Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विमल पोखरेल
२०७६ चैत २० बिहीबार १०:२९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

बाँचुन्जेल अस्पतालले, मरेपछि आर्यघाटले पैसा धुत्ने व्यवस्था 

Read Time : > 3 मिनेट
विमल पोखरेल
२०७६ चैत २० बिहीबार १०:२९:००

मानिसको जीवन कैयौँ सुन्दर रंगले भरिएको हुन्छ । मानिस रमणीय संसारमा जन्मिन्छ र सुन्दर ढंगले जीवनयापन गर्न चाहन्छ । मृत्यु पनि सुखद नै होस् भन्ने चाहन्छ । आफ्नो मृत्युपछि आफन्तले दुःख नपाऊन् भन्ने पनि उसको चाहना हुन्छ । सबै मानिस एउटै प्रक्रियाबाट जन्मिए पनि उनीहरूको जीवन सधैँ सुखद हुँदैन । मृत्यु पनि सुखद हुँदैन र उसको मृत्युपछि पनि परिवारका मानिसले दुःख नपाउने भन्ने हुँदैन । समाजमा भएको वर्गीय विभाजनले करोडौँ मानिसको जीवनलाई रंगहीन बनाइदिएको छ । जीवन र मृत्युबारे चर्चा गरिरहँदा यहाँ नयाँ पत्रिकाले प्रकाशित गरेको समाचार स्मरणीय छ ।

जब मरेका मानिसको लास जलाउन पाइँदैन र परिवारका सदस्यलाई राज्यले दुःख दिन्छ, त्यो मृत्यु भएका व्यक्तिमाथि राज्यद्वारा गरिएको गम्भीर अपराध हुन जान्छ । औषधि पसलमा औषधि उधारो पाइएला, अस्पतालमै लाखौँको उपचार उधारोमा पनि होला, कपडा पसलमा कात्रो पनि उधारो पाइएला । तर, पशुपतिमा उधारोमा लास जलाउन पाइँदैन । त्यहाँ नगदै कारोबार हुन्छ । यति घृणित व्यवस्था सम्भवतः अन्यत्र नहोला ? त्यहाँका पदाधिकारीले गरिब भएको प्रमाण पेस गरेमा लास जलाउन सहुलियत हुने बताउने गरेका छन् । तर, गरिबको पहुँचमा त्यो कहाँ हुनु र ? 

राज्यले खडा गरेको पशुपति विकास कोषले हजारौँ गरिबलाई पीडा दिएर रकम उठाउने गरेको छ । कोषले जसरी महँगो मूल्यमा लासको कारोबार गरिरहेको छ, त्यो तुरुन्तै रोकिनुपर्छ । विभागीय मन्त्रीका हिसाबले योगेश भट्टराईले यसमा जरुर पहल लिनेछन् । यसमा राज्यका तर्फबाट मृतकका परिवारलाई राहत महसुस गराइनुपर्छ । तर, पशुपतिमा यसको ठीक उल्टो हुने गर्छ । त्यहाँ मृत्यु भएका परिवारलाई थप पीडा दिने गरिन्छ । कुरा पैसाको मात्रै होइन, व्यवहारको पनि हो । त्यहाँका कर्मचारीले गर्ने रुखो व्यवहार धेरै नै पीडादायक हुने गर्छ । भक्तपुरका ४० वर्षीय राजेश श्रेष्ठ जिउँदा थिएनन् ।

मरेपछि लासले पनि मूल्य तिर्नुपर्ने राज्य–व्यवस्था मूल रूपमा लुटेरा राज्य–व्यवस्था हो, समाजवादको नाममा यसप्रकारका लुट हरेक ठाउँमा विद्यमान छन् । जीवनको मूल्यको हिसाब नगर्ने राज्यले लासको मूल्य तोकेर बस्नु कति जायज हो ?

उनलाई जलाउनका लागि अन्त लैजाने कुरा पनि थिएन । किनभने जहाँ लगे पनि आखिर जलाउनु नै थियो । त्यस्तै विदेशबाट दैनिक सरदर तीनजनाको लास नेपाल आउने गर्छ । पैसा कमाउन विदेश गएका युवाहरू विभिन्न कारणले उतै मृत्युवरण गर्ने गर्छन् । विदेशमा मृत्युवरण हुनु देशका लागि नराम्रो त हुँदै हो, परिवारका लागि पनि पीडाको विषय हो । विदेशमा मृत्युपछि कैयौँ दुःख झमेलाका बाबजुद उनीहरूको लास नेपाल आउने गर्छ । घरबाट बुबाआमाले ऋण खोजेको पैसा बोकेर लास जलाउन काठमाडौं आउनुपर्ने बाध्यता छ । गरिबको थाप्लोमा परेको यो ऋणको हिसाब–किताब राख्ने कोही छैन । तिनीहरूको हिसाब–किताब राख्ने कसले ? गरिबको दुःख, पीडाको त के हिसाब हुन्छ होला होला र ?

