१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
केशव दाहाल
२०७६ चैत २१ शुक्रबार ०९:५४:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

प्रेमको सभ्यतामा महामारीको सन्त्रास

Read Time : > 5 मिनेट
केशव दाहाल
२०७६ चैत २१ शुक्रबार ०९:५४:००

आजको बिन्दुमा आइपुग्दा मान्छे पुनः अर्को लडाइँमा संलग्न छ, कोरोनासँगको लडाइँ, तर ऊ यसका लागि तयार थिएन 

बिहान सबेरै उठेर आकाशतिर हेरौँ । कल्पना गरौँ कि भोलि यो संसार कस्तो होला ? मानवसभ्यता अबको सय वर्षपछि कस्तो होला ? कल्पनाको संसारमा विचरण गर्दै अझ सुदूर अतीततिर जाऊँ । सोचौँ, आजभन्दा हजार वर्षअघि समाज कस्तो थियो होला ? त्यो समय हाम्रो आकाश र धर्ती कस्तो थियो होला ? यसैगरी सोचौँ, सुदूर भविष्यतिर । आउने हजार वर्षपछि यो समाज कस्तो होला ? मानवसभ्यता कस्तो होला ? यो प्रिय धर्तीको रंग कस्तो होला ? अहिले हामी ‘कोरोना’ संकटमा छौँ । बन्दाबन्दी चलिरहेको छ । र, यस्ता अनेक प्रश्नको गर्तमा चिहाउन हामीसँग पूरै दिन खाली छ । त्यसैले आजलाई सोचौँ, मान्छेको इतिहास र यसले गरेका अनेकौँ संघर्षबारे । विचार गरौँ कि मान्छेको इतिहासको माला बनाउने हो भने त्यो कस्तो देखिएला ? त्यसको रंग कस्तो होला ? त्यसको सुगन्ध कस्तो होला ?

मान्छेको इतिहास उसले गरेका अनेकौँ संघर्षका कथाको आकाशगंगा हो । त्यो विस्तृत छ, हाम्रै ब्रह्माण्डजस्तो । त्यो विशाल छ, समुद्रजस्तो । त्यो आकाशगंगा कालो, मैलो र अँध्यारो पनि छ । त्यो शुक्रताराजस्तै जगमग उज्यालो पनि छ । त्यही आकाशगंगामा भेटिन्छन्, मान्छेले प्रकृतिसँग गरेका संघर्षका अनगिन्ती कथाहरू । जहाँ मान्छे पाहाडसँग लड्यो । हिमालसँग जुध्यो । जंगलसँग भिड्यो । आकाशसँग संघर्ष गर्‍यो । पानी, हावा, हुरी, आँधी र तुफानसँग जुध्यो । जंगली जनावरहरूसँग कुस्ती खेल्यो । यस्तै लडाइँ लड्दै मान्छेले खेत बनायो । सडक बनायो । जंगल मास्यो र सहर बनायो । जंगलमा निस्फिक्री विचरण गर्ने घोडा चढ्यो । हात्तीलाई जित्यो । चराहरूलाई सधायो । यसरी मान्छेले प्रकृतिसँगको संघर्षमा स्वयं धर्ती जित्यो र त्यसलाई कज्यायो । तर, मान्छेको संघर्ष यतिमै रोकिएन । उसको तिर्सना यतिमै थामिएन । उसले स्वयंसँग युद्धको घोषणा गर्‍यो । मान्छे मान्छेसँग लड्यो । जातका नाममा लड्यो । धर्मका नाममा लड्यो । भाषा, संस्कृति र सभ्यताका नाममा लड्यो । जमिन र यसको सिमानाका नाममा लड्यो । कहिले आफैँले ईश्वर बनायो र फेरि त्यसैका नाममा लड्यो । तर, लडाइँ सकिएन । मान्छे लड्दै आयो । कहिले प्लेगसँग लड्यो । कहिले बिफर, दादुरा, मलेरिया, इबोलासँग त कहिले एचआइभी र कोरोनासँग जुध्यो । यस्तै अनेक युद्ध लड्दै र बढ्दै मान्छे यो बिन्दुमा आइपुग्यो । यसर्थ भन्न सकिन्छ कि मान्छेको सभ्यता रुँदै र हाँस्दै, लड्दै र सिक्दै यो शताब्दीसम्म आइपुगेको हो । 

माथिका सन्दर्भले के भन्छन् ? माथिका सन्दर्भले भन्छन्– मानवजीवनको लौकिक सत्य हो ‘संघर्ष’ । संघर्ष मान्छेका लागि जन्म र मृत्युजति नै शाश्वत छ । विचार गरौँ कि इतिहासको त्यो बिन्दुदेखि यो बिन्दुसम्म आइपुग्न मान्छेले कति लडाइँ लड्यो होला ? सयौँ । हजारौँ । लाखौँ । ती सबै–सबै लडाइँमा कति मान्छे मरे होलान् ? करोडौँ । तर, यी यस्ता प्रश्न हुन्, जसका न त आँकडा छन्, न त हिसाब । पछिल्ला ५० हजार वर्षमा यो धर्तीमा के–के भयो होला ? यो रोमाञ्चक तर रहस्यमय प्रश्न हो । अझ यता आऔँ र सोचौँ, मात्र पछिल्ला १० हजार वर्षमा के–के भयो होला ? यो प्रश्नको समेत सजिलै जवाफ पाइँदैन । यद्यपि यसबीच मान्छेले प्रकृतिसँग कठोर संघर्ष गर्‍यो । मान्छे मान्छेसँगै लड्यो । ऊ अनेक व्याधिसँग जुध्यो । यो सत्य हो । हुन सक्छ, यी सबै संघर्षमा अर्बौं मान्छे मरे र मारिए । त्यही नै मानवसभ्यताको जग हो । 

अब चर्चा गरौँ, महामारीको । अहिले हामी कोरोनासँग लडिरहेका छौँ । तर, माहामारीका अनेक लडाइँ पहिले पनि थिए । जानकारहरू भन्छन्– पछिल्ला १० हजार वर्षमा झन्डै ७० करोड मान्छे महामारीबाट मरे । यसबीच प्लेगले नै झन्डै १० करोड मान्छेको ज्यान लियो । बिफरले एसियामा नौ लाख मान्छेलाई लग्यो । भनिन्छ, कुनै–कुनै सहर त शून्यप्रायः नै भए । यसैगरी १९औँ शताब्दीको दोस्रो दशकतिर स्पेनिस फ्लुका कारण विश्वभर ५० करोड मान्छे संक्रमित भए । पाँच करोड मारिए । सन् १९५० को दशकमा फैलिएको एसियन फ्लुका कारण एसियामै झन्डै १५ लाख मान्छेको मृत्यु भयो । पछिल्ला दशकमा एचआइभीबाट मर्नेहरूको संख्या झन्डै चार करोड पुग्यो । नेपालमै पनि औलो, बिफर, एचआइभी आदिबाट मर्नेहरू लाखौँ होलान् । जसको न त व्यवस्थित बहिखाता छ, न त अंकगणित नै । 

निश्चय नै मानवसभ्यताको आफ्नै अनुभवले भन्छ– मान्छेले कोरोनाविरुद्धको लडाइँ पनि जित्नेछ । ऊ लड्नेछ र फेरि उठ्नेछ । ऊ उठ्ने मात्र छैन, फेरि दगुर्नेछ ।

