१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत २० बिहीबार ०८:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भक्तपुरका अस्पतालमै छैन  कोरोना रोकथामको पर्याप्त तयारी

Read Time : > 1 मिनेट
२०७६ चैत २० बिहीबार ०८:४१:००

भक्तपुरका सरकारी तथा निजी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारका लागि पर्याप्त तयारी भएको छैन । भक्तपुरका अस्पतालले पर्याप्त आइसोलेसन बेड तयार गर्न सकेका छैनन् भने स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नहुँदा कोरोनाको आशंकामा भर्ना भएका बिरामीले समेत राम्रो उपचार पाएका छैनन् । 

सरकारले भक्तपुर अस्पताललाई कोरोना उपचारका लागि विशेष अस्पताल बनाउने निर्णय गरेको छ । तर, पिपिई अभावले डाक्टर नै असुरक्षित महसुस गरेका छन् । सरकारले अस्पतालका लागि २५ पिपिई दिएको थियो । अहिलेसम्म अस्पतालमा कोरोना शंकास्पद ३४ बिरामीको उपचार भइसकेको छ । ‘शंकास्पद बिरामीको उपचारमा स्वास्थ्यकर्मीले पिपिई लगाउनैपर्छ, अहिलेसम्म ३४ जनाको आइसोलेसनमा राखेर उपचार भइसकेको छ,’ स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भने, ‘दैनिक ५–६ सेट पिपिई खपत भइरहेको छ, तर आवश्यकताअनुसार उपलब्ध भएको छैन ।’ कार्यालयले पिपिई व्यवस्थापन गर्न सरकारलाई माग गरिसकेको उनले बताए । भक्तपुरबाहेक अन्य अस्पतालले कोरोनाका शंकास्पद बिरामीलाई भर्नासमेत गरेका छैनन् । 

जनस्वास्थ्य अधिकृत मिजारका अनुसार सरकारले डा. इवामुरा अस्पताललाई पाँच, भक्तपुर क्यान्सर अस्पताललाई १५, मध्यपुर अस्पताललाई पाँच, च्याम्हासिंह जनस्वास्थ्य शाखालाई १२ सेट पिपिई उपलब्ध गराएको छ । ‘अहिले बिरामी धेरै छैनन्, सरकारले दिएका र अस्पतालले आफैँले समेत बनाएका पिपिईले काम चलेको छ,’ जनस्वास्थ्य अधिकृत मिजारले भने, ‘तर, बिरामीको संख्या बढ्नेबित्तिकै पिपिई अभावले समस्या आउँछ, पिपिई व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।’ अस्पतालले डाक्टरसहित स्वास्थ्यकर्मीलाई तालिमसमेत दिइरहेका छन् । मिजारले भने, ‘सबै अस्पतालमा कम्तीमा एकजना डाक्टर उपलब्ध हुने अवस्था छ, कतिपय अस्पतालमा पर्याप्त पनि छन् ।’

नेपाल–कोरिया मैत्री अस्पतालमा पनि कोरोना परीक्षण

मध्यपुरठिमी नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री अस्पतालमा कोरोना परीक्षण सुरु भएको छ । भक्तपुरमा कोरोना भाइरस परीक्षण गर्ने नेपाल–कोरिया मैत्री अस्पताल पहिलो हो । यसअघि नमुना संकलन गरी टेकु अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले कोरोनाको उपचारका लागि चारवटा भेन्टिलेटरसहितको आइसियू र १६ वटा आइसोलेसन वार्ड निर्माण गरेको छ । पिसिआर मेसिन राखेर नमुना परीक्षणको काम थालेको अस्पतालका प्रमुख डा. ज्ञानकृष्ण कायस्थले बताए । अस्पतालमा २६ डाक्टर र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीको टोली २४सै घन्टा अलर्ट राखिएको डा. कायस्थले बताए ।

नगरपालिकाले दातृ निकाय र निजी क्षेत्रसँग साझेदारी गरी पिसिआर र पिपिईसमेत उपलब्ध गराएको मेयर मदनसुन्दर श्रेष्ठले बताए । मेयर श्रेष्ठका अनुसार नगर क्षेत्रमा विदेशबाट फर्किएका ३२ जनाको नमुना संकलन भएको र बिहीबारबाट परीक्षण हुँदै छ । ‘हामी परीक्षण गर्छौं, पोजेटिभ देखिए पुनः परीक्षणका लागि टेकु पठाउँछौँ,’ डा. कायस्थले भने, ‘हामीसँग उपलब्ध पूर्वाधार र जनशक्तिको सामथ्र्यबमोजिम उपचारका लागि सबै तयारी भएको छ ।’ नगरपालिकाले बोडेस्थित तालिम केन्द्र भवनमा क्वारेन्टाइन निर्माणका लागि तयारी गरिरहेको छ । 

४६ आइसोलेसन बेड तयार

भक्तपुरका अस्पतालमा ४६ आइसोलेसन बेड तयार भएका छन् । केएमसी अस्पतालमा १० आइसोलेसन बेड छन् । सरकारको निर्देशनपछि ३९ आइसोलेन बेड बनाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । यस्तै, भक्तपुर अस्पतालमा १०, नेपाल–कोरिया मैत्री अस्पतालमा १६, इवामुरा अस्पतालमा पाँच, मध्यपुर अस्पतालमा चार र नागरिक अस्पतालमा एक आइसोलेसन बेड तयार छन् । प्रजिअ पाण्डेले भनिन्, ‘आवश्यकताअनुसार बेड संख्या बढाउन सकिने पनि भनेका छन्, अहिले दुवाकोटस्थित केएमसी अस्पतालमा धेरै बेड बनाउने काम भइरहेको छ ।’ सरकारले भक्तपुर अस्पतालमा पनि कोरोना उपचार गर्ने भनेपछि त्यहाँ पनि बेड संख्या बढाउने तयारी भएको उनले बताइन् ।