१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत २० बिहीबार २०:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना पुष्टि भएकी ६५ वर्षीया वृद्धाको धौलागिरि अञ्चल अस्पतालमै उपचार गरिने

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार २०:५१:००

कोरोना संक्रमण पुष्टि भएकी दुई किशोरीसँगै कतार एयरवेजबाट नेपाल आएकी बाग्लुङकी ६५ वर्षीया वृद्धाको धौलागिरि अञ्चल अस्पतालमै उपचार गरिने भएको छ ।

४ चैतमा  कतार एयरवेजको ‘क्युआर–६५२’ विमानबाट नेपाल आएकी उनी बेल्जियममा छोरी भेटेर फर्किएको परिवार स्रोतले जनाएको छ । उनी अहिले आफ्नै घरमा क्वारेन्टाइनमा बस्दै आएको भए पनि कोरोना पुष्टि भएसँगै उनलाई धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

‘धौलागिरि अञ्चल अस्पतालमा आइसियू कक्ष नभएका कारण उनलाई काठमाडौं पठाउने कि भन्ने विषयमा छलफल भएको थियो,’  गुरौले भने, ‘तर परिवारले यहीँ उपचार गरे सहज हुने बताएपछि यहीँ उपचार गरिने भएको हो ।’

पारिवारिक स्रोतका अनुसार बाग्लुङ नगरपालिकाकी उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनलाई केही अगाडि दमको समस्या देखिए पनि नियमित औषधि खाएपछि निको भएको थियो ।

फागुनको दोस्रो साता कान्छी छोरी भेट्न बेल्जियम गएकी उनको बेल्जियमबाट सँगै आएकी बाग्लुङकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन गरिएको थियो । ती किशोरीका परिवारका सदस्यहरू र उनीसहित ११ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

कोरोना संक्रमित किशोरी र वृद्धा काठमाडौंबाट पोखरा हुँदै बाग्लुङसम्म सँगै आएका थिए । उनीहरूसँग आएका अन्यको पनि स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ ।