१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार ०९:४०:००
Read Time : > 2 मिनेट
सम्पादकीय

दीर्घकालीन तयारी गर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार ०९:४०:००

बुधबार दिउँसोसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेहरू जम्मा ५ जना छन् । त्यसमध्येका एकजना डेढ महिनापहिल्यै उपचार भएर फर्किसकेका छन् । बाँकी चारजना उपचारका क्रममा भए पनि उनीहरूको सम्पर्कमा रहेका अरू जोजसको परीक्षण भएको छ, तिनीहरू संक्रमणमा परेको देखिएको छैन । यसरी हेर्दा नेपालले तत्काल ठूलो जोखिम व्यहोर्नु नपर्ने हो कि भन्ने विश्वास बढेको हुन सक्छ । यही भएर पनि होला सरकारले १८ चैतपछि सात दिनलाई मात्र लकडाउनको अवधि थपेको छ । 

परिस्थिति विकास हुँदै जाँदा जे गर्नुपर्ने देखिन्छ, त्यही गर्ने सरकारको नीति रहेको यसबाट बुझ्न सकिन्छ । तर, विश्वभर कोरोना संक्रमणको प्रकृति र नेपालमा आन्तरिक तथा बाह्य बसाइँ सराइको प्रभावस्वरूप चैतको दोस्रो सातापछि भएका मानिसको व्यापक अन्तरघुलनको दर हेर्दा भने नेपालको जोखिम बल्ल सुरु हुने सम्भावना छ । यसबीच सरकारले केही तयारी तीव्र पारेको छ । 

कोरोनाले ल्याउने सम्भावित प्रतिकूलतासँग जुध्न सरकारका तर्फबाट दीर्घकालीन योजना बनाउन आरम्भ गरिहाल्नुपर्छ । 

परीक्षणको दायरा विस्तार गर्ने निर्णयसँगै स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री प्रदान गर्ने गति बढेको छ । यससँगै अब पर्याप्त परीक्षण हुने, परीक्षणपछि संक्रमित देखिएका व्यक्तिको सम्पर्क सञ्जाल कताकता विस्तार भयो, त्यसलाई खोजीनिती गरेर पत्ता लगाउने र शंका लागेकाजति सबैलाई अलगावमा राख्ने काम सहज हुनेछ । तर, यसले हामीले सामाना गर्नुपर्ने वास्तविक समस्याको चित्र भने उतार्दैन ।

चीनले कठोर प्रयास गरेर ८२ हजारको संख्यामा संक्रमित र ३३ सयको संख्यामा मृत्यु भएपछि झन्डै दुई महिनामा संक्रमणको दरलाई नियन्त्रण गरेको छ । तर, उसले अझै पनि ढुक्कसँग महामारीबाट मुक्त भएको भन्न सकेको छैन । उत्पादनको काम सुस्तसुस्त सुरु हुन थालेको भए पनि पूर्ण रूपमा व्यवसायहरू सञ्चालनमा आउन अझै महिनौँ लाग्ने अवस्था छ।

यता अमेरिका र युरोपमा यो महामारी तीव्र रूपमा फैलिइरहेको छ । अमेरिकी अधिकारीले अमेरिकामा मात्रै १ लाखको हाराहारीमा कोरानाका कारण मृत्यु हुने आकलन गरेका छन् । अहिले झन्डै दुई लाखलाई संक्रमण भइसकेको छ । यता भारतमा संक्रमितहरूको वृद्धि आरम्भमा ढिलो र सुस्त देखिएको भए पनि तीन दिनयताका तथ्यांकले त्यहाँ यसको विस्तारले अब गति लिने अनुमान गरिएको छ । भारतमा यसको फैलाव जति विस्तारित हुनेछ, नेपालका लागि सामान्य अवस्थामा फर्कन पनि त्यति नै समय लाग्नेछ । 

अर्थात्, नेपालले नियन्त्रण नै ग-यो भने पनि हाम्रो दैनिक जीवनका अनेक आयाम विश्वका अन्य देशको संक्रमण दरसँग धेरै हदसम्म जोडिन पुग्छन् । अमेरिकामा जुनको आरम्भसम्ममा यो रोग नियन्त्रणमा लिने आशा गरिएको छ । यी सबै अवस्थालाई हेर्दा नेपालले पनि यो संक्रमणका प्रभाव कम गर्न र यसको सामना गर्न अल्पकालीन र दीर्घकालीन सोच बनाउनु जरुरी देखिन्छ । भारतमा फैलिँदै गयो भने नेपालले दैनिक उपभोग्य वस्तुमा समेत चरम अभाव सामना गर्नुपर्ने अवस्था आउनेछ । यो त तीन महिना भारतले प्याज निर्यातमा नियन्त्रण गर्दा पनि देखिएकै हो । 

लकडाउनले बन्द भएका उद्योग व्यवसाय सञ्चालनमा आउन नसकुन्जेल हाम्रो आर्थिक गतिविधि ठप्पप्रायः हुनेछ । रेमिट्यान्स घट्ने निश्चित छ । यसै पनि पुँजीगत खर्च बढाउन नसकेको सरकारी लगानीले आर्थिक वृद्धिदर थेग्ने सम्भावनै हुँदैन । यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशत कायम भयो भने पनि त्यसलाई ठूलै उपलब्धि मान्नुपर्ने हुन्छ । यो भनेको हाम्रो वृद्धिदरलाई पछि धकेल्ने अवस्था हो । यसले सिर्जना गर्ने बेरोजगारी र बढ्ने गरिबीको दरले थप समस्या निम्त्याउनेछ । यी सबै प्रतिकूलतासँग जुध्न सरकारका तर्फबाट दीर्घकालीन रूपमा कोरोना प्रभाव प्रतिकारको योजना बनाउन आरम्भ गरिहाल्नु जरुरी छ ।