धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको जाँच सुरु भएको छ । प्रयोगशालामा कोरोना संक्रमण पत्ता लगाउने उपकरण जडानको कार्य सकिएपछि बिहीबार बेलुकीबाट परीक्षणको काम सुरु भएको सेती प्रादेशिक अस्पतालको आकस्मिक विभाग प्रमुख एवं सूचना अधिकारी डाक्टर जगदीशप्रसाद जोशीले जानकारी दिए ।
कोरोना जाँच गर्ने उपकरण जडान र नमुना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयबाट मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल लेखकसहित प्राविधिक विज्ञ टोली धनगढी आएको छ । संघीय सरकारले चीनबाट खरिद गरेको कोरोना जाँच उपकरण नेपाली सेनाको हेलिकाेप्टरमार्फत धनगढी ल्याइएको थियो ।
प्रयोगशालाबाट दैनिक आठवटा जति थ्रोट स्वाब नमुना जाँच गर्न सकिने जोशीले जानकारी दिए । एउटा नमुनाको रिपोर्ट आउन डेढदेखि दुई घन्टासम्म लाग्ने उनले बताए । जडान गरिएको उपकरणमा एकपटकमा एउटा मात्रै नमुना जाँच गर्ने सुविधा रहेको अस्पतालले जनाएको छ । प्रदेशभरि नै कोरोना जाँचको सुविधा नभएको अवस्थामा दैनिक आठवटा जाँच्ने सुविधाले पनि धेरै राहत हुने उनले बताए ।
यसअघि संकलित नमुना काठमाडाैं पठाउनुपर्ने बाध्यता थियो । एकैपटक धेरै नमुना संकलन गर्नुपर्ने अवस्थामा भने काठमाडौं नै पठाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । यहाँ जाँच गरिएका नमुनाको विश्वसनीयताका लागि जाँच गरिएकामध्ये केही स्याम्पल राष्ट्रिय प्रयोगशालामा पनि पठाइने जोशीले बताए ।
सुदूरपश्चिमबाट हालसम्म कोरोनाको शंकास्पद बिरामीका एक सय ५६ वटा नमुना जाँचका लागि काठमाडौं पठाइएको छ । तीमध्ये ४३ वटाको रिपोर्ट आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनगढीकी निमित्त प्रमुख अस्मिता सापकोटाले जानकारी दिइन् । सुदूरपश्चिममा हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको छ ।
बिहीबार मात्र कैलाली र कञ्चनपुरमा संकलन गरिएका एक सय नौवटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नेपाली सेनाको हेलिकाेप्टरबाट काठमाडौैं पठाइएको उनले जानकारी दिइन् ।