Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केन्ट सेप्कोभिच
२०७६ चैत २१ शुक्रबार ०९:४७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

अमेरिकामा कोभिड–१९ महामारीको चौथो चरणमा

Read Time : > 2 मिनेट
केन्ट सेप्कोभिच
२०७६ चैत २१ शुक्रबार ०९:४७:००

देश/विदेश

महामारीले अमेरिकी स्वास्थ्य सेवाको वास्तविक अनुहार देखाइदिएको छ, थोरै स्रोत–साधनले संक्रमणको यत्रो चाप वहन गर्न कठिन छ ।

अमेरिकामा कोभिड–१९ महामारी अहिले तेस्रो चरणबाट गुज्रिसकेको छ । सुरुमा पश्चिमतटीय क्षेत्रमा देखिएको संक्रमण अब पूर्वको वासिंटनसम्मै फैलिसकेको छ । सबैभन्दा ठूलो स्वास्थ्य सेवाको संकट भने न्युयोर्कमा देखियो । त्यहाँ परीक्षण किट, सुरक्षा सामग्री र भेन्टिलेटर अभावले स्वास्थ्य सेवामा अकल्पनीय समस्या सिर्जना भयो । गत साता, न्यु ओर्लान्स, सिकागो, डेट्रोइटलगायत सहरमा ठूलो विपत्ति आइलाग्यो । त्यहाँ हुलका हुल ठूलो संख्यामा सिकिस्त बिरामी देखा परे । परीक्षण किट, मास्क, पिपिई र भेन्टिलेटर भएन । 

केही समय त लागेको थियो, संक्रमण ठूला सहरमा मात्र फैलनेछ । सोमबारसम्म त इस्टरका लागि बजार फेरि खुलाउने हौवा पिटिँदै थियो । तर, फैलँदो संक्रमणले गर्दा यही २९ मार्चमा यो योजना बदलियो । यो अमेरिकामा फैलिँदै गरेको चौथो चरणको कोरोना संक्रमणको संकेत हो । अब महामारी तटीय क्षेत्रमा मात्र सीमित छैन, यो साना–ठूला अमेरिकाको मध्य भूभागका सबैजसो सहरमा फैलिइसकेको छ । पश्चिमी जर्जियाको सानो सहर अल्बानीमा पहिलोपटक देखिएको संक्रमणले सबैको ध्यान खिचेको थियो । त्यहाँ दाहसंस्कारमा भेला भएका मानिसले संक्रमण सारेको अनुमान गरिएको छ । आजसम्म त्यहाँ चार सय ६२ संक्रमित भइसकेका छन् भने १८ जनाको मृत्यु भएको छ ।

यी प्रभावित क्षेत्रमा संक्रमणले अब चौथो चरणको महामारीको छनक दिँदै छ । अल्बानी जस्तो सानो सहरमा केबल एउटा अस्पताल भएकाले संकटको सामना गर्न अल्बानी आत्तिएको थियो । तिनले त्यस क्षेत्रको सम्पूर्ण स्वास्थ्य शक्ति मुख्य मेडिकल सेन्टरमा एकट्ठा पारेका थिए । अहिले अन्य सहर र बस्तीमा पनि संक्रमण देखिने र फैलने क्रम बढिरहेको छ । निश्चय नै त्यहाँ विशेषज्ञ, आइसियु वार्ड, प्रशिक्षित नर्सको अभाव खट्कनेछ । स्थानीय सरकारलाई समुदायमा फैलिएको संक्रमणसँग जुध्न सकस पर्नेछ ।

