१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश सापकाेटा काठमाडाैं
२०७६ चैत २२ शनिबार १०:०९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

बहस : लकडाउन कहिलेसम्म ?

Read Time : > 3 मिनेट
२०७६ चैत २२ शनिबार १०:०९:००

प्रमुख राजनीतिक दलका नेताले लकडाउनलाई तत्काल खुकुलो बनाउन नहुने बताएका छन् । लकडाउनमा नागरिकले खाद्यान्न, आवतजावतसहितमा समस्या भोगे पनि पर्याप्त कोरोनाको टेस्ट नभएकाले तत्काल लकडाउन खुकुलो पार्न नहुने सुझाएका हुन् । 

सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो । अझै २५ चैतसम्म लकडाउन यथावत् रहेको छ । केहीले लकडाउन खुकुलो पार्नुपर्ने बताउँदै आएका छन् । दलका नेताहरूले भने अहिले खुकुलो पार्नुपर्ने अवस्था नआएको जिकिर गरेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिएका सातैजना विदेशबाट आएका रहेको र उनीहरूको सम्पर्कमा आएका व्यक्ति र परिवारको परीक्षणपछि मात्रै लकडाउन खुकुलो पार्न सुझाएका छन् । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पर्याप्त परीक्षण गरेर मात्रै लकडाउन खुकुलो बनाउन सकिने बताए । ‘हामीले मात्रै भनेर हुँदैन, विदेशबाट आएका नेपाली क्वारेन्टाइनमा बसेका छन्, अहिलेसम्मको परीक्षणबाट सन्तुष्ट हुन सकिन्छ भनेर स्वास्थ्यकर्मीले भनेपछि मात्रै खुकुलो बनाउन सकिन्छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘तर, हामीले धेरै परीक्षण गर्न सकेका छैनौँ । परीक्षणको अहिलेसम्मको अवस्था प्रभावकारी छैन, धेरैको परीक्षण गर्नुपर्छ र अझै एक हप्ताको लकडाउन थप्नुपर्छ भन्ने विषय आएका छन् ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि लकडाउन खुकुलो पार्ने नभई परीक्षण धेरैभन्दा धेरैमा गर्नुपर्ने बताए । ‘अहिलेसम्म संक्रमित भएका व्यक्ति विदेशबाटै आएका छन् । विदेशबाटै संक्रमण आएको देखिएको छ । यस्तोमा आन्तरिक आवतजावत मात्रै खुलाएर संक्रमण रोकिँदैन,’ प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने, ‘विदेशबाट फर्किएकाको परिवार, नातागोता, छरछिमेकी, प्लेनबाट सँगै आएका सबैको परीक्षण गरिसकेर मात्रै खोल्ने हो ।’ लकडाउन वैशाख पहिलो सातासम्म लम्ब्याएर धेरैको परीक्षण गर्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै, राजपाका प्रवक्ता सन्तोष मेहताले पनि धेरैको परीक्षण गरेर ढुक्क हुने स्थिति नआएससम्म पूरै लकडाउन खोल्न नहुने बताए । ‘लकडाउन अहिलेको बाध्यता हो । यसमा कसैको असहमति छैन । तर, गरिब, मजदुर र दैनिक ज्यालादारीमा काम गर्नेहरूको अवस्था असाध्यै प्रभावित भएको छ,’ मेहताले भने, ‘सरकारले त्यसलाई सम्बोधन गर्ने हैसियत राख्दैन । त्यही भएर मेरो विचार न्यूनतम केही सर्तसहित कलकारखाना सुचारु गर्दा हुन्छ भने त्यो गरे हुन्छ ।’ सीमामा कडाइ गर्नुपर्ने बताउँदै उनले भने, ‘अन्तर्राष्ट्रिय विमान र सीमा केही महिनासम्म नै कडाइसाथ बन्द गरेर नेपालको आन्तरिक बजार, गाडी तथा कलकारखाना सुचारु गरे पनि हुन्छ ।’

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले कोरोनाको प्रभाव लामो समयसम्म पर्ने भएकाले लकडाउन तत्काल खुकुलो पार्नुपर्ने बताए । ‘हामीले अवस्थाको विश्लेषण गरेर त्यसअनुसार रणनीति बनाउनुपर्छ । कतिपय देशमा हामीभन्दा अगाडि नै कोरोना देखिए पनि एक दिन पनि विद्यालय बन्द भएनन्,’ सिंहले भने, ‘तर, त्यो देशको अवस्थाले पनि भ्याउने कुरा हो । हामीले अर्थतन्त्रलाई लामो समयसम्म बन्द गर्न सक्छौँ जस्तो मलाई लाग्दैन ।’ लकडाउनको विकल्प सोच्नुपर्ने उनको भनाइ छ । ‘अब लामो समय बन्द गर्नुहुँदैन । बरु सरकारले लकडाउनको उचित विकल्पतर्फ जानुपर्ने हुन्छ,’ सिंहले भने । 

