मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
राज सरगम काठमाडाैं
२०७६ चैत २० बिहीबार ११:४६:००
Read Time : > 1 मिनेट
सप्तरंग

लकडाउनमा संगीतकार : फुर्सदको सिर्जनात्मक अवसर

Read Time : > 1 मिनेट
राज सरगम, काठमाडाैं
२०७६ चैत २० बिहीबार ११:४६:००

लकडाउनको नवौँ दिन । घरमै बसिरहँदा दिक्दार लाग्नु स्वाभाविकै हो । मानिसलाई कतिखेर बाहिर निस्किउँझैँ भएको हुन सक्छ । नेपाली संगीतकारहरूले भने यसमा अवसर देखेका छन् । र, सामान्य दिनझैँ सिर्जनात्मक काममा जुटेका छन् ।

उनीहरूका लागि लकडाउनको एकाग्रता सिर्जनात्मक बन्ने अवसर बनेको छ । ‘हामीलाई प्रशस्त अवसर मिलेको छ,’ संगीतकार कालीप्रसाद बाँस्कोटा भन्छन् । उनी फेसबुक र इन्स्टाग्राममा लाइभ गीत गाइरहेका छन् । परिवारसँग नजिक हुन पनि लकडाउनले सहयोग पु¥याएको उनी बताउँछन् । भन्छन्, ‘संगीतकारका लागि होम क्वारेन्टाइन सुरक्षात्मक र सिर्जनात्मक दुवैमा ध्यान दिने समय हो ।’

संगीतकार दीपक शर्माले यसबीचमा दुईवटा गीतको संगीत तयार पारेका छन् । गीतकार राजेन्द्र थापा अहिले शब्दमा काम गरिरहेका छन् । भन्छन्, ‘खुलेर काम गर्ने मुड छैन । तर, गीत–संगीतको काम एकान्तमा राम्रो हुने भएकाले खाली बसेको छैन ।’

‘हामीलाई प्रशस्त अवसर मिलेको छ,’ संगीतकार कालीप्रसाद बाँस्कोटा भन्छन्, ‘संगीतकारका लागि होम क्वारेन्टाइन सुरक्षात्मक र सिर्जनात्मक दुवैमा ध्यान दिने समय हो ।’

संगीतकार अर्जुन पोखरेलले दैनिक चार घन्टा संगीतका लागि छुट्याएका छन् । मध्याह्नपछि उनी संगीतमा जुट्छन् । उनी केही चलचित्र र एल्बमका लागि संगीत दिन व्यस्त छन् । भन्छन्, ‘घरमै बसेर पनि सिर्जनात्मक काम हुन्छ तर एकाग्र हुन अलि गाह्रोचाहिँ छ ।’

संगीतकार वसन्त सापकोटाले आठ दिनमा एल्बम र चलचित्रका गरी पाँचवटा गीतलाई संगीतबद्ध गरे । ‘एकान्तमा गरिने काम भएकैले संगीतकारहरू त्यसै बस्न सक्दैनन्,’ उनी भन्छन् ।

संगीतकार विपिन आचार्य पनि लकडाउनले सिर्जनाको अवसर जुराइदिएको बताउँछन् । अति व्यस्तताबीच एकग्रताको समय बनेको छ, उनलाई लकडाउन । भन्छन्, ‘हाम्रो काम नै एकान्तमा हुने भएकाले लकडाउनले त्यति असर पारेको छैन ।’

संगीतकार अर्जुन पोखरेलले दैनिक चार घन्टा संगीतका लागि छुट्याएका छन् । मध्याह्नपछि उनी संगीतमा जुट्छन् ।

संगीतकार सन्तोष श्रेष्ठ अहिले दाङमा छन् । यो समयमा दुईवटा जागरण गीत तयार गरे उनले । डा. नवीन अधिकारीको शब्द, सन्तोषको संगीत र राज सिग्देलको स्वरमा एउटा गीत रेकर्डिङ गरे, दाङमै । कालीप्रसाद रिजालको शब्द रहेको गीतमा संगीत र विश्व नेपालीको स्वरमा दोस्रो गीतको रेकर्डिङ गर्दै छन् । यति काम गरिरहँदा खाली बस्नु नपरेको उनी बताउँछन् । भन्छन्, ‘सिर्जनात्मक काम गर्दा अन्य कुरा सोच्न पाइँदैन ।’

संगीतकार राजु सिंह पनि संगीतकर्ममै एकाग्र छन् । कोरोनाको डरका कारण नियमित संगीत भर्न नसके पनि दिनमा एक समय सिर्जनात्मक कामलाई छुट्याएको उनी बताउँछन् । केही एल्बम र सोलो गीतमा काम गरिरहेका छन्, उनले । भन्छन्, ‘गीतसंगीतको काम एकान्तमै हुने भए पनि ध्यान बाहिरी दुनियाँतिर मोडिएको छ । तर, काम पनि गरिरहेको छु ।’