Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ चैत २१ शुक्रबार ०८:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

‘लकडाउन’को मौका छोपेर  धमाधम सडक मार्किङ

Read Time : > 1 मिनेट
२०७६ चैत २१ शुक्रबार ०८:१३:००

लकडाउनका कारण काठमाडौंका सडक सुनसान छन् । तर, सडकलाई सिंगार्ने काम भने रोकिएको छैन । सडक विभागले व्यस्त सडकमा गर्न नसकिने सडक सौन्दर्यीकरणलाई निरन्तरता दिएको हो । दैनिक लाखौँ सवारीसाधनको लस्कर देखिने सडक खाली भएको मौका छोपेर विभागले जेब्राक्रसिङ, रोड मार्किङ, लेन मार्किङलगायतका काम न्यून मजदुरबाट गरिरहेको छ । सवारीसाधनको भीड लाग्ने सडकमा मार्किङ भएपछि अहिले चिटिक्क देखिएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर कुवेर नेपालीले सडक व्यस्त हुँदा राति गर्नुपर्ने काम अहिले खाली भएका वेला गरेको बताए । कोरोना भाइरसको सावधानीसहित चार–पाँच मजदुर खटाएर काम भइरहेको उनले जाकारी दिए । 

सडक विभागले लकडाउनअघि काठमाडौंका विभिन्न सकडमा कालोपत्रे गरेको थियो । कतिपय सडकमा लेयर थप्ने, लेन विस्तार गर्नेलगायतका काम पनि भएका छन् । चार महिनाअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वसन्तकुमार नेम्वाङले लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीका सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दोहोर्‍याएका थिए । त्यसयता मन्त्रालयकै चासोमा सडकमा ओभर ले अर्थात् कालोपत्रे लेयर थप्ने कामले गति लिएको भन्दै प्रशंसासमेत भइरहेको छ । सडक डिभिजन काठमाडौंले मात्रै आफूमातहतका सडकमा ९५ प्रतिशत खाल्डाखुल्डी पुरिसकेको छ । मन्त्री नेम्वाङले सय दिनको प्रगतिमा काठमाडौंका नौ हजार पाँच सयवटा खाल्डा पुरेको सार्वजनिक गरेका थिए ।

सडकमा कालोपत्रे लेयर थपेलगत्तै लेन मार्किङ र जेब्राक्रसिङसमेत कोरिएको थियो । डिभिजन प्रमुख नेपालीले भने, ‘अहिले सडकमा ट्राफिक व्यवस्थापन सहज छ, रातमा भन्दा दिउँसै गर्दा काम पनि राम्रो हुने भएकाले यही वेला लेन मार्किङ र जेब्राक्रसिङ कोर्ने कामलाई तीव्रता दिएका छौँ ।’ प्रशासनको अनुमति लिएर सडकमा समेत सामाजिक दूरी कायम गरी काम भइरहेको उनले बताए । ‘गाडी नभएकाले मजदुरले पनि ढुक्कसँग काम गर्न पाउँछन्, काम पनि राम्रो हुन्छ, यो कामका लागि सही मौका पनि भएको छ,’ उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकाल काठमाडौंका ३० प्रतिशत सडकमा मात्रै व्यवस्थित मार्किङ गरिएको बताउँछन् । बाँकी सडकमा जेब्राक्रसिङ र लेन मार्किङ व्यवस्थित छैन । 

कोटेश्वर–जडीबुटी सडकको सतह मिलाउने काम पूरा
लकडाउनकै वेला कोटेश्वर–जडीबुटी सडकको सतह मिलाउने कामसमेत गरिएको डिभिजन प्रमुख नेपालीले बताए । उनका अनुसार थापाथली, माइतीघर, महाराजगन्ज, बालुवाटार र धुम्बाराही क्षेत्रमा सडक मार्किङ र जेब्राक्रसिङ तयार भएका छन् । यस्तै, ज्ञानेश्वर, तीनकुने र गौशाला क्षेत्रमा पनि यही साता मार्किङ गरिने उनले बताए ।