।)