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेपछि सरकारले ११ चैतदेखि एक हप्ता लकडाउन गरेको थियो । त्यसपछि २५ चैतसम्म लम्ब्याएको छ । यो अवधिमा एक हजार दुई सयभन्दा बढीको परीक्षण गरिएको छ । जसमा ६ जनामा संक्रमण भेटिएको छ । अहिले देखिएका सबै विदेशबाट आएका व्यक्ति हुन् । 

विदेशबाट आएका व्यक्तिको परीक्षण गर्नुपर्ने र उनीहरूका आफन्त तथा सम्पर्क भएका व्यक्तिको परीक्षण गर्नुपर्नेमा जोड दिइएको छ । सातै प्रदेश, जिल्ला सदरमुकाम र स्थानीय तहसम्मै पुगेर विदेशबाट आएकाको परीक्षण गरेपछि मात्रै कोरोना संक्रमणको विवरण आउने र त्यसपछि लकडाउनको विषयमा पुनर्विचार गर्नुपर्ने स्वास्थ्यकर्मी, राजनीतिक दल, विश्लेषक, नागरिक अगुवाहरूको भनाइ छ । 

नेताहरूको प्रतिक्रिया

अहिले लकडाउन खुकुलो पार्नु हतारो हुन्छ : नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा

लकडाउनको दोस्रो हप्ता सकिन अब चार दिन बाँकी छ । तर, बीचमा विदेशबाट आएका सबै नागरिकको ट्रयाकिङ र परीक्षण प्रभावकारी रूपमा भएको छैन । धेरैभन्दा धेरै ठाउँमा धेरैको परीक्षण गर्नुपर्ने पहिलो आवश्यकता छ । विदेशबाट आएकाको पहिचान वडा तहसम्मै राम्रोसँग भएको छ भने सीमानाका र विमानस्थल बन्द गरेर आन्तरिक आवातजावत खुलाउन सकिन्छ ।

लकडाउन लम्ब्याउनुपर्छ : विश्वप्रकाश शर्मा, प्रवक्ता, कांग्रेस

लकडाउन जुन अवस्थामा पुग्दा गरेका थियौँ, त्यो अवस्थाभन्दा प्रगतिउन्मुख, कायम वा खस्कँदो, कस्तो अवस्थामा छौँ ? कायम छ भने लकडाउन झन् लम्ब्याउनुपर्छ । अहिलेसम्मको तयारी र सामना गर्न सक्ने क्षमता र स्थिति कस्तो हुन्छ भन्ने कुराले अगाडिको बाटो तय हुन्छ । लकडाउन सुरु गर्दा एक संक्रमण भेटियो । दोस्रो हप्तामा छैटौँ संक्रमण भेटियो । उनीहरूको घरपरिवारको परीक्षण गरेका छैनौँ । १९ फागुनमै कांग्रेसले उडान रोकौँ, टेस्ट गरौँ भनेको थियो, तर सरकारले समयमा काम नगर्दा संक्रमित नेपाल आए । अब अन्तर्राष्ट्रिय उडान रोकेर र नाकाबन्दी गरेर मात्रै आएका संक्रमितबाट बच्न सकिन्छ भन्ने होइन । यस्तोमा आन्तरिक आवातजावत केही दिन रोकेर धेरैको परीक्षण नै अहिलेको आवश्यकता हो । 

ढुक्क हुने स्थिति भए मात्रै खुकुलो : सन्तोष मेहता
प्रवक्ता, राजपा

अहिले सरकार सबैतिर उपचारको व्यवस्था गर्नुपर्छ । सबै स्थानीय तहमा क्वारेन्टाइनको राम्रो प्रबन्ध गर्नुपर्छ । शंकास्पद धेरैको परीक्षण गर्नुपर्छ । उपचारमा सबैको सहज पहुँचमा पुर्‍याउन पर्‍यो । अनि मात्रै २५ चैतपछि लकडाउनको विकल्प यसरी खोज्नुपर्छ जस्तो मलाई लाग्छ ।

अब लकडाउन खुकुलो पार्नुपर्छ : प्रशान्त सिंह 
प्रचार विभाग प्रमुख, समाजवादी

केही समयका लागि हामीले अन्तर्राष्ट्रिय विमानसेवा र सीमानाका अझै बन्द गर्नुपर्छ । आन्तरिक कुुराहरू सुचारु गरे हुन्छ । त्यसमा आमनागरिकले पनि आफैँ सचेत भएर काम गर्नुपर्ने हुन्छ । कोरोना संक्रमण अब पूरै अन्त्य कहिल्यै पनि हुँदैन । यो नयाँ रोग हो । यसको न्यूनीकरण मात्रै हुँदै जाने हो । यसमा उपचार विधिहरू आउँछन्, त्यत्ति न हो । यसलाई हामीले कसरी हुन्छ सक्दो नियन्त्रण मात्रै गर्ने हो । तर, सधैँ देशका सबै काम ठप्प पार्न सकिँदैन । उपचारको सहज पहुँचमा जोड दिनुपर्छ । यसकारण लकडाउन अब फुकाए हुन्छ ।