मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्याम खतिवडा
२०७५ माघ ९ बुधबार ०६:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

दोलखामा ४४ हजार निजी आवास बने

Read Time : > 1 मिनेट
श्याम खतिवडा
२०७५ माघ ९ बुधबार ०६:५७:००

भूकम्प गएको चार वर्ष हुनै लाग्दा दोलखामा ४४ हजार निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालय दोलखाका अनुसार जिल्लामा हालसम्म ४४ हजार ४६८ निजी आवास बनेका छन् । जिल्लाका सबै स्थानीय तहको पुनर्निर्माण प्रगति सन्तोषजनक रहेको कार्यालयले जनाएको छ ।  

कार्यालयका प्रमुख निर्मलदर्शन आचार्यका अनुसार निजी आवास निर्माण सम्पन्न गरेका परिवारले तेस्रो किस्ताबापतको रकम प्राप्त गरिसकेका छन् । निजी आवास निर्माण सुरु गरेका ५१ हजार ९३४ परिवारले दोस्रो किस्ताबापतको रकम लगिसकेको उनको भनाइ छ । दोलखामा ६९ हजार ६०८ परिवार भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएकोमा ६६ हजार ८२० जनाले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेर पहिलो किस्ता लाने परिवारको संख्या भने ६४ हजार ६८३ पुगेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

पहिलो जिल्ला बनाउने अभियान 
दोलखाका धेरैजसो भूभाग विकट भए पनि निजी आवास निर्माणमा निकै उत्साहजनक प्रगति गरेको राजनीतिक दलका नेताहरूको भनाइ छ । कांग्रेस सांसद जिपछिरिङ लामाले पछिल्लो समय आवास निर्माणको कामले निकै गति लिएको बताउँदै भूकम्प प्रभावित जिल्लामध्ये दोलखालाई पुनर्निर्माण सम्पन्न गर्ने पहिलो जिल्ला बनाउन आफूहरू लागिरहेको जानकारी दिए । दोलखामा सम्पूर्ण निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्न जनप्रतिनिधिसहित अन्य सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ । सांसद लामाले भूकम्पपछि जिल्लाको राहत पुनस्र्थापना र पुनर्निर्माणमा निकै ठूलो सहयोग गरेको स्थानीयहरूले बताएका छन् । लामाले आफ्नो व्यक्तिगत खर्चमा भूकम्पमा ज्यान गुमाएका दोलखाका १७४ मृतकका परिवारलाई जनही १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेका थिए । 
 ६८ प्रतिशत प्रगति 
प्राधिकरणका अनुसार दोलखामा अहिलेसम्म ६८ प्रतिशत निजी आवास निर्माणको सकिएको छ । अनुदान व्यवस्थापन कार्यालयका लेखा अधिकृत राजकुमार ढुंगेलले जिल्लाका केही गाउँहरूमा एकीकृत बस्ती निर्माणको अभियान चलेको र त्यसको प्रक्रिया लामो भएकाले पनि केही ढिलाइ भएको हुन सक्ने प्रतिक्रिया दिए । उनले भीमेश्वर नगरपालिकाको बोसीम्पा बुमा र जिलुमा एकीकृत बस्ती निर्माणको काम सुरु भएको बताए । भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक दोलखा बजारमा भने एउटै घरमा दर्जनौँको स्वामित्व रहेको र बहुस्वामित्वका नीतिका कारण पुनर्निर्माणमा ढिलाइ भएको अधिकृत ढुंगेलको भनाइ छ । 

पुनर्निर्माण कार्यालयका अनुसार जिल्लाको बिगु गाउँपालिका–२ ओराङ र बैतेश्वर गाउँपालिका–३ स्थित यार्सा गाउँमा दाताको सहयोगमा निजी आवास पुनर्निर्माणको काम सकिएको छ । कार्यालय प्रमुख आचार्यले यही रफ्तारमा पुनर्निर्माणको काम अघि बढे राज्यले तोकेकै समय अवधिमा दोलखाको पुनर्निर्माण सम्पन्न हुने बताए । उनले भूकम्पपीडितको नयाँ आवास निर्माण भएसँगै पुरातात्विक कला र संस्कृतिको भने जगेर्ना हुन नसक्ने खालका घर बनेको गुनासो आउने गरेको जानकारी दिए ।

६९ हजार घर पुनर्निर्माणको सूचीमा
०६८ को जनगणनाअनुसार दोलखामा ४५ हजार घरधुरी रहेका थिए । तर, ०७२ सालको भूकम्पमा अधिकांश घर क्षति बनेका थिए । जिल्ला दैवीप्रकोप उद्धार समितिले ८४ हजार घरधुरी रहेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सिफारिस गरेको थियो । तर, विभिन्न चरणमा भएको अध्ययन र अनुसन्धानपछि ६९ हजार ६०८ घर क्षतिग्रस्त भएको भन्दै लाभग्राही सूचीमा सूचीकृत गरिएको छ । तर, अझै पनि केही पीडित छुटेको गुनासो आएपछि प्राधिकरणले माघ तेस्रो साता पुनर्जाच सर्वेक्षणका लागि जाने भएका छन् । सो सर्वेक्षणपछि मात्र दोलखामा भूकम्पपीडितको वास्तविक तथ्यांक प्राप्त हुने प्राधिकरण कार्यालयले जनाएको छ ।