तर के भयो त ? के मान्छे हार्‍यो ? के यो लडाइँमा मान्छे थाक्यो ? के यावत् संकटबाट मान्छेको जीवनयात्रा रोकियो ? मानवसभ्यताको समुद्र थामियो ? थामिएन । त्यो निरन्तर चलि नै रह्यो । मान्छे अनेकबार लड्यो र फेरि उठ्यो । त्यसैले भन्न सकिन्छ कि संघर्ष, जन्म र मृत्युजस्तै मान्छेको जीवनको अर्को सत्य हो, मान्छेको गति । यावत् संघर्षमा मान्छे लड्यो, उठ्यो र फेरि हिँड्यो । आज मान्छे जहाँ आइपुगेको छ, त्यसको एउटै रहस्य छ– मान्छे गतिवान् छ । जन्म, मृत्यु, संघर्ष र गति नै मानव श्रेष्ठताको मुख्य रहस्य हो । 

२१औँ शताब्दीको यो बिन्दुमा आइपुग्दा मान्छे पुनः अर्को लडाइँमा संलग्न छ, कोरोनासँगको लडाइँ । यो लडाइँ अकस्मातजस्तै भयो । कुनै तयारी थिएन । यस्तो भयो कि हिँड्दाहिँड्दै, निमग्न यात्रामा अगाडि बढ्दै जाँदा सामुन्ने भयंकर खाडी आइपुग्यो । विचार गरौँ, अब के होला ? निश्चय नै मानवसभ्यताको आफ्नै अनुभवले भन्छ– मान्छेले यो लडाइँ पनि जित्नेछ । ऊ लड्नेछ र फेरि उठ्नेछ । ऊ उठ्ने मात्र छैन फेरि दगुर्नेछ । ऊ फिनिक्स पक्षीझैँ नील गगनमा पुनः कावा खाँदै उड्नेछ । सबैलाई थाहा छ, फिनिक्स पक्षीको कथा । कथाले भन्छ– अरेबियाली मरुभूमिमा पाइने फिनिक्सको आयु सयौँ वर्षको हुन्छ । जब ऊ बूढो, अशक्त र परित्यक्त हुन्छ, तब स्वयं आफ्नो शरीरमा आगो लगाउँछ । दनदनी आगो बल्छ तर ऊ मर्दैन, खरानीको थुप्रोमा फेरिन्छ । त्यही खरानीको थुप्रोबाट नयाँ, ताजा र सुन्दर फिनिक्सको पुनर्जन्म हुन्छ । जवान फिनिक्स नयाँ ऊर्जासाथ आकाशमा कावा खाँदै उड्न थाल्छ । यो क्रम र कथा निरन्तर चलिरहेछ । आखिर यसरी नै मानव–सभ्यताले पुनः नयाँ उडान भर्नेछ । 

तर, यहीँनेर एउटा प्रश्न उपस्थित हुन्छ । अबको मानवसभ्यता कता जाला ? निश्चय नै मानवसभ्यताको फिनिक्स पक्षी उड्छ, तर त्यसको उडान कुन दिशातिर होला ? कोरोना पक्षीका राज्यहरू कस्ता होलान् ? के पुँजीवाद र समाजवादको प्रचलित प्रयोगले अझै काम गर्ला ? कि मानवसभ्यताले नयाँ विकल्प खोज्ला ? 

मुख्यतः आजसम्मको मानवसभ्यता संघर्षको सभ्यता हो । यो प्रकृतिलाई निरन्तर र तीव्र दोहनसाथ उठेको सभ्यता हो । जसको जगमा छ, युद्ध, शोषण, विभेद र अहंकार । राजनीतिमा यो एकातिर पुँजीवादको आक्रामक स्वरूपमा प्रकटित छ । अर्कातिर साम्यवादको अहंकारमा । सत्ता निर्धाहरूको शोषणको मतियार बनेको छ र सरकारहरू भ्रष्ट छन् । त्यसैले भन्न सकिन्छ कि हाम्रो सभ्यता भोगबिलासको सभ्यता हो । लुटको सभ्यता हो । उपयोगको सभ्यता हो । प्रेमको सभ्यता होइन । सद्भावको सभ्यता होइन । समन्वयको सभ्यता होइन । न्यायको सभ्यता होइन । त्यसो भए कोरोनापछि पनि यस्तै होला त ? प्रश्न यही हो । आशा गरौँ, त्यस्तो हुनुहुँदैन । बहस गरौँ, त्यस्तो किमार्थ हुनै हुँदैन । त्यसो भए के हुनुपर्छ त ? मानवसभ्यताले निर्धारण गर्ने अबको बाटो कस्तो हुनुपर्छ ?

पुनः दोहोर्‍याऊँ, आजसम्मको मानवसभ्यता संघर्षको सभ्यता हो । अब यसको आयु पुग्यो । अबका दिनमा यसले बाटो मोड्नुपर्छ र मान्छे समन्वय र प्रेमको विकल्पमा जानुपर्छ । अब प्रकृतिसँग लडेर हैन, प्रकृतिसँग प्रेम गरेर मान्छे अगाडि बढ्नुपर्छ । मान्छेले आफ्नो सभ्यता निर्माणको पछिल्लो १० हजार वर्षमा जे गर्‍यो, जे प्राप्त भयो र जे गुम्यो, अब त्यसको समीक्षा गर्ने वेला भयो । आजसम्म मान्छेले जे हासिल गर्‍यो, त्यो प्रकृतिसँगको संघर्षबाट हासिल भयो । त्यो रगतको भेलबाट हासिल भयो । अब प्रकृतिसँग संघर्ष हैन, समन्वय गरेर क्षतिपूर्ति गर्नुपर्छ । अबको मानवसभ्यता जात, धर्म, राष्ट्र, राज्यका सीमाहरूको संघर्षबाट होइन, तिनीहरूबीचको सद्भाव, प्रेम र सहकार्यबाट उठ्नुपर्छ । पुँजीवाद र साम्यवादको वैचारिक संघर्षको युग अब सकियो । अब कल्याणकारी, प्रेममुखी, न्यायपूर्ण राजनीतिको युग सुरु हुनुपर्छ । यसको अर्थ के हो ? यसको अर्थ हो, मान्छेले आफूलाई ब्रह्माण्डको मालिक हैन, त्यसको एक अंशका रूपमा स्वीकार गर्नुपर्छ । आजसम्म मान्छेले आफूलाई प्रकृतिको स्वामी ठान्यो । अब मान्छेले प्रकृतिका अनेक सत्तालाई स्वीकार गर्नुपर्छ । अबको नयाँ युग मान्छेको सत्ताले प्रकृतिका अनेक सत्तासँग समन्वय गरेर मात्र समृद्ध र सुरक्षित हुन्छ । 

निश्चय नै कोरोनापछिको राजनीति कस्तो होला ? हाम्रो समाज कस्तो होला ? हाम्रो सभ्यता कस्तो होला ? हाम्रा भावी सन्ततीले कस्तो धर्तीमा पाइला राख्लान् ? कुनै चित्र स्पष्ट छैन । तर, एउटा कुरा पक्का छ कि मान्छे अहिलेभन्दा उदार नभई सुखै छैन । राज्यहरू अहिलेभन्दा उदार नभई सुखै छैन । राजनीति अहिलेभन्दा उदार नभई सुखै छैन । त्यो उदारता मुख्यतः प्रकृतिप्रतिको उदारता हो । त्यो उदारता एक मान्छे र अर्को मान्छेप्रतिको उदारता हो । त्यो उदारता मान्छेले आफ्नै जातिप्रति इतिहासमा गरेका अन्यायका लागि क्षमायाचनासहितको उदारता हो । त्यो उदारता प्रकृतिमा रहेका अनेक सत्तालाई स्वीकार गर्ने उदारता हो । लौ, अब मानव संघर्षको युगलाई बाईबाई भनौँ अनि प्रेम र सद्भावको युगलाई स्वागत गरौँ । आशा गरौँ, रगतले लेख्ने सभ्यताको इतिहासभन्दा प्रेमले सिञ्चित सभ्यताको कविता पक्कै सुन्दर हुनेछ । 
[email protected]