मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २० बिहीबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार

कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउन अपिल

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार १२:३८:००

विश्वभरि महामारीको रूपमा फैलिएको कोराेना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सांसद गजेन्द्रबहादुर महतले जुम्लावासीलाई आग्रह गरेका छन् । उनले यहाँका वडाध्यक्षलाई आफ्नो क्षेत्रबाट सकेजतिको सावधानी अपनाउन आग्रह गरेका हुन् । उनले भने, ‘कोरोनाविरुद्धको अभियानको व्यवस्थापन सबै वडाबाट हुन जरुरी छ ।’

जुम्लामा हालसम्म कोराेना भाइरसको संक्रमण नदेखिएकाले उच्च सतर्कता अपनाउन उनले सुझाब दिएका हुन् । जुम्लाका कुनै पनि नागरिकलाई समस्या आउनेबित्तिकै सीधा फोन सम्पर्क गर्न सांसद महतले आग्रह गरेका छन् ।

जुम्लाका वडाध्यक्षलाई पाँचवटा सुझाब दिँदै उनले सरकारले गरेका निर्णय वडा तहवाटै लागू हुने भएकोले निर्णयबारे स्पष्ट जानकारी लिन आग्रह गरे । वडाभित्रका हरेक दिन ज्याला–मजदुरी गरी छाक टार्नेहरूको विवरण तत्काल संकलन गरी उनीहरूलाई एक हप्तासम्म खान पुग्ने खाद्यान्न वा सो रकमबराबरको नगद उपलब्ध गराउन सांसद महतले सुझाएका छन् ।

खर्चको जिम्मेवारी सम्बन्धित वडाले लिने, वडाले नसक्ने अवस्था आए गाउँपालिका वा नगरपालिकालाई लिन लगाउने, उक्त निकायले पनि नमाने सम्बन्धित प्रदेशको सांसदलाई जानकारी गराउने र उहाँहरूले पनि आनाकानी गरेमा संघीय सांसदलाई जानकारी गराउन उनले वडाध्यक्षलाई सुझाब दिएका छन् ।

आधिकारिक निकाय वडा नै भएकाले जनतामा जाने कुनै पनि किसिमका राहतको अगुवाइ वडाले गर्ने उनले बताए । वडाभित्रका सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन वा सार्वजनिक स्थलमा निर्माण भएका क्वारेन्टाइनको विवरण लिएर माथिल्लो निकायमा जानकारी गराउन उनले सुझाएका छन् ।