मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १६:५३:००
Read Time : > 1 मिनेट
प्रवास

श्रमिकको तलब र सेवा–सुविधा कम नगर्न निजी क्षेत्रलाई ओमन सरकारको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १६:५३:००

ओमन सरकारले श्रमिकलाई तोकिएको तलब र सेवा–सुविधामा कुनै कमी नगर्न तथा जबर्जस्ती बिदामा बस्न बाध्य नपार्न निजी क्षेत्रलाई आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड– १९)का कारण विश्वमा आएको जटिल परिस्थितिलाई मध्यनजर गर्दै श्रमिकलाई दिइँदै आएको तलब र सेवा–सुविधा कटौती नगर्न ओमनको सरकारी निकायले निजी क्षेत्रलाई अनुरोध गरेको ओमनस्थित नेपाली दूतावासले जनाएको छ ।

ओमनको जनशक्ति मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि कामदारको संख्यामा कमी गर्नेदेखि लिएर काम गर्ने स्थलमा पूर्वसावधानी अपनाउने र मानिसको हिँडडुलमा आंशिक प्रतिबन्ध लगाएको छ । अत्यावश्यकबाहेक र कामको समयबाहेक अन्य समयमा सार्वजनिक स्थलमा भेला नहुन तथा भिडभाड नगर्न पनि बारम्बार अपिल गरिरहेको दूतावासले जनाएको छ ।

त्यसैगरी यस अवधिमा भिसा सकिएकाहरूको हकमा समाप्तिपश्चात् जरिवाना नपर्ने गरी उचित निर्णय लिइने जानकारी पनि ओमनको सम्बन्धित निकायले गरेको छ । ओमनको स्वास्थ्यमन्त्रीले ओमनमा रहेका नेपालीलाई कम्पनीले तोकिएबमोजिम मात्र काममा जान, ड्युटी समयभन्दा बाहेक बाहिर ननिस्कन पनि अनुरोध गरेका छन् ।

ओमन सरकारले १ अप्रिलदेखि अर्को सूचना जारी नहुन्जेलसम्म हम्रिया, दारसाइट, रुबि, बादी, कविरलगायत क्षेत्रमा हुनेले अत्यावश्यक सामान किन्नबाहेक बाहिर ननिस्कन पनि अनुरोध गरेको छ । हालसम्म ओमनमा कार्यरत नेपालीलाई कोरोना संक्रमण नदेखिएको पनि दूतावासले जनाएको छ ।

त्यस्तै, लक्षण देखापरेमा सीधै कोभिड– १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ ।