१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २० बिहीबार २१:३१:००
Read Time : > 1 मिनेट
समाचार

बढी मूल्यमा ग्यास बिक्री गर्ने डिलरलाई दुई लाख जरिवाना

Read Time : > 1 मिनेट
२०७६ चैत २० बिहीबार २१:३१:००

अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास अभावका वेला उपभोक्ताबाट बढी मूल्य असुल्ने एक डिलरलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

विभागको अनुगमन शाखा अधिकृत दीपकराज पोख्रेलका अनुसार काठमाडौंको डल्लु क्षेत्रमा रहेको ओम सरस्वती स्टोरले सुगम ब्रान्डको आधा ग्यास भरिएको सिलिन्डर आठ सय रुपैयाँमा बिक्री गरेको पाएपछि उपभोक्ता संरक्षण ऐन, ०७५ अनुसार दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । आधा परिमाण ग्यास भएको सिलिन्डरका लागि आयल निगमले उपत्यकाका लागि ६ सय ८७ रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरेको छ ।

आयल निगमले गुनासो सुन्नका लागि जारी गरेको ११४७ नम्बरमा बिहीबार साँझ ५ बजे एक उपभोक्ताले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरिरहेको उजुरी टिपाएका थिए । उपभोक्ताको उजुरीलाई निगमले वाणिज्य विभागको अनुगमन शाखामा तत्कालै पठाएको थियो । त्यसपछि विभागले तुरुन्तै ध्रुव खनालको नेतृत्वमा अनुगमन टोली डल्लुस्थित सो ग्यास पसलमा पठाएको थियो ।

प्रहरीसहित पाँचजनाको अनुगमन टोली साँझ सात बजे पसल पुगेर सोधपुछ गर्दा बढी मूल्य लिएको सञ्चालकले स्वीकार गरेका थिए । त्यसपछि प्रचलित ऐनअनुसार जरिवाना तिराएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

‘यस्तो अभावका वेला प्रचलित मूल्यभन्दा बढी दरमा ग्यास बिक्री गर्नु निन्दनीय छ । हामीले त योभन्दा बढी जरिवाना तिराउन खोजेका थियौँ । पहिलो घटना भएकाले दुई लाख जरिवाना तिराएका हौँ,’ उनले भने, ‘आउँदा दिनमा ग्यासमा बढी मूल्य लिनेलाई कडा कारबाही हुन्छ भन्ने सन्देश दिन आजको अनुगमन केही हदसम्म प्रभावकारी हुने विश्वास लिएका छौँ ।’

विभागले समेत अत्यावश्यक वस्तुको आपूर्ति, वितरण र मूल्यमा कुनै गुनासो भए ११३७ नम्बरमा गुनासो सुन्ने व्यवस्था गरेको छ । यो नम्बरमा उजुरी आए तत्काल अनुगमन टोली परिचालन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने सुवेदीले जानकारी दिए ।

त्यस्तै बलम्बु क्षेत्रमा रहेको धनलक्ष्मी कोल्ड स्टोरले खरिद-बिक्री बिलविनै खाद्यान्न बिक्री गरेको पाएपछि बिहीबारको अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना तिराएको छ । लकडाउनको समयमा अत्यावश्यक वस्तुको अभाव हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिइरहेको विभागले जनाएको छ ।