मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत २१ शुक्रबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार

वनगस्ती टोली र सिकारीबीच गोली हानाहान, तीन सिकारी पक्राउ

Read Time : < 1 मिनेट
२०७६ चैत २१ शुक्रबार १९:१९:००

लकडाउनको समयमा शुक्रबार मोरङमा सशस्त्र वनरक्षक गस्ती टोली र सिकारी समूहबीच दोहोरो गोली हानाहान भएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजे सशस्त्र प्रहरी-वनरक्षकको संयुक्त गस्ती टोली र सिकारी समूहबीच १६ राउन्ड गोली हानाहान भएको हो । लकडाउनको मौका पारेर जंगलमा आगो लगाएर वन्यजन्तुको सिकार गर्ने समूह सक्रिय भएको सूचना पाएपछि शुक्रबार सवडिभिजन वन कार्यालय सलकपुरको सशस्त्र वनरक्षक र सशस्त्र प्रहरी बेसक्याम्प सलकपुरको संयुक्त टोली सिकारी सर्च गर्दै जंगल गएको थियो ।

सोही क्रममा दिउँसो साढे ३ बजे मोरङको सुन्दरहरैँचा नगरपालिकामा पर्ने लोहन्द्र केराबारी साझेदारी र सलकपुर सामुदायिक वनको बीचमा पर्ने राष्ट्रिय वन क्षेत्रमा सिकारी समूह र गस्ती टोलीबीच दोहोरो गोली हानाहान भएको हो । घेराबन्दीमा पारेर आफूहरूलाई पक्राउ गर्न लागेको थाहा पाएपछि सिकारी समूहले संयुक्त गस्ती टोलीमाथि सात राउन्ड गोली चलाएको थियो ।

जवाफी क्रममा संयुक्त गस्ती टोलीले नौ राउन्ड हवाई फायर गरेर तीनजना सिकारीलाई नियन्त्रणमा लिन सफल भएको मोरङका डिएफओ विशाल घिमिरेले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएका तीनजनाबाहेक सिकारी समूहमा अन्य सदस्य पनि रहेको र उनीहरू फरार भएकाले खोजी कार्य तीव्र रूपमा भइरहेको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई सवडिभिजन वन कार्यालय सलकपुरको हिरासतमा राखिएको छ । त्यस्तै पक्राउ गरिएका सिकारीहरूको साथबाट गस्ती टोलीले दुई थान भरुवा बन्दुक, दुई सय गाम्र बारुद र केही छर्रासमेत बरामद गरेको छ । उनीहरूलाई वन ऐन र हातहतियार तथा खरखजना ऐनअन्तर्गत कानुनी कारबाही चलाइने डिएफओ घिमिरले जानकारी दिए ।