मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सागर चन्द काठमाडाैं
२०७६ चैत २० बिहीबार १०:३१:००
Read Time : > 5 मिनेट
पालिका अपडेट

कोरोना कहर : राजमार्गमा रातिराति बालबालिका, महिला र वृद्धको लस्कर

अँध्यारोमा हिँडेरै छिचोल्नुछ सयौँ किलोमिटर सडक

Read Time : > 5 मिनेट
सागर चन्द, काठमाडाैं
२०७६ चैत २० बिहीबार १०:३१:००

-लकडाउन गरेका सहरका सडक दिनभर सुनसान देखिन्छन्, तर रातभर पैदलयात्रीले खचाखच हुन्छन्

-उपत्यकाको बसाइ लम्ब्याउन नसक्नेहरूसँग गाउँ फर्किनु बाध्यता बन्दैछ, तर गाडी नचल्दा कष्टपूर्ण पैदलयात्रा एक मात्र विकल्प बनेको छ

-काठमाडौंबाट साढे तीन सय किलोमिटर टाढा सुनसरीसम्म हिँडेरै पुग्ने आँट लिएर पैदलयात्री लम्किरहेका छन्

-सडकमा प्रहरी र पैदलयात्रीको लुकामारी चल्छ, प्रहरीका आँखा छल्दै पैदलयात्री अघि बढ्छन्

‘लकडाउन’को सातौँ दिन । रातको साढे ११ बजे बिपी राजमार्गको काभ्रेभञ्ज्याङमा छौँ, हामी । राजमार्गमा गुड्नुपर्ने त गाडी हो । तर, दृश्य ठीक उल्टो छ, गाडी थन्किएका छन् । राजमार्गमा मान्छेहरूको लस्कर छ ।

लस्करमा दुधेबालक, महिलादेखि ६० वर्षका वृद्धसम्म छन् । रातको सन्नाटामा सुनसान राजमार्गमा लकडाउन छिचोल्दै पैदल हिँडिरहेका यी सबैको एउटै लक्ष्य छ, आफ्नै घरको आँगन टेक्नु ।

 दृश्य एक
काभ्रेभञ्ज्याङको चुनदेवी पेट्रोल पम्पको आडैमा निदाएका छन्, ५७ वर्षीय शिवनारायण मेहता । मेहतासँगै खुला आकाशमा निदाएका छन्, उनका ९ जना साथी । उनीहरूको छेउमा चाउचाउ र बिस्कुटका खोलसँगै रित्तिएका पानीका बोतल देखिन्छन् । अनुमान गर्न सकिन्छ, उनीहरू यही खाएर निदाएका हुन् ।

हामी आएको चाल पाएपछि बिउँझिए मेहता । हामीलाई देख्नासाथ उनले आशा मान्दै सोधिहाले, ‘हजुर, गाडी छ ?’ काठमाडौंको थलीबाट १७ गते मध्याह्न १२ बजे यात्रा थालेका मेहताको गन्तव्य सुनसरीको इनरुवा हो । ‘खुट्टा दुखिरहेको छ,’ थकानले सुन्निएको खुट्टा देखाउँदै मेहताले भने, ‘एकछिन आराम गर्छु, त्यसपछि हिँड्छु ।’ ३ सय ५० किलोमिटरभन्दा लामो पैदलयात्रामा निस्किएका मेहतासँग जुत्ता पनि छैन । खिइसकेको चप्पलको भरमा यात्रा पार गर्नुछ ।

मेहता निर्माण मजदुरको काम गर्छन् । ‘घरमा कमाउने आदमी छैन । बुढी, छोरी र सानी नातिनी मात्र छन्,’ आफूले काम नगरे परिवार भोकले मर्ने बाध्यता सुनाउँछन्, मेहता । मेहतालाई पैदलयात्राभन्दा ठूलो दुःख यसपटक मजदुरी नपाएकामा छ । ‘ठेकदारले बैंक बन्द छ, कहाँबाट दिन्छु भन्यो । गाडीभाडा भनेर हजार रुपैयाँ मात्र दियो,’ मेहताले निराशा सुनाए । काठमाडौंमै बसौँ काम छैन, खान पाइँदैन । घर जाऊँ कमाएर ल्याउँछ भनेर आशा गरेर बसेका छन् । ‘न यताको भइयो, न उताको,’ मध्यरातमा मेहताले दुःखेसो पोखे ।

