मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २० बिहीबार १२:५५:००
Read Time : < 1 मिनेट
समाचार

खाद्यान्न आपूर्ति र व्यवस्थापनमा स्थानीय तह र प्रशासन सक्रिय

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार १२:५५:००

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलन नदिन सरकारले देशव्यापी ‘लकडाउन’ गरेपछि बजारमा खाद्यान्न आपूर्ति र व्यवस्थापनमा स्थानीय तह र प्रशासन लागिपरेका छन् । लमजुङ प्रशासन कार्यालयमा बुधबार आयोजित जिल्लास्थित आपूर्ति अनुगमन समितिको बैठकमा लमजुङमा अझै दुई महिनाका लागि पुग्ने खाद्यान्न मौज्दात रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए । 

प्रजिअ खड्काले खाद्यान्न ढुवानी भइरहेकाले आपूर्तिमा समस्या नभएको र खाद्यान्नको मौज्दात रहेकाले यसको सहज आपूर्ति भइरहेको उल्लेख गरे । सरकारले घोषणा गरेको लकडाउनको समय अवधिभर अत्यावश्यक खाद्य वस्तुको अभाव हुन नदिन प्रशासन लागिपरेको उनले बताए ।

उनका अनुसार लकडाउनको अवधिभर दैनिक, अत्यावश्यक उपभोग्य वस्तुको कालोबजारी, अनुचित मूल्यवृद्धि, नाफाखोरी, जम्माखोरी, कृत्रिम अभाव सिर्जना गर्ने, अभाव सिर्जना गर्ने–गराउने कार्य रोक्न तथा वस्तु खरिद–बिक्री गर्दा ग्राहक र बिक्रेताबीच भौतिक दूरी कायम गर्ने वातावरण बनाउन पनि अनुगमन हुँदै आएको छ ।

समितिले सबै स्थानीय तहलाई नियमित अनुमगन गरेको प्रतिवेदन बुझाउन अनुरोधसमेत गरेको छ । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बजार अनुगमनका क्रममा केही होलसेल व्यवसायीले अहिलेको अवस्थामा ६ महिनासम्म खाद्यान्न आपूर्ति गर्न सकिने बताएको जानकारी दिए । बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाभित्र खाद्यान्न अभाव, कालोबजारी हुन नदिन नियमित बजार अनुगमन गरिएको बताए ।