लुसियानाको स्रेभपोर्टमा पनि संक्रमित छन्, त्यहाँ एलएसयु चिकित्सा विद्यालयको शाखा छ । दुई लाख जनसंख्या भएको यहाँको संक्रमणलाई अहिलेसम्म चिकित्सा विद्यालयको शाखाले धानिरहेको छ । संक्रमण बढ्दै जाँदा तिनको पनि केही सिप लाग्नेछैन । त्यस्तै मिसिसिपीको ज्याक्सनमा एक लाख ७० हजार जनसंख्या छ । मिसिसिपी सरकारले त ३१ मर्चमा मात्र लकडाउन जारी गर्‍यो, तर धेरै कोभिड–१९ परीक्षण गर्ने राज्यमा यो पर्छ । ज्याक्सनमा मात्र एक सय ७० संक्रमित छन् र दैनिक दर्जनौँ बढ्दै छन् । 

स्थानीयस्तरका स्वास्थ्यकर्मी आफूले पहिलोपटक प्रयोग गरिरहेका सामग्री लिएर जानी–नजानी जटिल संक्रमितको उपचार गर्नुपर्ने बाध्यतामा छन् । तिनीहरू आफैँलाई संक्रमणको जोखिम पनि त्यत्तिकै छ । 

तुलनात्मक रूपमा कम संक्रमण देखिएको राज्यका ग्रामीण क्षेत्रमा पनि संक्रमित बढ्दै छन् । सेल्बर्नेको ग्रामीण क्षेत्र अर्कान्सासमा केवल २६ हजार बसोवास गर्छन् । त्यहाँ ६१ संक्रमित छन् । सात हजार जनसंस्या भएको हेबर स्प्रिङमा २५ शय्याको अस्पताल छ, तर आइसियु छैन । १७ हजार जनसंख्या भएको पाउनी काउन्टीमा केवल १४ शय्या छ ।

तसर्थ, सहर तथा ग्रामीण इलाकामा यति धेरै संक्रमित बढ्दै जान्छन् भने स्वास्थ्य सेवामा यसले अर्को चरणको संकट निम्त्याउनेछ । ग्रामीण तथा साना सहरी इलाकाका अस्पतालमा प्राथमिक स्वास्थ्य सेवा मात्र हुने गर्छ, त्यसैले जटिल संक्रमणलाई तिनले उच्च सेवा–सुविधा सम्पन्न ठूला सहरका तथा शिक्षण अस्पतालमा रिफर गर्नुपर्छ । त्यहाँ पनि चाप हुँदा वा सेवा सम्भव नभए क्षेत्र र केन्द्रतिर पठाउनुपर्ने हुन्छ । यसका लागि एम्बुलेन्स, हेलिकोप्टर वा जहाज त चाहिन्छ नै, अर्को तहको अस्पतालमा उपचार क्षमता भएकोमा पनि उत्तिकै विश्वस्त हुनुपर्छ । 

तर कोभिड–१९ को संक्रमणले क्षेत्रीय स्वास्थ्य सेवाको क्षमतामा पनि प्रश्न उठाइदिएको छ । किनकि, तिनका पनि आइसियु शय्याहरू कोभिड–१९ संक्रमितले भरिँदै छन् । अब सिकिस्त बिरामी त्यहाँ रिफर गर्ने अवस्था छैन । त्यसैले स्थानीयस्तरका स्वास्थ्यकर्मी आफूले पहिलोपटक प्रयोग गरिरहेका सामग्री लिएर जानी–नजानी जटिल संक्रमितको उपचार गर्नुपर्ने बाध्यतामा छन् । तिनीहरू आफैँलाई संक्रमणको जोखिम पनि त्यत्तिकै छ । यो महामारीले अमेरिकाको स्वास्थ्य सेवाको वास्तविक अवस्था उजागर गरिदिएको छ । थोरै स्रोत–साधनले संक्रमणको यत्रो चाप वहन गर्नु आफैँमा दर्दनाक छ । सामुदायिक अस्पतालका स्रोत–साधन विशेषज्ञ चिकित्सक भएका क्षेत्रीय अस्पतालको साटो खास–खास स्थानीय मेडिकल सेन्टरमा एकट्ठा गर्दा परिणाम झन् भयावह बन्नेछ । 

(सेप्कोभिच सिएनएनका स्वास्थ्य विश्लेषक हुन्)
सिएनएनबाट