‘लकडाउन हुनुअगाडि नै घर किन नजानुभएको ?’ हामीले सोध्यौँ । ‘काम गर्दा हामी थली गाउँमा थियौँ,’ मेहताको छेउमा सुतेर हाम्रो कुराकानी सुनिरहेका वीरेन्द्र मेहताले भने, ‘लकडाउन भनेको के हो भनेर हामीलाई थाहा भएन । पछि मात्र थाह भयो, घरभित्र बस्नुपर्छ भनेर ।’

उनीहरूले लकडाउनको अर्थ थाहा पाउन्जेलसम्म ढिला भइसकेको थियो । काठमाडौंमै बसौँ, खाने के भन्ने समस्या सुरु भयो । ज्यान बचाउने एउटै विकल्प बाँकी रह्यो, तीन सय ५० किलोमिटर पैदलयात्रा ।

अगाडिको यात्रा कस्तो हुने हो, उनीहरूलाई थाहा छैन । तर, काभ्रेभञ्ज्याङसम्मको यात्रामै प्रहरीबाट बारम्बार दुःख पाएको अनुभव छ । प्रहरीको आँखा छल्दै उनीहरू यहाँसम्म पुगे । अगाडिको यात्रामा प्रहरीको आँखा छल्न के–के गर्नुपर्ने हो, थाहा छैन । घर कहिले पुगिने हो, यकिन छैन । ‘५ दिनमा त कसो नपुगिएला,’ मेहताले हिम्मतसाथ भने । 

मेहताले गाडी चढेर जाने प्रयास पनि गरेका हुन् । तर, जिल्ला प्रशासन कार्यालयले उनको प्रयास असफल बनाइदियो । थली प्रहरी चौकी, त्यहीँको वडा कार्यालयको सिफारिससहित उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए । तर, प्रशासन कार्यालयले सीधै जवाफ दियो ‘गाडी चल्दैन ।’

रातको १२ बजिसक्यो । मेहता र अरूलाई २ बजे बिउँझेर घरतर्फको यात्रा तय गर्नुछ । छुट्टिने वेला हात जोड्दै मेहताले याचना गरे, ‘तपाईंहरूको सम्पर्कमा गाडी छ भने भन्दिनुहोस् न ।’

 दृश्य दुई

भकुन्डेबेंसी, रातको १२ बजिसकेको छ । सुनसान सडकमा एकोहोरो सुनिन्छ, पैदलयात्रीका चप्पल पड्किएको आवाज । काँधमा छड्के बेरेको सलमा प्रविना तामाङले १६ महिनाको छोरा बोकेकी छिन् । प्रविनाका श्रीमान् सुब्बा तामाङले अँध्यारो चिर्न मोबाइलको बत्ती बालेका छन् । अन्धकारको डर भगाउन मोबाइलमा तामाङ भाषाको गीत पनि बजाएका छन् ।  

यी तामाङ दम्पती भक्तपुरबाट सिन्धुली जान हिँडेका हुन् । १ सय ३० किलोमिटरभन्दा लामो यात्रामा निस्किएका तामाङ दम्पतीसँग सायद अडिने समय थिएन । त्यसैले हिँड्दाहिँड्दै कुरा गर्नुपर्ने भयो । बिहान १० बजे भक्तपुरबाट निस्केका उनीहरूलाई प्रहरीले बाटोमा रोक्न थालेपछि प्रहरीको आँखा छल्दै हिँड्नुपर्दा समय धेरै लाग्यो ।
भक्तपुरको लक्ष्मी इँटाभट्टामा काम गर्ने तामाङ दम्पतीले कोरोना भाइरस आएको, सरकारले लकडाउन गरेको पत्तै पाएनन् । अचानक मालिकले १४ चैतमा काम रोक भनेपछि मात्र उनीहरूले बन्द भएको चाल पाए । ‘हामीलाई त १४ गते छुट्टी दिएपछि मात्र थाहा भयो,’ काखमा निदाएको बच्चालाई छोप्न राखेको सल मिलाउँदै प्रविनाले भनिन् ।

