मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार ०८:४७:००
Read Time : > 2 मिनेट
अर्थ

सन् २०२० मा विश्व अर्थतन्त्र एक प्रतिशतले माइनसमा जान्छ : संयुक्त राष्ट्रसंघ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार ०८:४७:००

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला हेर्ने निकाय डिपार्टमेन्ट अफ इकोनोमिक एन्ड सोसियल अफेयर्स (डेसा)ले जारी कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र एक प्रतिशतसम्म खुम्चिन सक्ने प्रक्षेपण सार्वजनिक गरेको छ । तर, आर्थिक गतिविधि लामो समयसम्म यसरी नै अवरुद्ध भइरहे र पर्याप्त आर्थिक प्रतिक्रिया जनाइएन भने विश्व अर्थतन्त्र अरू थप खुम्चिने चेतावनी पनि युएनले दिएको छ । महामारीको प्रकोप आउनुअघि डेसाले विश्वको अर्थतन्त्र यो वर्ष साढे २ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

सन् २००९ को विश्वव्यापी वित्तीय संकटको अवधिमा विश्वको अर्थतन्त्र १ दशमलव ७ प्रतिशतले खुम्चिएको उल्लेख गर्दै डेसाले भनेको छ, ‘कोभिड–१९को महामारीबाट विश्वव्यापी आपूर्ति शृंखला भत्किएर अन्तर्राष्ट्रिय व्यापार अवरुद्ध भएको छ, एक महिनाको बीचमा झन्डै १ सय मुलुकले आफ्ना राष्ट्रिय सिमाना बन्द गरेका छन्, जसबाट मानिस तथा पर्यटकको प्रवाह एकाएक ठप्प बनेको छ ।

अवस्था थप खराब बन्दै गए, सन् २०२० मा विश्वको अर्थतन्त्र कम्तीमा शून्य दशमलव ९ प्रतिशतले खुम्चिनेछ ।’ तर, विश्वका सरकारहरू नागरिकको आयलाई भरथेग गर्न र उपभोगको खर्च बढाउन असफल रहेको अवस्थामा अर्थतन्त्रको संकुचन अझै बढ्न सक्ने चेतावनी पनि डेसाले दिएको छ ।

महामारीको प्रकोप आउनुअघि डेसाले प्रकाशित गरेको ‘वल्र्ड इकोनोमिक सिचुएसन एन्ड प्रोस्पेक्ट’मा सन् २०२० मा विश्वव्यापी आर्थिक वृद्धि २ दशमलव ५ प्रतिशतको मध्यम गतिको हुने आकलन गरेको थियो । विश्वको आर्थिक परिदृश्यमा आइरहेको परिवर्तनलाई मध्यनजर गर्दै डेसाले आफ्नो ‘वल्र्ड इकोनोमिक फोरकास्टिङ मोडल’मार्फत एकदमै राम्रो र खराब परिस्थितिमा सन् २०२० मा विश्वव्यापी वृद्धि कति हुन सक्छ ? भन्ने आकलन प्रस्तुत गरेको छ ।

डेसाका अनुसार परिस्थिति एकदमै राम्रो हुँदै गयो भने सन् २०२० को विश्वव्यापी वृद्धि १ दशमलव २ प्रतिशतमा सीमित हुनेछ । महामारीका कारण जी७ मुलुकका साथै चीनको सार्वजनिक खर्च घट्ने हुँदा विश्वभर निजी उपभोग, लगानी एवं निर्यातमा सामान्य कमी आउनेछ, जसका कारण वृद्धि खुम्चिनेछ । 

त्यसैगरी, सबैभन्दा खराब परिस्थितिमा चाहिँ विश्व अर्थतन्त्र २ दशमलव ५ प्रतिशतले बढ्नुको सट्टा शून्य दशमलव ९ प्रतिशले खुम्चिनेछ । अर्थात्, राम्रो परिस्थितिको भन्दा कुल २ दशमलव १ प्रतिशतले कम भएर विश्वले कम्तीमा २० खर्ब डलर गुमाउनेछ । यो परिदृश्य मागमा व्यापक कमी आएर पर्ने मागको झड्कामा आधारित हुनेछ । उपभोक्ताको आयमा प्रतिकूल प्रभावका कारण चीन, जापान, दक्षिण कोरिया, अमेरिका र इयूमा समेत मागमा व्यापक कमी आउनेछ । 

मानिसको आवतजावत एवं आर्थिक गतिविधि कति लामो अवधि रहन्छ र वित्तीय प्रतिक्रियाहरूको प्रभावकारिता र राहत एवं उद्धार प्याकेजको वास्तविक आकार कस्तो हुन्छ ? त्यसले आर्थिक परिदृश्य कस्तो हुने निर्धारण गर्छ ? ‘सुविचारित वित्तीय प्रोत्साहन प्याकेज, भाइरसको नियन्त्रणमा खर्चको प्राथमिकता, महामारीबाट सबैभन्दा बढी प्रभावित परिवारलाई दिइने आर्थिक राहतले कडा आर्थिक मन्दीको सम्भावनालाई कम गर्न सघाउनेछ,’ डेसाले भनेको छ ।
 
डेसाको सो प्रक्षेपणअनुसार युरोप र उत्तरी अमेरिकाको लकडाउनबाट सेवा क्षेत्र अहिले सबभन्दा कडा मारमा परेको छ । विशेष गरी खुद्रा व्यापार, हस्पिटालिटी, मनोरञ्जन, यातायातजस्ता भौतिक अन्तक्र्रियाको आवश्यकता पर्ने उद्योगहरू लकडाउनले बढी प्रभावित छन् । ती मुलुकमा यिनै उद्योगले एकचौथाइभन्दा बढी रोजगारीमा हिस्सेदारी राख्छन् । त्यसैले, व्यवसायहरूको आम्दानी गुम्न थालेसँगै बेरोजगारी तीव्र रूपले बढ्नेछ र आपूर्ति अवरोधका कारण विश्व अर्थतन्त्रमा लागेको झड्का मागको झड्कामा रूपान्तरण हुनेछ ।

‘महामारीलाई नियन्त्रणमा लिन र मानिसको जीवन बचाउनुका साथै समाजमा सबैभन्दा जोखिममा रहेका कमजोरहरूलाई आर्थिक संकटबाट जोगाउन र आर्थिक वृद्धि एवं वित्तीय स्थायित्वका लागिसमेत आकस्मिक एवं ठोस नीति उपायहरू आवश्यक छन्,’ युएनको इकोनोमिक एन्ड सामाजिक अफेयर्स हेर्ने उप–महासचिव लिउ झेनमिनले भनेका छन् ।

लामो आर्थिक अवरोधका कारण विकसित मुलुकहरूमा परेको प्रतिकूल प्रभाव व्यापार तथा लगानीका च्यानलहरूमार्फत छिट्टै विकासशील मुलुकहरूमा पोखिनेछ, चेतावनी पनि डेसाले दिएको छ । इयू र अमेरिकामा उपभोग घट्दा विकासशील मुलुकहरूको उपभोग्य वस्तुहरूको निर्यात घट्नेछ र उनीहरू मागको झड्काबाट झन् गहिरोसँग प्रभावित हुनेछन् । यसबाट, पर्यटन तथा कमोडिटीको निर्यातमा निर्भर विकासशील मुलुकहरूले आर्थिक जोखिमको सामना गर्नुपर्नेछ, जसका कारण विश्वव्यापी औद्योगिक उत्पादनमा उल्लेख्य संकुचन आउनेछ ।

पर्यटकको संख्यामा आउने कमीले विकासशील राष्ट्रहरूको पर्यटन क्षेत्र ध्वस्त हुनेछ, जहाँ दशौँ लाख अदक्ष कामदारहरू कार्यरत छन् । डेसाले यसले धेरै मुलुकलाई ऋणको दबाबमा पार्ने चेतावनीसमेत दिएको छ । युएनका प्रमुख अर्थशास्त्री एवं उपमहासचिव इलिअट ह्यारिस भन्छन्, ‘यसले सबैभन्दा कमजोर जनसंख्यालाई कसरी प्रभावित पारिराखेको छ र दिगो विकासका लागि त्यसले के अर्थ राख्छ भन्ने कुरालाई हामीले ध्यानमा राख्नैपर्छ ।’ डेसाले ३१ मार्चमा जारी गरेको विज्ञप्तिमा विश्वलाई ‘ठूलो स्तरको समन्वित एवं व्यापक बहुपक्षीय प्रतिक्रिया’का लागि अपिलसमेत गरेको छ ।