मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २१ शुक्रबार १३:३२:००
Read Time : > 1 मिनेट
विश्व

जब कोरोना संक्रमित वृद्धवृद्धाले युवालाई बचाउन भन्दै भेन्टिलेटर लगाउन अस्वीकार गरी प्राण त्यागे

Read Time : > 1 मिनेट
२०७६ चैत २१ शुक्रबार १३:३२:००

विश्वमा कोरोना संक्रमितको संख्या दश लाख नाघिसकेको छ । इटाली, अमेरिका, स्पेन र अन्य युरोपेली मुलुकमा संक्रमितको संख्या दिन दिनै उच्च बन्दै छ । 

अस्पतालहरूमा हजारौँ बिरामी बढेसँगै मेडिकल उपकरण, सुरक्षा सामग्रीदेखि औषधिको समेत अभाव हुन थालेको छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएका कारण कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेकालाई भेन्टिलेटर अत्यावश्यक उपकरण हो ।

विश्वभर भेन्टिलेटरको समेत अभाव भएको छ । विभिन्न देशमा यस क्रममा मानवीयता देखाउने विभिन्न उदाहरण पनि देखापर्न थालेका छन् । जसले कोरोनाको यस लडाइँमा अघिल्लो पंक्तिमा संलग्नलाई प्रोत्साहन थपेको छ भने अरू सबैलाई मनोबल बढाइदिएको छ । 

त्यस्तै एक उदाहरणका रूपमा संक्रमित कतिपय वृद्धहरूले आफ्नो भेन्टिलेटर अन्य युवालाई दिएर उनीहरूलाई बचाएका छन् । आफूले जीवन बाँचिसकेको र वयष्कहरूलाई बचाउन आग्रह गर्दै उनीहरूले भेन्टिलेटर लगाउनसमेत अस्वीकार गरेर प्राण त्यागेका हुन् ।

बेल्जियमको एक अस्पतालमा ९० वर्षीया महिला सुज्यान होलियार्टसले भेन्टिलेटर अस्वीकार गर्दै ज्यान गुमाएकी हुन् । उनले डाक्टरलाई ‘मैले सुन्दर जीवन बिताइसकेँ, यो भेन्टिलेटर कुनै जवानका लागि प्रयोग गर्नुहोला’ भन्दै भेन्टिलेटर लगाउन अस्वीकार गरेको डेली मेलले समाचारमा उल्लेख गरेको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । होलियार्टसकी छोरी जुडिथले एक डच समाचारपत्रलाई आफूले अन्तिम पटक भेट्न एवं अन्त्येष्टिमा जानसमेत नपाएको बताएकी छिन् ।

त्यस्तै मार्च १५ मा डन ज्युसेप्पे बरारडेल्ली नाम गरेका एक इटालीयन वृद्धले आफ्नो भेन्टिलेटर एक बालकलाई दिएर आफूले ज्यान गुमाएका थिए । उनले पनि भेन्टिलेटरको आवश्यकता आफूलाई भन्दा बालक एवं जवानलाई रहेको भन्दै अपरिचित बालकलाई आफ्नो भेन्टिलेटर दिएका थिए । त्यसकाे तेस्रो दिन उनको निधन भएको थियो ।

कोरोना भाइरसको बढ्दाे प्रकाेप र भेन्टिलेटरको अभाव भएकाे थाहा पाएर उनीहरूले त्याग देखाएकाे अनुमान गर्न सकिन्छ ।