गरिबहरूले नेपालका दूरदराजमा डाक्टरको मुख देख्न मुस्किल पर्छ । सिएमए पढेका स्वास्थ्यकर्मीले दिएका औषधिले धान्न नसकेपछि बिरामी नजिकको सहर झर्ने गर्छन् । त्यहाँ पनि उनीहरूले धेरै पैसा खर्च गरिसकेका हुन्छन् । विशेषज्ञ सेवाको अभाव भएका कारण थला पर्दै गएका धेरै बिरामी अन्तिम उपचारका लागि काठमाडौं आउने गर्छन् । भन्न परोइन, त्यसरी काठमाडौं ल्याइएका बिरामी अन्तिम अवस्थाका हुन्छन् । निको भए घर फर्काउने, नभए आर्यघाटमै जलाउने आमनियति नै बनिसकेको छ । त्यति गरिसक्दा गरिबहरूको उठिबास भइसकेको हुन्छ । काठमाडौंका निजी अस्पतालले भएजति सबै पैसा सिध्याइदिन्छन् । भेन्टिलेटरमा राखेर लाखौँको बिल उठाइदिन्छन् । उपचारको क्रममा पैसा सकिएपछि बिरामीका लागि मर्नुबाहेक अर्काे विकल्प हुँदैन । तिनीहरू अस्पतालमै मृत्युवरण गर्छन् । उपचार गर्न पैसा नपुगेर मृत्यु हुन पुगेका मान्छेको लासलाई पशुपति लगिएपछि त्यहाँ फेरि पैसा तिर्नुपर्छ । बाँचुन्जेल अस्पतालले, मरेपछि आर्यघाटले पैसा धुत्ने व्यवस्था गरिबका लागि निकै नै क्रूर व्यवस्था हो । 

देशको हरेक नागरिक राज्यको सम्पत्ति हो । व्यक्तिले राज्यका लागि श्रम गरेरै ठूलो योगदान गरेको हुन्छ । यद्यपि उसले गरेको श्रमबाट फाइदा लिने पुँजीपति बेग्लै छन् । तर, एउटा गरिब कामदार, किसान, मजदुर जोसुकैले भए पनि सकेजति योगदान गरेको हुन्छ । तर, राज्यसंयन्त्रको शोषण गर्ने चरित्रका कारण गरिब मजदुरको अवस्था सधैँ दयनीय हुन्छ । जीवनभर योगदान गरेको नागरिक मर्दा उसलाई जलाउनका लागि पैसा तिर्नुपर्ने यो कस्तो राज्यव्यवस्था हो ? उसले तिरेको कर, उसले गरेको श्रमको मूल्यले नपुगेर मरेपछि उसैको लासले फेरि पनि मूल्य तिर्नुपर्ने राज्यव्यवस्था मूल रूपमा लुटेरा राज्यव्यवस्था हो । समाजवादको नाममा यसप्रकारका लुट हरेक ठाउँमा विद्यमान छ । जीवनको मूल्यको हिसाब नगर्ने राज्यले लासको मूल्य तोकेर बस्नु कति जायज हो ?

शिवरात्रिमा हजारौँ जोगीलाई करोडौँ बाँड्न सकिन्छ, पशुपतिमा पूजाका नाममा अर्बाैं खर्च गर्न सकिन्छ भने गरिबको लास जलाउनका लागि पैसा असुल्न छाडेर त्यसलाई निःशुल्क गर्न सकिन्न ? त्यसैले विभिन्न नाममा राज्यको यो लुटधन्दालाई अब बन्द गरिनुपर्छ । सिंहदरबारले प्रत्यक्ष शासन चलाइरहेको पशुपतिमा लास जलाउनका लागि जसरी हजारौँ रुपैयाँ असुल्ने गर्छ, त्यो मरेका मान्छेमाथिको अपराध हो । पशुपतिनाथमा लाखौँ भक्तजनले चढाएको करोडौँ, अर्बाैं संकलन भइसक्यो होला, तर त्यही भक्तजन मर्दा भने आफँैले चढाएको पैसाले उसको दाहसंस्कार गरिँदैन । फेरि पैसाको मुठो बुझाउनुपर्छ । जिउँदो हुँदा पनि पशुपतिको नाममा पैसा चढाउनुपर्ने, मरेपछि पनि पशुपतिलाई नै पैसाको मुठो बुझाउनुपर्ने कहिलेसम्म ? अब यो अन्त्य गरिनुपर्छ ।