छुट्टी त पाए, तर घर जान पैसा भएन । एउटा इँटा बनाएको एक रुपैयाँ पाउने उनीहरूले पछिल्लो ५ महिनादेखिको ज्याला पाएका छैनन् । ५ महिनामा कति इँटा बनायौँ भन्ने हिसाब पनि छैन, उनीहरूसँग । ‘पुरानो पैसा लिएका थिएनौँ । साहूले बैंक बन्द छ भनेर अहिले पनि पैसा दिएन,’ चाउचाउ र बिस्कुटको भरमा १६ महिने बच्चा काखी च्यापेर सयौँ किलोमिटरको यात्रामा निस्किएकी प्रविनाले मजदुरले भोग्दै आएको शोषणको पोको खोलिन् ।

 दृश्य तीन
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकामा सुरक्षाकर्मी तैनाथ छन् । नाकाका सडकभरि प्रहरीले बार लगाएर बाटो छेकेको छ । प्रहरीले लगाएका यी बारले पैदलयात्रीलाई भने रोक्न सकेको छैन । प्रहरीहरू सवारीसाधनको पास जाँच गर्छन् । पास नभएका सवारीसाधन जताबाट आएका हुन्, उतै फर्काउँछन् ।

रातको साढे दश बजेको छ । बनेपा बजार र साँगाभञ्ज्याङको मध्यभागमा छौँ, हामी । झोला, गुन्टा र स–साना बच्चा बोकेका पैदलयात्रीले सडक भरिएको छ ।पैदलयात्रीको यो भिडमा सिराहा पुग्ने भन्दै काठमाडौंको बसुन्धराबाट दिउँसो ४ बजे हिँडेका ५० वर्षीय सन्तकुमार राय पनि छन् । सिराहा कहिले पुग्ने हो, उनलाई थाहा छैन । तर, यात्रा जारी छ । 

रायसँगै अरू १० जना पनि सिराहा जाँदै छन् । बोरिङको काम गर्ने योे समूहका सबैभन्दा पाका सदस्य हुन्, उनी । तराईबाट होली मनाएर कामको खोजीमा काठमाडौं आएका राय र उनका साथीहरूले यसपटक काम गर्नै पाएनन् । काठमाडौं पुग्दापुग्दै बन्द भन्यो । यसपटक काम गर्न पाएनौँ,’ रायले सुनाए ।

हप्ता दिनसम्म त उनीहरू लकडाउन खुल्छ भन्ने आशामा आधा पेट खाएर काठमाडौंमै बसे । तर, सरकारले लकडाउनको अवधि बढाएपछि भोकै मर्ने डरले उनीहरूले काठमाडौं छाड्ने सुर कसे । ‘यहाँ खानबस्न अप्ठ्यारो भयो अनि छाडेर हिँडेको,’ रायले पैदलयात्राको बाध्यता सुनाए । 

साढे दुई सय किलोमिरभन्दा लामो पैदलयात्राका लागि उनीहरूले साथीहरूसँग सरसापट गरे । सरसापट गरेर जम्मा भएको दुई–तीन हजार रुपैयाँले उनीहरूले बाटोको खान्की किनेका छन् । अर्थात्, ‘चाउचाउ, बिस्कुट खाँदै हिँडेका छौँ,’ राय सुनाउँछन् ।

 दृश्य चार

पैदलयात्रीको यो लस्करको न टुप्पो थाहा छ न छेउ । सबै पैदलयात्रीको एउटै उद्देश्य छ, घर पुग्ने । भक्तपुर जगातीअगाडिको घुम्तीमा भेटिए, रामचन्द्र सरखार । सरखार र उनका ९ जना साथी सप्तरी जान भन्दै ५ बजे सिनामंगलबाट हिँडेका हुन् ।

कुराकानी नथाल्दै सरखारले गाडी मिलाइदिन आग्रह गरे । ‘गाडी छ भने मिलाइदिनुहोस न दाइ,’ सरखारले अनुनय गर्दै भने । सरखार उनका साथीहरूलाई लकडाउन हुनुअगाडि नै गाडी बन्द हुँदै थियो भन्ने थाहा थियो । तर, हातमा पैसा थिएन । पैसाको जोहो गरे, गाडी भएन । 

निर्माण मजदुरको काम गर्ने सरखारका साथीहरूले ठेकदारसँग हारगुहार गरेर केही पैसा हात पारेपछि उनीहरू पैदलै भए पनि घर जान कस्सिए । ‘खाना केही छैन, यहाँ । यतै बस्यो भने कमाएको अलिअलि पैसा पनि सकिन्छ,’ हतारहतार हिँडिरहेका सरखारले भने, ‘यति पैसा भए पनि घरमा काम लाग्छ भनेर हिँडेको ।’ काठमाडौंमा खान, बस्न समस्या परेपछि उनीहरूले करिब ४ सय किलोमिटर पैदलयात्रा गर्ने आँट जुटाए र यात्रा सुरु गरे । तर, घर कहिले पुगिने हो, पैदलयात्री कसैलाई थाहा छैन ।

 दृश्य पाँच

अरनिको राजमार्ग र बिपी राजमार्गभरि साँझ ७ बजेपछि पैदलयात्रीको लस्कर देखिन्छ । कतिपय मानिस भने काठमाडौंबाट गाडी रिजर्भ गरेर घर जाँदै छन् । अरनिको राजमार्गको लोकन्थलीमा भेटिएका अलाउदिन अन्सारी र उनका १४ जना साथीहरू गाडी पर्खिरहेका थिए । काठमाडौंमा सिलाइ उद्योगमा काम गर्ने यी १५ जना काम रोकिएपछि आफ्नो घर वीरगन्ज जाने गाडी पर्खिरहेका थिए ।

सूर्यविनायकमा सिन्धुली जाने गाडी पर्खिरहेका थिए, राजीव श्रेष्ठ र उनका ३ जना साथीहरू । होटेलमा काम गर्ने राजीवलाई गाडी आउँछ कि आउँदैन पनि थाहा छैन । ‘खै, गाडी आउँछ कि भन्ने आशा छ,’ गाडी पर्खिरहेका राजीव भन्छन्, ‘जुन गाडी आउँछ, त्यसैमा जान्छौँ ।’

राजीव र उनका साथीहरूले एक हप्तासम्म त होटेलमा खानबस्न पाएका थिए । तर, लकडाउन लम्बिएपछि होटेल मालिकले ‘अब राख्न सक्दिनँ घर जाऊ’ भनेपछि उनीहरू सडकमा गाडी पर्खिरहेका थिए ।

सूर्यविनायकमै दोलखाको दूधपोखरी जान हिँडेको १७ जनाको समूह पनि गाडी पर्खिरहेको छ । यही समूहमा छिन् काखमा १ वर्षको बच्चालाई सुताउन लागिरहेकी माया लामा । ज्यामी काम गर्ने लामालाई कसैले गाउँ जाने गाडी आउँछ भनेर सुनाइदिएपछि घर जान पाउने आशामा उनी बच्चा र झोला बोकेर सडकमा आइन् ।

दूधपोखरी नै जाने अर्की यात्री विमला तामाङको काखमा ७ वर्षको बच्चा छ । उनी पनि घर जान पाइन्छ भनेर सूर्यविनायकमा गाडी पर्खिरहेकी छिन् । उनलाई गाडी आउँछ कि आउँदैन भन्ने पनि थाहा छैन । 

‘गाडी आउँछ भन्थे, जसरी पनि घर त जानै पर्‍यो,’ गाडी नपाए हिँडेरै भए पनि घर जाने सोच बनाएकी छिन्, विमलाले, ‘गाडी पाइएन भने हिँडेरै भए पनि जान्छु । या बसेर के खानु ? के लाउनु ?’

जीवन भन्नु बाध्यता हो । नभए भोकै, प्यासै सयौँ किलोमिटर यात्रा गर्ने रहर कसैलाई हुँदैन । बाँच्नुको बाध्यताले थिचेर सयौँ किलोमिटरको कष्टकर यात्रा गरिरहेका यी यात्री कहिले, कसरी घर पुग्लान् ? यो संकटले निम्त्याएको विवशताको कैदी बनेका हामी पनि उनीहरूको सकुशल यात्राको कामना गर्दै फर्कियौँ ।

तस्बिर : सतिश पोखरेल, अमुल थापा